• २०८१ बैशाख १४ शुक्रबार

‘नेपालमा कार्टुन हिजो र आज’ विमोचन

kharibot

काठमाडौँ । नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालको पहिलो पुस्तक ‘नेपालमा कार्टुन हिजो र आज’को एक समारोहबीच आज विमोचन गरिएको छ । पुस्तक विमोचन गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले कार्टुनकारितामा लाग्ने कलाकारको कमि रहेकाले बढाउनुपर्नेमा जोड दिए । 

उनले आगामी वैशाखमा हुन लागेको राष्ट्रिय ललितकला प्रदर्शनीसमेतमा कार्टुन बिधामा न्यून सहभागिता रहेको जानकारी दिँदै कार्टुनलाई पैसामा नदाजी सिर्जना गर्न कलाकारलाई आग्रह गरे । सार्वजनिक भएको पुस्तकमा लेखक खनालले ठूलो मेहनत गरेको स्मरण गर्दै कुलपति कर्माचार्यले लेखनीको प्रशंसा गरे । उहाँले आगामी दिनमा उक्त पुस्तकमा भएका कमीकमजोरी सच्याउँदै अपुग विषयवस्तु थपेर अझै परिस्कृत बनाउनुपर्नेमा जोड दिए । 

उक्त समारोहमा नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले कार्टुनकारिता पत्रकारिताको सशक्त बिधा भएको बताए । उनले ललितकला क्षेत्रमा गहिराइमा पुगेर चिन्तन कम भएको आफूले पाएको बताए । लेखक खनालले यो आफ्नो पहिलो पुस्तक भएको जानकारी दिँदै ललितकलामध्ये पनि कार्टुन बिधामा धेरै कम अभ्यास भइरहेको स्वीकार गरे । आफुले स्नातकोत्तर तहको सोधपत्र नै कार्टुन बिधामा गरेकाले त्यो बेलामा अभाव खड्किएको देखेर पुस्तक लेख्न प्रेरणा मिलेको बताए ।

उनले आफ्नो पुस्तकमा कार्टुनको वैचारिक पक्ष तथा कार्टुन र पत्रकारिता, कार्टुन र राजनीतिलगायतका विषयमा ठुलो ठेली नै तयार पार्न सकिने जनाउँदै यस पुस्तकमा ती विषयले छोएको बताए । समारोहमा कार्टुनिष्ट क्लवका निवर्तमान अध्यक्ष अभिन श्रेष्ठ, प्रतिष्ठानका प्राज्ञ रमेशनाथ खनाललगायतले पुस्तकका विषयमा आआफ्ना भनाइ राखेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै