गणित पढ्दाको बेचैनी !

खरीबोट

गणितका सक्षमता तर्क र प्रतिक्रिया हुन् । गणित बास्तवमा तर्क, सोचाइ, समालोचनात्मक चिन्तन, निर्णयमा आधारित विषय हो । त्यसैले यो विषय शिक्षण गर्दा विद्यार्थीहरुमा तर्क गर्ने, सोच्ने,समालोचनात्मक चिन्तन गर्ने, अभ्यास गर्ने अवसरहरु प्रशस्त मात्रामा प्रदान गरिनुपर्दछ । हाम्रो बिद्यालय तहको गणित पाठ्यक्रमले गणितीय ढाँचा,क्रिया र प्रक्रियाले विद्यार्थीहरुमा कार्यकारण खोज्ने,औचित्यपूर्ण निर्णय दिने, बिचार प्रष्ट राख्ने सक्षमताहरु बिकास गर्नुपर्दछ भनेको छ ।

गणितमा मुर्त र अमुर्त बिषयहरु हुन्छ्न् । मुर्त कुरा बुझाउन सजिलै हुन्छ तर गणितमा कतिपय विषयवस्तुहरु ठ्याक्कै व्यवहारमा प्रयोगमा नआउने तर दिनहुँजसो अमुर्त रुपमा त्यसको स्थान र अस्तित्व रहिरहने खालका हुन्छन् । त्यस्ता विषयवस्तुहरुमध्ये विजगणितका बिषयबस्तुहरु पनि एक हुन् । विजगणितमा अमूर्त क्रियाहरुको प्रयोग बढी भएकाले पनि यो विषयवस्तु शिक्षण गर्दा समालोचनात्मक चिन्तनको अझ बढी आवश्यकता पर्दछ । तर्क गर्ने,सोच्ने, अमूर्त क्रियाहरुलाई मूर्त रुप दिई बुझ्ने क्षमताको विकास हुन नसक्दा विद्यार्थीहरुलाई गणितका विषयवस्तुहरु मध्येमा सबैभन्दा कठिन विजगणित नै हुने गर्दछ । त्यस्तै विजगणितका अमूर्त क्रियाहरुलाई मूर्त रुपसँग तुलना गरी विद्यार्थीहरुमा धारणा दिन शिक्षकलाई पनि हम्मेहम्मे पर्न जान्छ ।

भावनात्मकतालाई ठोस बनाउने काम मनोवैज्ञानिक पनि छ त्यसैले पनि विजगणित शिक्षणमा शिक्षक अनि विद्यार्थीहरुले बढी समय र श्रम खर्चिनुपर्ने हुन्छ । उत्सुकता र प्रेरणा  पनि त्यहिअनुसारको  चाहिन्छ। तल्ला कक्षाहरुदेखि नै विजगणितका अवधारणाहरु स्पष्ट नहुँदा विद्यार्थीहरुका लागि माथिल्लो कक्षामा यसको शिक्षण सिकाइ कठिन हुन्छ । त्यही अनुसार माथिल्लो कक्षामा शिक्षण सिकाइ गर्नुपर्छ। त्यसको लागि शिक्षक बिज्ञ हुनुपर्‍यो तर बास्तबमा यस्तो त देखिदैन् ।

विषयवस्तुसम्बन्धी विद्यार्थीहरुको धारणा पहिचान गर्ने र विभिन्न उपायहरुबाट उनीहरुको धारणा र सिपलाई बलियो बनाउने प्रयत्न गरिरहनुपर्छ । जुन धारणाले उसलाई जटिल विषयवस्तुको सिकाइमा महत्वपूर्ण सहयोग गर्न सकोस् । यसर्थ शिक्षकले  हर समय अनुसन्धानात्मक कार्यबाट शिक्षणसिकाइमा देखिएका समस्याहरुको समाधान निकाली सिकाइमा प्रयोग  गर्नुपर्छ । के यसरी कार्य भएको छ ? शिक्षक -अभिनेता, कलाकार, निर्देशक, मार्गदर्शक, परामर्शदाता, अनुकरणीयब्यक्ति, प्रेरणास्रोत, गुरु, अभिभावक, प्रशिक्षक, मध्यस्त, अनुसन्धानकर्ता, प्रबन्धक, नेतृत्वकर्ता, सुचनादाता, उत्प्रेरक, सहसिकारु  के के होइन ? यी सबै समाहित व्यक्ति शिक्षक हो ।

जीवनमा जताततै गणित छ । जोड्न सकिन्छ तर जोडिएको छैन् । विद्यार्थीहरुलाई गणितीय अवधारणा नै बुझाउन सकिएको छैन् । महत्व नभएको शुन्ना एकको पछि आउदा दस हुने र एकको अघि आउदा एकै हुने कसरी बुझाउन सकिएको छैन् । शुन्ना किन पूर्ण संख्या हो र किन प्राकृतिक संख्या होइन भनेर समेत बुझाउन सकेको पाइन्न । किन पाई लाई बृतको यो हिस्सा हो भनेर चिनाउन सक्दैनन् । किन पाइ को मान निकालेर देखाउन सक्दैनन् । रट्नु भन्छ्न् । त्यस्तै प्राकृतिक लगारिदमलाई रट्नु भन्छ्न् । हिसाब गरेर निकाल्दिदैनन् । बुझाइदिनन् । यी त प्रतिनिधि उदाहरण मात्र हुन् । अंक कै उत्पत्ति, इतिहास, अर्थ र महत्त्व थाहा छैन् । जवकी इतिहास नै मेटेपछी के थाहाहोस् । हुन पनि राजनीतिक चरीत्र नै त्यस्तै छ ।

पाठ्यक्रमले अव्बल शिक्षक खोज्छ तर कमजोरहरुलाई प्रवेश गराइएको छ । बिजगणितको ए प्ल्स बिको होल स्क्वायर र ज्यामितिको के काम भन्नेहरुले पढाएकाहरु नै अहिले शिक्षक भएका छ्न् । जवकि कक्षा ६, ७, ८ मा ज्यामिती पुस्तकको पहिलो भागमा राखिएको छ । ठिकै हो, उनीहरुको कुरा जवकी आफै ज्यामितिलाई ब्यवहारमा जोडेर सिकाउन सक्दैनन् । कसरी सिकाउँन विद्यार्थीहरुलाई ।

पाठ्यक्रम र पाठ्यपुस्तकले कुन गणितको क्रिया ब्यवहारको कुन ठाँउमा कतिबेला लागू हुन्छ भन्न सकेको छैन् । तोक्न सकेको छैन् । प्रयोगको ठाउँ विद्यार्थीलाई स्वतन्त्र छोडेको छ ।  त्यस्ता जटिल बिषयबस्तु समेत पाठ्यक्रममा छ्न् । ती किन राखिए ? कसका लागि ? जो शिक्षण सिकाइ क्रियाकलापहरुको विस्तृत योजनाको बारेमा समेत मौन देखिन्छ ।

अहिले नै पाठ्यक्रम, मुल्यांकन प्रणाली र शिक्षण बिधिका बिषयमा गम्भीर समिक्षा गर्नु आवश्यक भएको छ । पाठ्यक्रम स्तरीकरणका बारेमा कुरा  गरि सुधार गर्नु आवश्यक छ । मुल्यांकन प्रक्रियामा परिवर्तन जरुरी छ । शिक्षण विधि र प्रविधिमा नवप्रवर्तन मुख्य भएको छ । अझै सिकारुलाई केन्द्रमा राखेर शिक्षण सिकाई गतिविधि गर्नुपर्ने छ तर त्यो भएको छैन् । बिरवलको घिचडीको ताल छ । हामी कुहिरोको काग भएका छौँ । यो महशुस गर्दा मन बेचैन हुन्छ ।

सिक्नु सिकाउनु जीवनको एउटा हिस्सा हो । एक प्रक्रिया हो । सबैको सिकाइको गति अलग अलग हुन्छ । गल्तीबाटै सिकाई हुने हो । बालकलाई खोज्न लगाएर सिकाउँने हो । भद्दा गणितका शुत्रहरु रट्न लगाउने होइन् । गाह्रो तथा घोक्न प्रेरित गर्ने प्रश्न निर्माण गर्ने होइन् ।

सार्ने प्रवृत्ति लाई रोक्नुपर्ने हो । सिर्जनात्मक हुन रोक्ने होइन् । गणितको प्रयोगिक पक्ष ओझेलमा पार्ने होइन् । पाठ्को शिलशिला नमिलेको, भाषिक जटिलता भएको, परीक्षा निर्मम तरिकाले हुने गरेको, पाठ्यपुस्तकमा अवधारणा मै त्रुटि भएको, कमजोर पृष्ठभूमि भएको, बिज्ञ भनाउँदाहरुले नै थप जटिल बनाइदिएको, हाम्रो जस्तो देशमा पुस्तक नै सबथोक भएको र यति धेरै जटिलताले गर्दा  गणित बिषय निरस बनेको घाम जस्तै छर्लङ्ग छ । त्यसैले महोदय ! रुन मन लागे गणित पढ्नुहोला ।

मानवमा गणितीय स्वभाव, तार्किकता र विवेकपूर्ण प्रयोग कसरी सिकाउने भन्ने कुरा हामीले जान्नु पर्छ । तर ब्यवहारिक जीवनमा ज्यामितिय साध्यहरु कुन कुन ले कहाँ कहाँ कसरी प्रयोग गर्ने भन्ने पढाइदैन, सिकाइदैन् । गणित मानिसलाई प्राविधिक बन्नको लागि मात्र होइन असल र ब्यवहारिक बनाउन सिकाउनु पर्छ । तर अहिले गणितमा रस छैन् । जीवनलाई सरलिकृत गर्दैन् । जीवनको मूल्य बोध गराउदैन् । काम गर्ने तत्परता दिदैन् । त्यसरी पाठ्यक्रम र पाठ्यपुस्तक बनेकै छैनन् । शिक्षकले बालकको जीवनसँग जोडेर पढाउदैनन् । उल्टै गणितलाई दोष दिन्छ्न् । जवकी ग्यालियियो ग्यालिली भन्छ्न्--"ब्रह्माण्डको भाषा गणितमा लेखिएको हुन्छ जसले गणित जान्दैन् उसले ब्रह्माण्ड बुझ्दैन् ।" हो, जीवन र जगत, बिहङ्गम ब्रह्माण्डको अर्थ र भाषा नै गणित हो । गणित नबुझे जीवन र जगत बुझिन्न। त्यति मात्र होइन नयाँ ज्ञान र सत्य जान्न गणित बुझ्नैपर्छ। यसकारण पो हामी सत्य नै नजानी मर्ने रहेछौँ । यो रहश्य जानेपछि तपाईं थप बेचैन हुनुहोला ।

अहिले गणितीय समस्याहरु क्याल्कुलेटर, मोबाइल एप्स, कम्पुटरले सजिलै हल गरिदिन्छ । विद्यार्थीहरु खुशी पनि हुन्छ्न् । उनीहरुले समस्याको प्राविधिक समाधान पाउछँन तर विधि, प्रक्रिया, तरिका र तर्कको निर्माण गर्न जान्दैनन् । ढाँचा बुझ्दैनन् । यस प्रकृतिका हरेक बस्तुको खास बनोट या ढाँचा या प्याटर्न हुन्छ । त्यो नै गणित हो । त्यहाँ नै गणित छ । तर हामी गणित प्रक्रियाहरुलाई माइनस गरेर कता जादैछौँ ?

अहिले खासगरी गणित बिषयलको पढाइको चिन्ताले विद्यार्थीको बुद्धिको बिनास गर्दै आएको प्रतीत हुन्छ । विद्यार्थीले जहिल्यै आत्मरक्षाका लागि लागिरहनु पर्ने अरु केही सोच्न नदिने भारी बोकेर हिड्नुपर्ने पीडादायी स्थिति जो छ राम्रो होइन् यो भन्दा त बरु बिद्यालय बाहिर पो केही सिक्थ्यो कि ? आत्मरक्षा त गर्नु पर्थेन । कुनै पनि बिषयको विद्यार्थीको मौलिक बुझाइलाई पत्ता लगाउन नलागेर पहिले आफूले भनिदिने र त्यही सँग सम्बन्धित रहेर परीक्षा लिने गर्दा विद्यार्थीहरुको मौलिकता मरिरहेको छ यो काम बिद्यालयले जानी नजानी गरिरहेको छ । बिद्यालयहरु निरर्थक तरिका अपनाएर निरर्थक बिषयमा निरर्थक उत्तरको गोलचक्करमा फसिरहेका छ्न् ।

एउटा औला अरुतिर फर्काउदा चार बटा आफूतिर फर्केको हुन्छ भन्ने कुरा हामीले भुसुक्कै बिर्सन्छौं।त्यसैले पहिला आफूलाई पनि राम्ररी हेरौँ । हामी भएन भन्न जान्ने । विकल्प दिन नजान्ने । कार्यान्वयन एकाइ पनि आफै । आफै असन्तुष्टि हुने । दुई अक्षरी शब्द काम नगर्ने तर रुने, बेचैन हुने । कोकोहोलो मच्चाउने हाम्रो बानी । आफै चाहिँ केही नगर्ने अरुले गरिदिएन भनेर भन्ने हाम्रो बानी । मतलब गणित पढ्दा रुने बेचैन हुने तर त्यसैलाई हाँस्ने र चैन हुने बनाउन नसक्ने । तर तरिका चाहिँ यसो र उसो भन्न्सक्ने गर्न नसक्ने या नचाहने । आफ्नो आङ्को भैंसी नदेख्ने अर्कोको आङ्को जुम्रा देख्ने हाम्रो प्रवृत्ति । हामी पनि त बिकासे कुखुरा जस्तै भयौं अण्डा पार्ने चल्ला कोरल्न नजान्ने । सल्लाह दिन जान्ने काम गर्न नजान्ने । काम गर्न जानिहाले अल्छि गर्ने । बाह्र सत्ताइस कुरा गर्ने । साच्चै गुदि कुरा गर्दा आफैले गणित बुझेको छैन् कसरी बुझाओस् । कतै यसले गर्दा पो बढी वकवक गरेको पो हो कि ।

गणित पाठ्यपुस्तक हेर्दा पाठ्यक्रमले तोकेको तर्क, प्रतिक्रिया, समस्या समाधान र निर्णय क्षमताको बिकास गर्ने खालको प्रश्न निर्माण गरेको छैन् । अभ्यासहरुले पटक्कै त्यतातर्फ ध्यान दिइएको छैन् । फेरि स्तर र क्रमलाई पछ्याइएको छैन् । नत सिकाइको शुत्र सरलबाट जटिलतिरै अवलम्बन गरेको छ नत जानेकोबाट नजानेको तर्फ । शुरुको हिसाब जटिल छ अन्तिमको सरल छ । नजानेको हिसाब अगाडि छ, जानेको पछाडी । बुझिनसक्नु छ, बिद्यालय तहको पाठ्यपुस्तक । लेख्छ कस्तो बिज्ञ भनाउँदाले र कसरी स्वीकृत गर्छ पाठ्यक्रम बिकास केन्द्रले ? यो गम्भीर प्रश्न खडा भएको छ । म गणित पढ्छु र पढाउँछु । यो सव देखेर पढेर रुन्छु । मेरै हालत छ । विद्यार्थी बिचरा के गरुन् ? के गर्दा हुन् ? नपत्याउनु भए तपाईलाई म जति पनि दृष्टान्त दिन तयार छु ।

के गणित हाँसी हाँसी पढ्न पढाउँन सकिन्न ? बुझ्न बुझाउन सकिन्न ? गणितलाई ब्यवहारसँग जोड्न सकिन्न ? गणित कै आधारमा जीवनका निर्णय र तर्क निर्माण गर्न सकिन्न ? कि जीवन अलग, गणित अलग छ भने भनिदिनुपर्यो बिज्ञ ज्युहरुले । कि स्वयंलाई गणितको बोधतिर र आत्मनिर्भरताको बाटोमा जान प्रेरित गर्नुपर्‍यो । यदि यसो गर्न सकिन्न भने गणितलाई खारेज गरिदिनु पर्‍यो कि सिकाइदिनुपर्‍यो- मैत्रीपूर्ण ब्यवहार र रचनात्मक सिकाइ शैलीबाट । सहज र उत्पादन मूखी मानविय प्रक्रियाबाट । स्व सिकाइ शैली र उत्सुकताबाट ।

प्रेम र स्नेहपूर्ण स्वतन्त्र बाताबरणबाट । मौजुदा गणितीय  जटिलता चाडै अन्त्य होस् । महोदय ! यथास्थितिमा गणित पढुनुभो भने बेचैन हुनुहुन्छ । पढ्दैहुनुहुन्छ भने गणित, कृपया  विचार र विवेक पुर्‍याउनु होला । 

सम्बन्धित समाचार