• २०८१ बैशाख १४ शुक्रबार

महिला क्रिकेट : माल्दिभ्समाथि  नेपाल १० विकेटले विजयी

kharibot

पोखरा । पोखरामा जारी १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको महिला क्रिकेटको उद्घाटन खेलमा नेपालले विजयी शुरुआत गरेको छ।

आयोजक नेपालले पहिलो खेलमा माल्दिभ्समाथि १० विकेटको ठूलो जीत निकालेको हो। टस जितेर ब्याटिङ रोजेको माल्दिभ्स १०.१ ओभरमा १६ रनमै समेटिएको थियो। सात रनमा पहिलो विकेट गुमाएको माल्दिभ्सले ११ रनमा दोस्रो र तेस्रो, १५ रनमा चौथो, पाँचौँ, छैटौँ र सातौँ तथा १६ रनमा बाँकी विकेट गुमाएको थियो।

माल्दिभ्सको पारीमा हम्जा नियाजले नौ तथा हाफ्सा अब्दुल्लाले चार रन जोडे। बाँकी सबै खेलाडी शून्यमै आउट भए। नेपालले अतिरिक्त तीन रन दिएको थियो।

जीतका लागि १७ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपालले पहिलो ओभरमै विजयी लक्ष्य पार गर्यो। मात्रै पाँच बलको सामना गरेकी काजल श्रेष्ठले तीन चौका प्रहार गर्दै अविजित १३ रन जोडिन। पाँच बल फालेकी माल्दिभ्सका बलर समा अलीले चार अतिरिक्त रन दिएपछि ‘ननस्ट्राइक’मा रहेकी सीता मगरले एक बल पनि सामना गर्नुपरेन।

दुई दशमलव एक ओभरमा दुई मेडनसहित बिना रन ६ विकेट लिनुभएकी अञ्जली चन्द ‘वुमन अफ दी म्याच’ भइन्। करुणा भण्डारीले दुई ओभरमा दुई विकेट लिइन्। उनले एक मेडन राख्दै चार रन खर्चिएकी थिइन्।

जीतपछि नेपाली टोलीका कप्तान रुबिना क्षेत्री बेलबासीले प्रतियोगितामा राम्रो शुरुआत गर्न सकेकामा खुशी लागेको सुनाइन्। यही प्रतियोगिताका लागि आफूहरुले लामो समयदेखि मेहनत गरेको बताउँदै उहाँले नेपाली महिला क्रिकेट टोलीले केही गरी देखाउने अवसरका रूपमा यो प्रतियोगितालाई लिएको बताइन्।

माल्दिभ्सका कप्तान जुना मारियाले नेपाल बलियो टोली भएको धारणा राखीन्। पहिलो अन्तर्राष्ट्रिय खेल भएका कारण उत्कृष्ट प्रदर्शन गर्न नसके पनि यस प्रतियोगितालाई आफूहरुले अनुभव बटुल्ने अवसरका रूपमा लिएको उनले बताइन्।

प्रतियोगिता अन्तर्गत मङ्गलबार श्रीलङ्का र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै