• २०८१ बैशाख ७ शुक्रबार

मूर्तिकला हेर्न आन्तरिक पर्यटकको भीड

kharibot

तस्वीर : रासस/खेमराज गौतम

गलकोट । बागलुङ जिल्लाको गलकोट नगरपालिका–५ स्थित टेउवामा निर्माणाधीन खुला मूर्तिकला कार्यशाला अवलोकनका लागि आन्तरिक पर्यटकहरुको भीड नै लागेको छ ।

विसं २०७३ मा स्थापना भएको गलकोट कला प्रतिष्ठानले टेउवामा निर्माण थालेको खुला सङ्ग्रहालय निर्माण स्थलमा भइरहेको मूर्तिकला कार्यशाला अवलोकनका लागि दैनिक एक हजारदेखि एक हजार ५०० आन्तरिक पर्यटक आउन थालेका हुन् ।

यही फागुन ५ गतेदेखि टेउवामा शुरु अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला जारी रहेकै समयमा अवलोकनका लागि आन्तरिक पर्यटकहरु दैनिक रुपमा बढ्दै जान थालेको हो ।

विदेशी दश र नेपाली पाँच जना मूर्तिकार सहभागी रहेको कार्यशालामा मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेपछि निर्माण भएका मूर्ति हेर्नका लागि विभिन्न विद्यालय, सङ्घसंस्था, पत्रकार कर्मचारी तथा विदेशी पर्यटकहरुसमेत आइरहेको गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिए ।

“नेपालमै निकै फरक तथा अनौठो किसिमको काम भएकाले मानिसहरु हेर्नका लागि उत्साहित भएको पाइयो” रानाले भने, “अवलोकनका लागि आएका आन्तरिक पर्यटक, विद्यार्थीको भीडका कारण मूर्ति निर्माण स्थलमा शान्तपूर्वक अवलोकन गराउन प्रहरी नै परिचालन गर्नुपरेको छ ।”

मूर्तिकला कार्यशालाको अवलोकनका लागि आउने विद्यार्थी तथा पर्यटकको भीड बढ्दै गएपछि लाइनमा राखेर दृश्यावलोकन गराउने गरेको नेपाल प्रहरीका हवल्दार यदुनाथ पन्तले जानकारी दिए ।

कार्यशालामा मूर्तिकारहरुले भावना, संस्कार, संस्कृति, सङ्घर्ष, प्रकृति, पानी र जीवन झल्काउने कलात्मक मूर्ति तयार पारिरहेको कार्यशालाको संयोजक तथा मूर्तिकार ओम खत्रीले बताए ।

मूर्तिकला कार्यशाला अवलोकनका लागि ४० जना शिक्षक तथा विद्यार्थी लिएर टेउवामा आएको गलकोट नगरपालिका–६ भुजुङ्गे आधारभूत विद्यालयका प्रधानाध्यापक इन्द्रनाथ गौतमले जानकारी दिए ।

मूर्तिकारले निर्माण गरेका मूर्तिहरु जुन दृष्टिकोणबाट हेर्यो त्यस्तै देखिएको भन्दै तस्बिरले विभिन्न भावनात्मक कुरा समेटेको अवलोकनकर्ता गौतमको भनाइ रहेको छ । कार्यशाला शुरु भएपछि भारत तथा नेपालका विभिन्न जिल्लाबाट झण्डै ६ हजार पर्यटकले अवलोकन गरिसकेको आयोजकले जनाएको छ । अवलोकनका लागि पर्यटकहरु आउन थालेपछि पर्यटकहरुको रेकर्ड राख्नसमेत शुरु गरिएको छ ।

कार्यशालामा जापानबाट जुन इचिरो सुगीमोतो, चीनबाट लिउ याङ्ग, इटालीबाट बिटिनो फ्रान्सेनी, फ्रान्सबाट जिवियर्स गोँजालेज, ताइवाट लिन लि जेन, क्यानडाबाट जुली ग्ल्यास्पी, भारतबाट टुटु पटानायक, इजरायलबाट तान्या प्रिमिङ्गर, ब्राजिलबाट जर्जलुइज र युक्रेनबाट मूर्तिकार ल्युड्मेलले कार्यशालामा मूर्ति तयार पारिरहेका छन् । केहीले मूर्ति तयार पारिसकेको र केही कलाकारहरुले मूर्ति निर्माणको अन्तिम चरणमा पुगेका छन् ।

कार्यशालामा नेपालबाट मूर्तिकार प्रवीणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिथाकोटेले मूर्ति निर्माण गरिरहेको कला प्रतिष्ठानका सचिव सुनमाया ढकालले जानकरी दिइन् ।

स्थानीयले निर्माणाधीन खुला सङ्ग्रहालयका लागि २३ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको कला प्रतिष्ठानका कोषाध्यक्ष यामबहादुर श्रीसले जानकारी दिए । खुला सङ्ग्रहालयको २०७४ सालमा रु १२ करोडबराबरको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार गरी काम थालिएको थियो ।

कोषाध्यक्ष श्रीसका अनुसार आगामी असारसम्म झण्डै रु तीन करोड खर्च भइसक्ने गरी निर्माण भइरहेको छ । कार्यशाला यही फागुन २१ गते समापन हुँदैछ । कार्यशालामा निर्माण गरिएको १७ वटाभन्दा बढी मूर्तिहरु खुला सङ्ग्रहालयमा प्रतिस्थापन गरिने जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै