• २०८१ बैशाख ७ शुक्रबार

बेलायती प्रधानमन्त्री जोनसनलाई बहुमत

kharibot

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार सम्पन्न संसदको आमनिर्वाचनमा बहुमत हासिल गरेका छन्।

विजयपछि मतदाताहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले सरकारलाई अर्को महिना बेलायतलाई युरोपेली संघ (ईयू) बाट बाहिर निकाल्न “शक्तिशाली नयाँ जनादेश” प्राप्त भएकामा खुशी व्यक्त गरे। उनले अब तोकिएकै मिति अर्थात् आगामी जनवरी ३१ मा बेलायत इयूबाट बाहिरिन्छ र कुनै “हुन्छ, हुन्न” भन्ने द्विविधा छैन भने।

प्रधानमन्त्री जोनसनको दल कन्जरभेटिभ्स पार्टीको यस पटकको विजय ऐतिहासिक भएको बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोनसनलाई चुनावमा विजयी भएकामा बधाई दिँदै बेलायतसँग अमेरिकाले व्यापक स्तरको व्यापार सम्झौता गर्ने बताए।

बीबीसीका अनुसार हाउस अफ कमन्सका ६५० स्थानमध्ये घोषणा गरिएका ६०० स्थानमा जोनसनको कन्जरभेटिभ्स पार्टीले ३२६ स्थानमा विजय प्राप्त गरिसकेको छ। बिबिसीले मुख्य विपक्षी लेबर पार्टीले ५५ देखि १९७ स्थान गुमाएको छ।

चुनावपछि गरिएका मतसर्वेक्षणमा सन् १९८० को दशकमा तत्कालीन प्रधानमन्त्री मार्गरेट थ्याचरले बहुमत हासिल गरेयता पहिलोपटक कन्जरभेटिभ्सले संसदमा सबैभन्दा ठूलो बहुमत प्राप्त गर्ने प्रक्षेपण सार्वजनिक गरेका थिए।

चुनावी प्रारम्भिक नतिजासँगै बेलायती मुद्रा पाउण्ड स्टर्टिङको मूल्य डलरको तुलनामा दुई प्रतिशतले बढेको थियो। बेलायतको भविष्यलाई लिएर वर्षौंदेखिको राजनीतिक गतिरोध जोनसनको विजयसँगै अन्त्य हुने आमजनताले अपेक्षा गरेका छन्।

धेरै सांसदको समर्थन प्राप्त भइसकेकाले प्रधानमन्त्री जोनसनले ब्रसेल्ससँग ब्रेक्जिट सम्झौताका सन्दर्भमा यसअघि तोकिएको आगामी जनवरी १ को समयावधिभित्रै बेलायत इयूबाट अलग्ग हुनेछ।

सम्झौताको अनुमोदनले लगभग पाँच दशकको ईयू–बेलायत एकीकरणको औपचारिक रुपमा अन्त्य हुनेछ। यद्यपि दुबै पक्षले अझै पनि नयाँ व्यापार र सुरक्षा सम्झौता गर्नुपर्ने आवश्यकता छ।

फ्रान्सका युरोपेली मामिला मन्त्री एमेली डी मोन्टचेलिनले बेलायतमा जोनसनको पक्षमा “स्पष्ट बहुमत” प्राप्त भएकामा त्यसलाई स्वागत गरेका छन्। उनी बेलायती नतिजालाई स्वागत गर्ने पहिलो युरोपेली नेता हुन्।

लन्डनका पूर्व मेयर र विदेश मन्त्री समेत रहिसक्नु भएका जोनसनका लागि यो ठूलो विजयको सङ्केत हो जसले ब्रेक्जिट अभियानलाई सफल बनाउन सन् २०१६ को जनमत सङ्ग्रहमा पनि मुख्य भूमिका निर्वाह गरेका थिए।

पश्चिमी लन्डनमा पुनः सांसदको रूपमा छनौट भएपछि बोल्दै जोनसनले “यस्तो लाग्छ, यस पटक जनताले ब्रेक्जिटको पक्षमा शक्तिशाली नयाँ जनादेश दिएका छन्। ब्रेक्जिट मात्र होइन, यस देशलाई एकजुट गर्न र देशलाई अगाडि बढाउनेतर्फ यो जनमत लक्षित छ।”

सांसदका रुपमा १०औं पटक पुनः विजयी हुनुभएका मुख्य विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले चुनावमा हार स्वीरे। उनले यो नतिजा असाध्यै निराशाजनक रहेको पनि बताए।

उनले आफूले पार्टीको नेता पदबाट चाँडै राजिनामा गर्ने बताउँदै अर्को चुनावमा आफूले पार्टीको नेतृत्व नगर्ने स्पष्ट गरे। बेलायतमा अब अर्को संसदीय निर्वाचन सन् २०२४ मा हुनेछ।

अर्को ठूलो अप्ठ्यारोमा ब्रेक्जिट विरोधी लिबरल डेमोक्रेट्सका नेता जो स्विन्सनमाथि आइपरेको छ। उनी स्कटिस नेसनल पार्टीका उम्मेदवारसँग पश्चिमी स्कटल्याण्डबाट पराजित भएका छन्। 

केही हप्ता अघिदेखि नै चुनावी मतसर्वेक्षणमा कन्जरभेटिभ्सहरु अगाडि थिए तर उनीहरूले यति ठूलो अन्तरमा चुनाव जित्ने अड्कल कमैले मात्र गरेका थिए। यो नतिजा निकै अप्रत्याशित रहेको छ। 

पार्टीले उत्तरी इङ्ल्याण्ड र वेल्समा चुनावी प्रचारलाई तिब्र बनाएका थिए किनभने यहाँ परम्परागत रुपमै लेबर पार्टीको वर्षौंदेखि बर्चश्व रहिआएको थियो। तर यसपटक यहाँका मतदाताले लेबर पार्टीलाई रुचाएनन्, र कन्जरभेटिभ्स पार्टीका उम्मेदवारलाई मतदान गरे। 

एउटा मतसर्वेक्षणले कन्जरभेटिभ्सले ८६ स्थान थप जित्ने र मार्गरेट थ्याचरपछि पहिलोपटक बहुमत ल्याउने प्रक्षेपण गरेको थियो। 

समाजवादी विचारधाराका नेता कोर्बिनको नेतृत्वको लेबर पार्टीले १९१ स्थान मात्र जित्ने पूर्वानुमान गरिएका थिए। लेबर पार्टीका लागि यो नतिजा सन् १९३५ पछि सबैभन्दा खराब हुने थियो। 

कोर्बियनले ब्रेक्जिटका सन्दर्भमा दोस्रो जनमत सङ्ग्रह गर्नुपर्ने धारणा अघि सार्दै आएका थिए। उनको विचारमा आधाभन्दा बढी जनता अझै पनि ईयुकै पक्षमा रहनेछन्। तर उनले लेबरको अभियानलाई आर्थिक परिवर्तनका कार्यक्रममा बढी केन्द्रित गरेका थिए, जसमा केही प्रमुख उद्योगहरूको पुनः राष्ट्रियकरण गर्ने कुरा समावेश थियो। तर यी आश्वासनले मतदाताहरूलाई लोभ्याउन सकेन।

शुक्रबार बिहान समर्थकहरुलाई सम्बोधन गर्दै कोर्बिनले आफ्नो चुनावी “घोषणापत्र”को पक्षलाई बचाउ गर्दै चुनावी अभियानका क्रममा आफ्ना नीतिहरू “अत्यधिक लोकप्रिय” रहेको दाबी गरे। तर उनले ब्रेक्जिटले बेलायती जनता र दलहरुमाझ ध्रुवीकरण र विभाजित बहस निम्त्याएको स्वीकार गरे। 

कोर्बिनले व्यक्तिगत रूपमा अलोकप्रिय र गिरफ्तार गरिएका आतङ्ककारी समूहहरूप्रति सहानुभूतिपूर्ण वक्तव्य दिएको भन्दै पार्टीभित्रै आलोचना खेप्नु परेको थियो। यो लेबरको चौथो लगातार चुनावी पराजय हो, र कोर्बिनको नेतृत्वमा दोस्रो। चुनावी पराजयसँगै लेबर पार्टी अझै पाँच वर्ष सत्ताबाट बाहिर रहनुपर्ने निश्चित झैं देखिएको छ।

ब्रेक्जिट विरोधी लिबरल डेमोक्रेट्सका लागि पनि यो रात निकै सकसपूर्ण थियो। पार्टी नेतृ स्विन्सन पराजित भए भने सन् २०१७ को भन्दा एक स्थानमात्र बढी अर्थात् १३ स्थान जित्ने अनुमान गरिएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै