• २०८१ बैशाख १२ बुधबार

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्यटन महोत्सव हुँने

kharibot

बेनी । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन महोत्सव आयोजना गर्ने भएको छ।

माघ १६ देखि २१ गतेसम्म नारच्याङको बेँसीगाउँमा पर्यटन महोत्सवसँगै अध्यक्ष कप खेलकूद प्रतियोगिता सञ्चालन गर्न लागिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले जानकारी दिए।

अन्नपूर्ण आधार शिविर, रुप्से झरना, अन्धगल्छी, बाजा बजाउने ढुङ्गा, खोप्रा, तातोपानीलगायत गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढाउने लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको हो। गाउँपालिकाले पर्यटन विकासको लागि पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवद्र्धनात्मक कार्यलाई सँगसँगै अघि बढाएको अध्यक्ष पुनले जानकारी दिए।

सत्तरी वर्षअघि आरोहण भएको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्गको प्रचारप्रसार र सञ्चालनका लागि नारच्याङमा पर्यटन महोत्सवको आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको नारच्याङदेखि विश्वकौ दशौं र नेपालको नवौँ (आठ हजार ९१ मिटर) अग्लो अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने सबैभन्दा छोटो पदमार्ग निर्माण भएको छ।

स्थानीय अन्नपूर्ण युवा क्लबको समन्वयमा महोत्सवस्थलमा पूर्वाधार निर्माण शुरु भएको छ। महोत्सवसँगै वडास्तरीय प्रौढ, महिला, पुरुष भलिबल र बास्केटबल प्रतियोगिता, एकल र सामूहिक नृत्य प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको खेलकूद तथा सांस्कृतिक कार्यक्रम उपसमितिका संयोजक ओमप्रकाश फगामीले जानकारी दिए।

ती सबै प्रतियोगितामा गाउपालिकाका आठवटै वडाको सहभागिता हुने भएको छ। पुरुष भलिबल र बास्केटबलमा विजेता र उपविजेतालाई ट्रफी, प्रमाणपत्र र मेडलसहित रु ७५ हजार र रु ५० हजार पुरस्कार प्रदान गरिने भएको छ। यसैगरी महिला भलिबलको विजेता र उपविजेतालाई ट्रफी, प्रमाणपत्र र मेडलसहित रु ६० हजार र रु ४० हजार तथा प्रौढ भलिबलको विजेता उपविजेतालाई रु ३५ हजार र रु २५ हजार पुरस्कार प्रदान गरिने जनाइएको छ।

सामूहिक नृत्य प्रतियोगिताको विजेतालाई २० र उपविजेतालाई रु १८ हजार तथा एकल नृत्यमा विजेतालाई रु १० हजार र उपविजेतालाई रु छ हजार पुरस्कार दिइने आर्थिक संयोजक आत्मा तुलाचनले जानकारी दिए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै