• २०८१ बैशाख १३ बिहीबार

‘भोजपुरे हुलाकीका सन्तान’ र ‘पानाहरु खाली छन्’ विमोचित

kharibot

काठमाडौँ । साहित्यकार शैलेन्द्र साकारको ‘भोजपुरे हुलाकीका सन्तान’ संस्मरणात्मक कृति र युयुत्सु आरडी शर्माको ‘पानाहरु खाली छन्’ काव्यकृति आज यहाँ लोकार्पण गरिएको छ ।

साकारको कृतिमा आफ्नो बाल्यकाल, जिजुहजुरबा काठमाडौँबाट भोजपुर पुगी हुलाकी र गोरखापत्रको समाचारदाता भएका कुरा, साहित्य र अन्य विषय समाविष्ट छन् । साकारको यसअघि ‘सर्पहरु गीत सुन्दैनन्’, ‘नाङ्गो तार’, ‘कवितामा अमेरिका’ काव्यकृति तथा ‘रामायण र अरु कथा’ एवं ‘कोलाज’ शीर्षकका कथासङ्ग्रह प्रकाशन भएका छन् ।

कवि तथा अनुवादक शर्माका यसअघि अङ्ग्रेजी भाषामा काव्य र गद्य गरी नौ कृति प्रकाशन भए पनि यो नै  नेपाली भाषाको पहिलो कृति हो । नेपालका हिमालय, प्रजातान्त्रिक आन्दोलन, शान्ति र बुद्ध तथा विदेशी भावभूमिका गरी ५१ कविता यसमा समाविष्ट छन् ।  ह्वाइट लोटस बुक शप कोपुण्डोलको आयोजनामा भएको कार्यक्रममा गजेन्द्रमणि प्रधानलगायतले ती कृति विमोचन गरे ।

सो अवसरमा  राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल अधिकारीले शर्माले नेपाल र नेपालका हिमाल आदि विषय लेखेर नेपाललाई धेरै गुन लगाएको बताए । लेखक साकारले आफूले भविष्यमा एक काव्यसङ्ग्रह र अमेरिका बसाइका दैनिकी प्रकाशनमा ल्याउने जानकारी दिए । कवि शर्माले आफूलाई नेपालीहरु आफ्नै परिवार जस्तै लाग्ने बताउँदै कवि बन्न र कविता लेख्ने काम कठिन भएको विचार राखे ।

नेपालस्थित भारतीय राजदूतावासका सांस्कृतिक सहचारी रघुवीर शर्माले कवि शर्माले नेपाल र भारतबीच सेतुको काम गरेको बताउँदै उनका कविता अनुपम भएको टिप्पणी गरे । कार्यक्रममा श्याम रिमाल, राजकुमार बानियाँ र अमर आकाशले शर्माका कृतिमा रहेका तीन कविता वाचन गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै