• २०८१ बैशाख ८ शनिबार

लिम्पियाधुरा, कालापानी समावेश गरेर नक्सा सार्वजनिक गर्न संसदीय समितिको निर्देशन 

kharibot

फाइल तस्बीर

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्ता लगायतका भूमिलाई समावेश गरेर नेपालको नक्सा तत्काल सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको शुक्रबारको बैठकपछि समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न निर्देशन दिएको हो ।

समितिले शुक्रबार गृहमन्त्री रामबहादुर थापा र भूमि व्यवस्थामन्त्री पद्मा अर्यालसँग छलफल गरेको थियो । 

समितिमा भएको छलफलमा मन्त्री अर्यालले नेपालको नक्सामा लिपुलेक, कालापानी समावेश भएको तर लिम्पियाधुरा क्षेत्र नभएको बताइन् । उनले भनिन्, ‘सरकारले एउटा सन्दर्भ पारेर प्रकाशित गर्छ, यसका लागि डकुमेण्ट संकलन गरिरहेको छ ।’

साथै भारतबाट अतिक्रमित भूमिमा नेपालको सार्वभौम अधिकार र स्वामित्व सुदृढ गर्न भारत सरकारसँग राजनीतिक, कूटनीतिक तहमा अविलम्ब वार्ता गरी समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।

बैठकले गृह, भूमिव्यवस्था र परराष्ट्र मन्त्रालयसहितका निकायहरुको संयुक्त समन्वयनकारी संयन्त्र निर्माण गरी एकीकृत रुपमा प्रभावकारी काम गर्न पनि भनेको छ ।

समितिले नेपाली भूमिको रक्षा तथा कालापानी क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरुलाई सहज आवत जावत गर्ने बाटो र अन्य सुविधा उपलब्ध गराउन समेत निर्देशन दिएको छ ।

यसअघि संसदको राज्य व्यवस्था समितिले पनि सरकारलाई लिम्पियाधुरासहितको नक्शा सार्वजनिक गर्न निर्देशन दिएको थियो ।

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै