• २०८१ बैशाख ४ मंगलबार

जनताको विश्वासको मतमा सरकार : उपप्रधानमन्त्री पोखरेल

kharibot

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकार कुनै अधिनायकवादमा नभई जनताको विश्वासको मतमा अघि बढ्ने बताएका छन्।

बूढानीलकण्ठ नगरपालिकाको पाँचौँ स्थापना दिवस तथा नवनिर्मित मुख्य प्रशासकीय भवन उद्घाटन कार्यक्रममा उनले जनमतको सम्मान गर्दै जनतासामु गरिएका आफ्ना प्रतिबद्धता पूरा गरिने बताए। उनले भने, “सविधानले दिएको अधिकारअनुरुप स्थानीय सरकारले भूमिका निवाह गरी कार्यसम्पादन गर्नुपर्छ।”

उनले सो नगरपालिका नेपालको सबैभन्दा ठूलो नगरपालिका हुनाका साथै सय गन्तव्य स्थानमध्ये एउटा भएकाले नगरपालिकालाई जनप्रतिनिधि तथा नगरवासी सबै मिलेर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक रहेको जनाए।

सो अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले एकीकृत योजना बनाएर विकास निर्माण अघि बढाउनुपर्ने बताउँदै महानगरपालिकाले आर्थिक साझेदारी अन्तर्गत गत वर्ष जस्तै काठमाडौँका विभिन्न नगरलाई यस वर्ष पनि रु एक–एक करोड छुट्याएको जानकारी दिए।

नगरप्रमुख उद्धवप्रसाद खरेलले नवनिर्मित भवन उद्घाटनसँगै अब नगरवासीले सर्वसुलभ तरिकाले सेवा सुविधा पाउन सकिने बताए। उनले चालु आर्थिक वर्ष २०७६/७५ का लागि रु १५ करोड ८४ लाख ५३ हजार बजेटबाट पक्की सडक तथा ढल निर्माण, वडा कार्यालय तथा मुख्य कार्यालय परिसर निर्माण, उद्यान निर्माण, शिक्षा तथा स्वास्थ्य, मानवीय क्षमता विकास, सुरक्षा र सुशासनका लागि सेवा प्रवाह सुधार लागायत क्षेत्रमा प्राथमिकताका साथ काम गरिने बताए।

काठमाडौं जिल्लामा पछिल्लो समयमा गठन भएका नगरपालिकामध्ये सबैभन्दा पहिले आफ्नो कार्यालय भवन निर्माण सम्पन्न गर्न बूढानीलकण्ठ नगरपालिका सफल भएको छ।

विसं २०७३ मङ्सिर १६ गते शिलान्यास गरिएको नवनिर्मित भवन २२३२.९२ वर्गमिटरमा फैलिएको छ। नगरको वडा नं ८ हात्तीगौंडा अवस्थित भवनको कूल लागत रु १० करोड नौ लाख ४३ हजार छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै