• २०८१ बैशाख ८ शनिबार

एलएलबी प्रथम बर्षको भर्ना फेरी रोकियो

kharibot

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसको शैक्षिक सत्र २०७५-०७८ का लागि स्नातक तह प्रथम बर्ष (एलएलबी) को भर्ना प्रक्रिया पुनः रोकिएको छ । क्याम्पसले कोटा प्रणाली निर्धारण गरेर भर्ना प्रक्रिया शुरु गरेको भन्दै अनेरास्ववियु (क्रान्तिकारी), नेपाल विद्यार्थी सङ्घलगायत विद्यार्थी सङ्गठनले कानून सङ्काय डीन कार्यालय, क्याम्पस प्रमुख, लेखा शाखामा ताला लगाएपछि प्रक्रिया रोकिएको हो । 

क्रान्तिकारीका क्याम्पस एकाइ अध्यक्ष दीपक थापाले सबै विद्यार्थीले पढ्न पाउनका लागि कोटा प्रणाली खारेजीको माग गर्दै तालाबन्दी गरिएको बताए । क्याम्पसले यही मङ्सिर १० गतेदेखि उक्त शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया शुरु गरेको थियो । विद्यार्थी सङ्गठनले यही मङ्सिर १५ गतेदेखि ताला लगाएका हुन् । क्याम्पस प्रमुख डा दिनानाथ पराजुलीले विद्यार्थीले तालाबन्दी गरेपछि भर्ना प्रक्रिया रोकिएको जानकारी दिए ।

“सर्वोच्च अदालतको आदेश र त्रिवि कार्यकारी परिषद्ले ३०० जना पढाउने गरी भर्ना प्रक्रियाको निर्देशन दिएपछि हामीले भर्ना प्रक्रिया शुरु गरेको हौँ”, उनले भने, “तर विद्यार्थी सङ्गठनले तोकिएको कोटाको विरोधमा ताला लगाएका छन् । हामीले कोटा तोकेका होइनौँ ।

आदेशलाई मात्र कार्यन्वयन गरेका हौँ ।”  त्रिवि कार्यकारी परिषद्ले कात्तिक २४ गते ल क्याम्पसलाई पत्र पठाउँदै ३०० मा २४० खुला र ६० समावेशी कोटामा भर्ना गर्न निर्देशन दिएको थियो । उनले पटकपटक लाग्ने तालाबन्दीका कारणले शैक्षिक सत्र २०७५-०७८ को पढाई अझै सञ्चालन हुन नसकेको बताए ।

अनेरास्ववियुका क्याम्पस एकाइ अध्यक्ष हरि पङ्गेनीले कोटा प्रणाली नभई प्रवेश परीक्षामा उत्तीर्ण सबै विद्यार्थीलाई भर्ना गर्नुपर्ने बताउनुभयो । पछिल्लो समयमा एलएलबी पढ्ने विद्यार्थीको आकर्षण भएदेखि क्याम्पसमा विद्यार्थीको सङ्ख्या बढेको छ । शैक्षिक सत्र २०७४÷०७७ का लागि पनि क्याम्पसले ८०० भर्ना गर्ने भने तापनि पछि विद्यार्थी सङ्गठनको दबाबका कारण करिब १० हजार ८०० विद्यार्थी भर्ना गरेको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै