• २०८१ बैशाख ८ शनिबार

देउवा र निधिद्वारा निवासमै पुगेर पौडेलसँग छलफल

kharibot

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले बरिष्ठ नेता रामचन्द्र पौडेलसँग उनकै निवास बोहोराटार पुगेर छलफल गरेका छन् ।

गत विहिबार बसेको केन्द्रीय समिति बहिष्कार गरेका पौडेललाई भेट्न देउवा र निधि शनिबार विहान पौडेल निवासमा पुगेका हुन् ।

पौडेलले महाधिवेशनको कार्यतालिका अहिले नै सार्वजनिक गरेर जानुपर्ने र केन्द्रीय समितिमा छलफलको प्रस्ताव लैजानुपर्ने अडान लिँदै आएका छन् । ‘पार्टी सहमति र सहकार्यमा सञ्चालन गर्नेबारे छलफल भएको,’ पौडेलले बताएका छन् ।

शुक्रबार प्रकाशमान सिंहको निवासमा भएको पौडेलसमुहको भेलाले समेत महाधिवेशनको कार्यतालिका नै केन्द्रीय समितिको एजेन्डा हुनुपर्ने अडानमा एकजुट हुने निर्णय गरेको थियो ।

सभापति देउवाले अगाडी सारेको पार्टी विभाग गठनमा पनि पौडेलको असहमति रहेको छ । सभापति देउवाले महाधिवेशनमा फाइदा उठाउने गरी चार वर्षे कार्यकाल सकिनै लाग्दा विभाग गठन गर्न खोजेको पौडेलले आरोप लगाएका छन् ।

केन्द्रीय समितिको बैठक बहिष्कार, देउवाले अगाडी सरेका एजेन्डा र महाधिवेशनसँग सम्बन्धित विषयहरुमा छलफलका लागि उपसभापति निधिलाई लिएर देउवा पौडेल निवास पुगेका हुन् । 

बिहीबार बसेको केन्द्रीय समिति सभापति देउवाले २८ विभागलाई बढाएर ४१ बनाउने प्रस्ताव गरेका छन् भने आइतबार बस्ने केन्द्रीय बैठकमा ती एजेन्डाबारे छलफल हुने तालिका रहेको छ ।

त्यस्तै भातृ संगठन तरूण दलको म्याद छ महिना थप गर्ने र नेविसंघलाई नेतृत्व दिने एजेन्डामा पनि पौडेल पक्षले दुई मध्ये एक संस्थाको नेतृत्व आफ्नो पक्षले पाउनु पर्ने माग राखेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै