• २०८१ बैशाख ८ शनिबार

तनहुँ जलविद्युत आयोजना : दशैँ बिदाबाट फर्किएका मजदुर काममा खटिए

kharibot

प्रतिनिधी तस्वीर

दमौली । दशैँ बिदा सकिएसँगै क्याम्प फर्किएका मजदुरलाई काममा खटाइएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका मजदुरलाई काममा खटाइएको हो ।

दशैँ बिदा सकिएर क्याम्प फर्किएका मजदुरको पिसीआर परीक्षण गरिएसँगै काममा खटाइएको आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिए । क्याम्प फर्किएकामध्ये ७१ मजदुरको पिसीआर परीक्षण गरिएकामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र बाँकीको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना सङ्क्रमण पुष्टि भएकालाई क्याम्पभित्रै निर्माण गरिएको आइसोलेसनमा राखिएको र बाँकीलाई काममा लगाइएको घिमिरेले बताए ।

घिमिरेका अनुसार आयोजनाले क्याम्पभित्रै २० शय्या क्षमताको आइसोलेसन बनाएको छ । “सङ्क्रमितलाई आइसोलेसनमा राखेर बाँकीलाई विद्युतगृह निर्माणको काममा लगाएका छौँ”, उनले भने । दशैँ मान्न घर गएका मजदुर टीकाको भोलिपल्ट काममा फर्किएका थिए । नेपाली मजदुर दशैँ बिदामा घर गएका बेला पनि चिनियाँ मजदुरले विद्युतगृह निर्माणको काम जारी राखेका थिए । असोज अन्तिम साता सबै मजदुरको पिसीआर परीक्षण गरिनुपर्ने मागसहित मजदुरले आन्दोलन गरेका थिए । निर्माण कम्पनीले सबै मजदुरको पिसीआर परीक्षण गरेपछि काम सञ्चालन भएको थियो ।

सिनोले आयोजनाको प्याकेज–२ अन्तर्गतको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणको काम पनि अगाडि बढेको छ । 

दमौलीबाट भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ । उक्त कामको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । प्रसारण लाइनका लागि चालु आर्थिक वर्षमा ३० वटा टावर निर्माण गरिनेछ । प्रसारण लाइनका लागि कुल ९४ वटा टावर निर्माण गरिनेछ । प्रसारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीनवटा कम्पनीको बोलपत्र परेको र ती बोलपत्रउपर मूल्याङ्कनको काम भइरहेको आयोजनाले जनाएको छ । पहिलो प्याकेजअन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम/कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेजअन्र्तगत १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिनेछ । 

आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगत विद्युतगृह निर्माण गरिनेछ । खुद उचाइ १२१ मिटर रहने आयोजनाबाट सुक्खायाममा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ ।

आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि १८ करोड ४० लाख डलर व्योहोर्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै