• २०८१ बैशाख ७ शुक्रबार

अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा कुँदिएका मूर्ति प्रतिस्थापन

kharibot

प्रतिनिधी तस्वीर

बागलुङ । गलकोट नगरपालिका–५ टेउवामा भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा कुँदिएका १५ मूर्ति प्रतिस्थापन गरिएको छ । निर्माणाधीन खुला मूर्तिकला सङ्ग्रहालयमा मूर्तिको प्रतिस्थापन गरिएको हो ।

कोभिड–१९ को विषम स्थितिले गर्दा संरचना निर्माणमा ढिलाइ हुँदा मूर्ति संरक्षणमा चुनौती थपिएको थियो । अब भने मूर्ति स्थायी संरचनामा ठडिइसकेका छन् । त्यहाँ १५ वटै मूर्तिलाई अलग–अलग ठाउँमा प्रतिस्थापन गरिएको गलकोट कला प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको आयोजनामा गत फागुन ५ देखि २१ गतेसम्म चलेको कार्यशालामा १० देशका १५ कलाकारले मूर्ति कुँदेका थिए । 

मूर्ति प्रतिस्थापनका लागि पहिल्यै काम थालिएको भएपनि दक्ष श्रमिक र प्राविधिकको अभावले ढिलो भएको प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताए । कार्यशालाका संयोजक एवं मूर्तिकार ओम खत्रीले मूर्तिको प्रतिस्थापन भइसकेकाले अब मूर्तिको शीर्षक दिने, विवरण राख्ने र साजसज्जाको काम बाँकी रहेको बताए । कार्यशालामा सहभागी मूर्तिकारको कला र व्यक्तित्व समेटेर पुस्तिका निकाल्ने, दाताको शिलालेख राख्नेलगायतका योजना पनि प्रतिष्ठानले अघि सारेको छ । विस्तारै स्थिति सामान्य हुँदै गएकाले अब भने कामले गति लिने जनाइएको छ । 

कार्यशालास्थललाई खुला मूर्तिकला सङ्ग्रहालयका रुपमा विकास गर्ने प्रतिष्ठानको लक्ष्य छ । त्यसको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)समेत बनीसकेको छ । अध्यक्ष रानाले प्रवेशद्वार र टिकटकक्ष निर्माणको काम छिट्टै अघि बढाइने बताए । कार्यशालामा नेपालबाट मूर्तिकार प्रवीण श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिठाकोटेले भाग लिएका थिए । यस्तै जापानका जुनीचिरो सगीमोतो, चीनका ल्यू याङ्ग, इटालीका बेतीनो फ्रान्सेनी, फ्रान्सका जिवियर गोञ्जालेज र ताइवानका लिन लि जेनले कार्यशालामा मूर्ति कुँदेका थिए ।

कार्याशालामा क्यानाडीकी जुली ग्लास्पी, भारतका टुटु पटनायक, इजरायलकी तान्या प्रिमेन्जर, ब्राजिलका जर्ज लुइज सोडर र युक्रेनका मूर्तिकार ल्यूडमाइला माइस्को पनि सहभागी थिए । मूर्तिकारले ढुङ्गामा प्रकृति, जीवनचक्र, संस्कृति, सभ्यताबारे मूर्त, अर्धमूर्त र अमूर्त कला भरेका थिए । 

मूर्तिकला सङ्ग्रहालयका लागि झण्डै रु १२ करोड खर्च लाग्ने अनुमान गरिएको छ । चालु आवमा सङ्घ सरकारबाट रु. दश लाख र गलकोट नगरपालिकाबाट रु. तीन लाख बजेट छुट्टिएको छ । यसअघि कार्यशालाका लागि सङ्घ सरकारबाट रु ५० लाख, गण्डकी प्रदेश सरकारबाट रु ७० लाख, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलको निर्वाचन क्षेत्रको बजेटबाट रु दश लाख र प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा ‘सागर’बाट रु पाँच लाख सहयोग प्राप्त भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै