• २०८१ बैशाख ८ शनिबार

त्रिभुवन विश्वविद्यालयको दीक्षान्तमा दुई विद्यार्थीलाई तीन-तीन पदक

kharibot

प्रतिनिधि तस्बीर ।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ४५औँ दीक्षान्त समारोहमा दुई विद्यार्थीले तीन-तीन वटा पदक पाउने भएका छन् । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसबाट स्नातकोत्तर तहमा ९१.७३ प्रतिशत अङ्क ल्याएका उमेश आचार्य र स्नातकोत्तर तह अर्थशास्त्रमा ३.८६ सिजिपिए अङ्क ल्याएका विद्यामान महताराले यहि पुस ३ गते हुने दीक्षान्त समारोहमा तीन वटा पुरस्कार पाउने भएको दीक्षान्त समारोह समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए । 

उनका अनुसार आचार्यले चान्सलर पदक, त्रिवि प्राध्यापक सङ्घ स्वर्ण पदक र रामप्रसाद मानन्धर स्वर्ण पदक पाउने भएका हुन् । चान्सलर पदक स्नातकोत्तरतर्फ प्रथम श्रेणीमा प्रथम भएकामा, त्रिवि प्राध्यापक स्वर्ण पदक र मानन्धर स्वर्ण पदक सम्पूर्ण स्नातकोत्तर तहमा सर्वप्रथम भएकामा प्रदान गर्न लागिएको हो । चान्सलर पदकमा करीब तीन तोला सुन रहेको हुन्छ । 

यसैगरी महताराले खगेन्द्रमान सिंह प्रधान पदक, तारापद चौधरी पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार पाउनुहुनेछ । उहाँले एमएमा सर्वोकृष्ट अङ्क ल्याएबापत उक्त पुरस्कार पाउने भएको हो । यसैगरी समारोहमा चार जना विद्यार्थीले दुई-दुई पदक पाउने भएका छन् । सहनियन्त्रक अधिकारीका अनुसार सङ्गीता महर्जन, थमनसिंह गौतम, इशिला खरेल र अञ्जना शर्माले दुई-दुई वटा पुरस्कार पाउने भएका छन् ।  

रसायनशास्त्र विभागबाट एमएस्सी (रसायनशास्त्र)मा ३.९८ सिजिपिए अङ्क ल्याउनुभएका महर्जनले अमृत पदक, पिएलसिंह पदक, स्नातकोत्तर तहमा राजनीतिक शास्त्रमा ६७ प्रतिशत ल्याएका गौतमलाई ‘ललित चन्द पदक’ र वडाकाजी ‘मरिचमान सिंह पदक’ पाउने छन् ।

यसैगरी शंकरदेव क्याम्पसबाट व्यापार प्रशासनमा स्नातक तह (बिबिए)मा ३.९३ सिजिपिए अङ्क ल्याउने खरेलले भाइस चान्सलर पदक र भ्वाइस सत्य माँ स्मृति स्वर्ण पदक तथा मानविकी सङ्काय स्नातक तहमा उत्कृष्ट अङ्क ८२.१४ ल्याउने सान्त्वना मेमोरियल बहुमुखी क्याम्पसका विद्यार्थी शर्माले पिपल्स क्याम्पस ‘तीर्थरत्न बज्राचार्य पदक’ र ‘ज्ञानप्रसाद’ पुरस्कार पाउनेछन् । 

समारोहमा ‘त्रिवि प्राध्यापक सङ्घका उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक–२०७५’ बाट व्यवस्थापन सङ्काय एमफिल तहमा सर्वोकृष्ट अङ्क ल्याउने सिर्जना पहारीलाई प्रदान गरिन लागेको हो । उनले जनप्रशासन केन्द्रीय विभागबाट ३.७५ सिजिपिए अङ्क ल्याएका थिए । 

सोही अवसरमा उत्कृष्ट अङ्क ल्याउने ३१ विद्यार्थीलाई पदक वितरण गरिनेछ । समारोह त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा हुनेछ । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा हुने समारोहमा १० हजार १८४ विद्यार्थी र करीब छ हजार ९०० अभिभावक सहभागी हुने भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै