काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
स्रोतका अनुसार कोटेश्वरमा एक व्यवसायीको निवासमा विहिबार भएको छलफलमा सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने विषयमा छलफल भएको बुझिएको छ ।
माओवादी केन्द्र शुक्रबार न्यायिक पुनरावलोकनमा जाने तयारी गरिरहेका बेला प्रचण्डले एमाले नेता नेपालसँग छलफल गरेका हुन् ।
नेपालसँगको भेटमा माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठलगायत पनि उपस्थित रहेको बताइएको छ । यसअघि माओवादी केन्द्रले गरेको छलफलमा कानुन व्यवसायीहरुले तुरुन्त पुनरावलोकनमा जाने सल्लाह दिएका थिए ।
प्रतिनिधि सभा पुन: स्थापना भएको एक महिनासम्म पनि केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाउन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले खासै चासो नदेखाए पछि प्रचण्ड र नेपालले आफ्नो रणनिति परिवर्तन गर्दै पुनरावलोकनमा जाने निष्कर्षमा पुगेको विश्लेषण गरिएको छ ।
नेता नेपाल एमालेमा रहेपनि उनको नैतिक समर्थनमा प्रचण्ड पुनरावोलकनमा जाने तयारी गरेको बताइएको छ । पुनरावलोकनमा जाने तयारी वरिष्ठ अधिवक्ता शम्भु थापाले गरिरहेको माओवादी नेताहरुले बताएका छन् ।