• २०८१ बैशाख ४ मंगलबार

सप्तरीको शम्भुनाथ मन्दिरमा लाग्ने एक महिने मेला सुनसान

kharibot

फाइल तस्वीर

राजविराज । सप्तरीको पर्यटकीय एवं धार्मिक क्षेत्र शम्भुनाथ मन्दिरमा लाग्ने एक महिने मेला सुनसान देखिएको छ ।

नयाँ वर्ष २०७७ मा लाग्ने उक्त मेला विश्वभर फैलिएको कोरोना भाइरसका कारण स्थगित गरिएपछि सुनसान देखिएको हो  ।

कोरोना भाइरसको प्रभावलाई नियन्त्रण गर्न नेपाल सरकारले देशभर लागु गरेको लकडाउनका कारण मेला स्थगित गरिएको शम्भुनाथ नगरपालिकाका प्रमुख योगेन्द्रप्रसाद चौधरीले जानकारी दिए । नयाँ वर्ष शुरु भएसँगै शम्भुनाथ मन्दिरमा वैशाख १ गतेदेखि यहाँ एक महिने मेला लाग्ने गरेको छ ।

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको नगरपालिकाको दक्षिणतिर अवस्थित मन्दिर परिसरमा लाखौँ दर्शनार्थीहरुको भिड लाग्ने गरेको थियो । सरकारले कोरोना भाइरसका कारण समाजिक दूरी कायम गर्न  लकडाउन घोषणा गरेपछि सबैजना अहिले घरमै बसेका हुनाले समेत शम्भुनाथमा लाग्ने मेला सुनसान भएको नगरप्रमुख चौधरीले बताए ।

मेला हेर्न नेपालका मोरङ, सुनसरी, सिरहा, सप्तरी, धनुषा र भारतको बिहार राज्यको सुपोल जिल्लाबाट लाखौँको सङ्ख्यामा भक्तजन आउने गर्थे । मन्दिरभित्र रहेको कालो पत्थरको शिवलिङ्गलाई भक्तजनहरुले पूजाआजा गर्छन् । एक फिटभन्दा पनि कम आकारमा भेटिएको उक्त शिवलिङ्गको लम्बाइ अहिले चार फिटभन्दा बढी पुगेको छ ।

सप्तरीमा १५औँ शताब्दीमा चन्द्रकेतु नामका राजा थिए । यिनै राजाले जिल्लाको उत्तरपूर्वमा राजमार्ग नजिक पर्ने धर्मपुर गाउँदेखि करिब पाँच किलोमिटर उत्तर चुरे पर्वतमाथि उनकी कुलदेवी चन्द्रभागा भगवतीको स्थापना गरेका थिए भन्ने विश्वास गरिन्छ । उक्त मन्दिरको भग्नावशेष अहिले पनि देख्न सकिन्छ । यसै मन्दिरको एउटा स्तम्भलाई शम्भुनाथ भनी पूजा गर्ने चलन छ । कसैलाई चर्मरोग भएको अवस्थामा त्यहाँ भाकल गरेपछि चर्मरोग आफैँ हराएर जान्छ भन्ने विश्वास गरिन्छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै