• २०८१ बैशाख ७ शुक्रबार

गायिका ब्रिटनीको न्यायाधिशलाई अपिल- मलाई मेरो जीवन फिर्ता दिनुस् !

kharibot

काठमाडौँ । अमेरिकी गायिका ब्रिटनी स्पियर्स अदालतमा आफ्नो जीवन फिर्ता दिन अपिल गरेकी छन् । खुला अदालतमा बयान दिने क्रममा गायिका स्पियर्सले आफ्ना पिताले आफ्नो जीवनका सबै निर्णय लिएको भन्दै आफु यो बन्धनबाट मुक्ति चाहेको बताएकी छन् ।

गायिका स्पियर्सको मानसिक स्वास्थ्यलाई ख्याल राख्दै अदालतले उनका पिता जेमी स्पियर्सलाई सन २००८ मा संरक्षकत्वको अधिकार दिएको थियो । ३९ बर्षिय गायिका अदालतमा आक्रामक रुपमा प्रस्तुत हुदै आफु स्वतन्त्र हुन चाहेको बताएकी थिइन् ।

उनले आफ्नो विवाह गर्ने र सन्तान जन्माउने अधिकार पनि खोसिएको भन्दै आफ्नो इच्छा विपरीत मानसिक रोगको औषधि दिइएको आरोप लगाउदै आफ्नो पिताको कडा आलोचना गरेकी थिइन् ।

बुधवार टेलिफोनमार्फत लस एन्जलिसको एक न्यायाधीशलाई उनले आफू झन प्रताडित भएको बताएकी थिइन् ।

उनले न्यायाधिशलाई भनेकी छन्- 'म चाहन्छु की बिना कुनै मुल्यांकन यो 'संरक्षकत्व' लाई समाप्त गरियोस् । यो संरक्षकत्वले मेरो राम्रो हुनुको साटो झन् नोक्सान भइरहेको छ । म आफ्नो जीवनको हकदार छु ।'

न्यायाधीश ब्रेन्डा पेनीले स्पियर्सलाई साहसिक शब्दका लागि धन्यवाद दिइन् तर कुनै आदेश भने दिएकी छैनन् । अदालतले स्पियर्सको संरक्षकत्वका बारेमा कुनै आदेश हुनुअघि लामो सुनुवाइ हुने बताइएको छ ।

गायिका स्पियर्सले प्रेमीसँग विवाह गरेर अर्को सन्तान जन्माउन चाहेको तर संरक्षकत्वको प्रावधानका कारण त्यसो हुन नसकेको बताउदै संरक्षकले अस्थायी बन्ध्याकरण उपकरण हटाउन नदिएको आरोप लगाएकी छन् ।

सन् २०१९ मा जेमी स्पियर्सले स्वास्थ्यका कारण अस्थायी रूपमा संरक्षकको भूमिका त्यागेका थिए। गायिका स्पियर्सले यसलाई स्थायी रूप दिएर सदाकालागि संरक्षकत्वको व्यवस्थाबाट पितालाई हटाउन माग गरेकी हुन् ।

जेमी स्पियर्सका वकिलले भने यी आरोपले पितालाई दुःख लागेको बताएका छन् ।

उनले भनेका छन्- 'छोरीलाई पीडा र दुःखमा देख्दा उनलाई दुःख लागेको छ । स्पियर्स आफ्नो छोरीलाई माया गर्छन् ।'

अमेरिकामा मानसिक स्वास्थ्यका विभिन्न समस्याका कारण आफ्नो लागि निर्णय गर्न असमर्थ व्यक्तिलाई अदालतले संरक्षकत्व प्रदान गर्न सक्छ । ब्रिटनीलाई पनि यस व्यवस्था अनुसार उनका पितालाई संरक्षकत्वको अधिकार दिइएको थियो ।   

स्पियर्सको संरक्षकत्वका उनको सम्पत्ति र अर्को व्यक्तिको रूपमा रहेको छ । उनले सन् २००८ यता आफ्नो सम्पत्ति चलाउन पाएकी छैनन् ।

त्यो बेला जोडी मोन्टगोमेरीलाई सो जिम्मेवारी दिइयो जसलाई स्पियर्सले अहिले पूर्ण संरक्षकका रूपमा राख्न चाहेकी छन् ।

उनले वकिलमार्फत बुबालाई आफ्नो व्यावसायिक जीवनमा समेत नचाहेको सङ्केत दिएकी छन् ।

सन् २००७ मा स्पियर्सले केभिन फेडरलाइनसँग वैवाहिक सम्बन्ध विच्छेद गर्दा आफ्ना सन्तान आफूसँग नरहने भएपछि अनौठो व्यवहार गर्न थालेकी थिइन् ।

कपाल खौरने र पत्रकारको कारमा छाताले हिर्काउने जस्ता सार्वजनिक रूपमा अनौठा व्यवहार गरेपछि उनको मानसिक स्वास्थ्यको बारेमा प्रश्न उठेको थियो ।

सन् २००८ मा उनी मानसिक स्वास्थ्य उपचारका लागि दुई पटक अस्पताल भर्ना भएकी थिइन् ।

उनको समर्थकहरूले उनको समर्थनमा फ्रिब्रिटनी अभियान चलाएका छन् । अदालतमा बहसका बेला पनि करिब सयको हाराहरीमा सर्मथक अदालत अगाडी उपस्थित भएर फ्री-ब्रिटनी लेखेका प्लेकार्ड प्रदर्शन गरेका थिए ।  

ब्रिटनीको सन् २०१८ मा कुल सम्पत्ति झन्डै छ करोड अमेरिकी डलर भएको बताइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै