• २०८१ बैशाख ११ मंगलबार

'१७२ औँ अक्षरयात्रा' पाल्पाको रामपुरमा सम्पन्न

kharibot

रामपुर । “यहाँ प्रफुल्ल बनेर राम र सीता नृत्य गर्दा उनीहरूका पैतालामा धुलीसात बन्दा, उनीहरू बास बस्दै जाँदा पैदा भए छन् केलादी घाट र सीता कुण्डहरू।” प्रस्तुत कवितांश युवा कवि लालमणि पोखरेलले पाल्पा रामपुरको तालपोखरामा आयोजित १७२ औँ अक्षरयात्रामा वाचन गरेका हुन्।

प्रत्येक महिनाको तेस्रो शनिबार ठाउँ/ठाउँमा पुगी पोखरेली साहित्यकारले साहित्य सिर्जनाका माध्यमबाट जीवन र जगतका यथार्थतालाई खोतल्ने क्रममा १७२ औँ शृङ्खला यस पटक पाल्पाको रामपुर पुगेको थियो।

गजल सन्ध्या पोखरा र नवीनत साहित्य सागरको आयोजनामा कार्यक्रम आयोजना हुँदै आएको छ। यसपटक रामपुर साहित्य प्रतिष्ठान, रामपुर नगरपालिका–६ र तालपोखरा संरक्षण समिति रामपुरको आतिथ्यतामा ५० जना पाखेरेली साहित्यकारको टोली यहाँ आएका थिए।

यहाँका प्रकृति र संस्कृतिका विविध पक्षलाई प्रत्यक्ष अनुभूति गर्दै सहभागी सर्जकले यहाँको इतिहास र गरिमाको मुक्तकण्ठले चर्चा मात्रै गरेनन्, कालीनदीको बहावलाई डाइभर्सन गर्ने कुरालाई पनि रचनाकै माध्यमबाट विरोधको कसिलो स्वरमा अभिव्यक्त दिन पछाडि परेनन्।

रामपुरको सभ्यता र स्थानीयको आतिथ्यताको चर्चा गर्दै कवयत्री बालिका अभिलासीको भावना यस्तो रह्यो, “केलादी धाम, कालीगण्डकी सभ्यता हुन् रामपुरका, सीता कुण्ड, शिव मन्दिर मान्यता हुन् रामपुरका। भ्युटावर, तालपोखरी हेर्न लायक ठाउँहरू, न्यानो सत्कार, मीठो मुस्कान आतिथ्यता हुन् रामपुरका।” स्थान विशेषको चर्चाका साथै माया पिरती सम्बद्ध रचनाले पनि यहाँका स्रोता माझ चर्चा पायो।

माया पिरतीकै कुरा गर्दै गजलकार शिव त्रिपाठीले आफ्नो रचनालाई यसरी प्रस्तुत गरे, “आँशु बनेर बग्दछ मैले पिएको पानी, आँखाबाटै त झर्दछ हरपल मेरो जवानी। कार्यालयमा दिलको हद भो ढिलासुस्तीको, न दर्ता हुन्छ यौवन नै न वैंशको चलानी।”

रामपुरमा के छैन शीर्षकको रचनामा गजल सन्ध्या पोखरका अध्यक्ष मोहन भण्डारीको सिर्जनालाई यसरी प्रस्तुति दिए, “जहाँ तालपोखरा, सीता कुण्ड, केलादी धाम राममन्दिर, शिव मन्दिरजस्ता स्थान छन्। साँच्चै मलाई प्रश्न गर्न मन छ, के छैन रामपुरमा”

अक्षरयात्राका लागि यहाँ आइपुग्दाको बाटोघाटोदेखि यहाँका स्थानीयले देखाएको आतिथ्यता लगायतका विषयलाई नवीनत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापाले रचनाबाटै प्रशंसा गरे। उनले २०६२ सालदेखि जारी पोखरेली साहित्यकारको अक्षरयात्रा अविच्छिन्न रुपमा १७२ औँ शृङ्खलासम्म आइपुगेको जानकारी दिए।

तत्कालीन समयमा गजलकार प्रकट पङ्गेनी शिव, कृष्ण उदासी, दीपक समिप लगायतको विशेष पहलमा अक्षरयात्रा वर्तमानसम्म आइपुगेको स्मरण गर्दै उनले तत्तत् ठाउँमा पुगी जीवन जगत्का यथार्थता र भोगाइलाई साहित्यकारले आफ्ना रचनामा प्रस्तुत गर्ने गरेको अनुभव सुनाए। प्रस्तुतिकै क्रममा रामपुरलाई राम्दीबाट डाइभर्सन गरी बहाव परिवर्तन गर्न लागिएको विषयलाई स्रष्टाले कविताकै माध्यमबाट विरोध गरे।

कवि भरत पौडेलले आफ्ना रचनामा ब्यङ्ग्य गर्दै भने, “रामपुर तिमीलाई दाउमा राखेर यो देशभित्र देशै बेच्ने कुरा चलिराछ, दुवै हातमा सुनका बाला चार किनिदिन्छु, लगाउँदा चट्ट सुहाउने हार किनिदिन्छु यही मङ्सिरमा यही रामपुरमा मेरा लागि कन्या खोज, तिम्रा लागि उपहार कार किनिदिन्छु।”

पोखरेली साहित्यकारका रचना सुनिसकेपछि रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले सिर्जनाका माध्यमबाट सर्जकले यहाँका प्रकृति र संस्कृति उजागर भएको भन्दै आभार व्यक्त गरे। कालीगण्डकीको प्राकृतिक बहावलाई राम्दीबाट डाइभर्सन गरी लैजाने षड्यन्त्र भइरहेको भन्दै उनाले आफूले त्यसको सशक्त प्रतिवाद गरिरहेको बताए।

रामपुर नगरपालिका–६ का वडाध्यक्ष हुमानाथ न्यौपानेले प्रकृति र संस्कृतिले सम्पन्न रामपुर क्षेत्रको विकासका लागि योजनाबद्ध प्रयास भइरहेको बताए। उनले भने, “पोखरेली साहित्यकारले रामपुरसम्म आई यहाँका प्रकृति र जीवनका भोगाइलाई आफ्ना रचनामा व्यक्त गरिनुले आफूहरूलाई अझै उत्साहित बनाएको छ।”

रामपुर साहित्य प्रतिष्ठानका अध्यक्ष वासुदेव ढकालले पोखरेली सर्जकलाई रामपुरमा स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै यहाँका विविधता साहित्यिक रचनमा समेटिएको धारणा राखे।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै