• २०८१ बैशाख ४ मंगलबार

पिसिआर परीक्षणको माग गर्दै तनहुँ जलविद्युत आयोजनाका मजदुर आन्दोलित

kharibot

प्रतिनिधी तस्वीर

दमौली । पिसिआर परीक्षण गर्न माग गर्दै तनहुँ जलविद्युत आयोजनाका मजदुर आन्दोलित भएका छन् । आयोजनाको दोस्रो प्याकेज अन्तर्गत सिनो हाइड्रोका मजदुरले आज दिउँसोदेखि आन्दोलन गरेका हुन् ।

एक मजदुरमा कोरोना सङ्क्रमण पुष्टिभएपछि सबै मजदुरको पिसिआर परीक्षण गर्न माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले ऋषिङ गाउँपालिका–१ झापुटारस्थित आयोजनाको कार्यालयमा धर्ना समेत दिएका छन् । आयोजनाका प्रमुख अच्युत घिमिरेले आइतबार बिहान मजदुरहरुको पिसिआर परीक्षण गर्ने सहमति भएपनि पुनः आन्दोलन भइरहेको जानकारी दिए ।

“कोरोना सङ्क्रमण देखिएका व्यक्तिको नजिकको सम्पर्कमा रहेकाहरुको  परीक्षण गर्ने सहमति भएको थियो,” उनले भने, “सहमति लगत्तै मजदुरहरु पुनः आन्दोलित भएका छन् ।” सिनो हाइड्रोतर्फ २ सय ५० मजदुर छन् । तीमध्ये नजिकको सम्पर्कमा आएकाको पिसिआर परीक्षण गर्ने सहमति भएपनि पुनः आन्दोलन गर्दा उहाँहरुको माग के हो भन्ने बारेमा बुझ्न नसकिएको  आयोजना प्रमुख घिमिरेले बताए । आयोजनाले बिहीबार एक सय जनाको परीक्षण गरेकामा एक जना मजदुरमा कोरोना सङ्क्रमण देखिएको थियो । 

आयोजनाको प्याकेज दुई अन्तर्गत सिनो हाइड्रोले विद्युतगृहको काम गरिरहेको छ । ऋषिङ–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको ‘केवल टनेल’को काम पूरा भएसँगै सिनो हाइड्रोले विद्युतगृहको काम शुरु गरेको छ । विद्यृतगृह निर्माणका लागि १ सय ८८ मिटर केवल टनेलको काम केही समय अगाडी मात्रै सम्पन्न भएको थियो । सिनोले आयोजनाको प्याकेज दुई अन्तर्गतको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । 

एक सय चालिस मेगावाट क्षमताको आयोजनाको प्रशारण लाइन निर्माणको काम पनि शुरु भएको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गतको २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माणका लागि काम शुरु भएको हो । उक्त कामको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । प्रशारण लाइनका लागि चालु आर्थिक वर्षमा ३० वटा टावर निर्माण गरिनेछ । 

पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीन वटा कम्पनीको बोलपत्र परेको र ती बोलपत्र उपर मूल्याङ्कनको काम भइरहेको आयोजनाले जनाएको छ । पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम/कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेज अन्र्तगत एक सय चालिस मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गरिनेछ । 

आयोजनाका लागि एक सय चालिस मिटर बाँध, एक हजार १ सय ६२ मिटर र ७४ मिटर को मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ४४ मिटर उचाई भएको भूमिगृत विद्यृतगृह निर्माण गरिनेछ । खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ ।

आयोजनाको कुल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रशारण लाईन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै