• २०८१ बैशाख ६ बिहीबार

फिलिपिन्समा कामुरी आँधीको त्रास

kharibot

मनिला । फिलिपिन्समा आँधीका कारण ठूलो संख्यामा स्थानीयबासीको भागाभाग भएको छ। कामुरी नामको सो आँधीबाट हजारौँ व्यक्ति विस्थापित भएको उद्धार संस्थाहरुले जनाएका छन्। 

यो शक्तिशाली आँधीबाट राजधानी मनिलामा हुन लागेको दक्षिण पूर्वी एसियाली खेलकूदको आयोजनामा पनि असर परेको बुझिएको छ। अधिकारीहरुले सो क्षेत्रबाट कैयौँ व्यक्तिलाई उद्धार गरी अन्यत्रै सारेका छन्। 

हाल सो शक्तिशाली आँधी राजधानी मनिलाको नजिकै पुगेको छ। यसबाट पर्न सक्ने क्षतिको अनुमान गर्दै सुरक्षा अधिकारीहरुले पूर्व तयारी थालेका छन्। 

मौसम विज्ञान क्षेत्रका अधिकारीहरुले उक्त आँधी प्रति घन्टा कम्तीमा पनि १८५ किलोमिटरका दरले आउने अनुमान गरेका छन्। यसका कारण सोमबार अबेरतिर मनिलाको वरिपरी पहिरो पनि जान सक्ने उनीहरुले बताएका छन्। 

सोमबार राति अबेर र मङ्गलबार बिहानतिर आँधीको असर देखिन सक्ने अनुमान उनीहरुले गरेका छन्। मङ्गलबार बिहानतिर फिलिपिन्सको राजधानी मनिला तथा यस देशको पूर्वी क्षेत्र नै प्रभावित हुने अनुमान उनीहरुको छ। 

आँधी र यसका साथमा भारी वर्षा पनि हुने अनुमान गरिएको छ। वर्षातसँगै हुनसक्ने क्षतिका लागि पनि सरकारी अधिकारीहरुले तयारी गरेका बताइएको छ। 

अहिले आँधी मनिलाको नजिक पुग्न लागेको बताइएको छ। यदि मनिलामा यो प्रवेश गर्यो भने यहाँको कम्तीमा पनि एक करोड ३० लाख जनसंख्या नराम्ररी प्रभावित हुनेछ।

मनिलाबाट पूर्वी क्षेत्रमा रहेको बाइकुल भन्ने क्षेत्रबाट करिब ७० हजार व्यक्ति विस्थापित भइसकेका छन्। उक्त क्षेत्र छोड्न सरकारले सूचना जारी गरेको थियो। उक्त क्षेत्रमा आँधीसँगै भारी वर्षा र यसबाट पहिरो पनि जान सक्ने अनुमान मौसमविद्हरुले भविश्यवाणी गरेका थिए।

फिलिपिन्समा हरेक वर्ष शक्तिशाली आँधी आउने गर्दछ। यहाँ वर्षेनी साना ठूला गरी २० ओटा जति आउने गरेका छन्। त्यसैले यस समयमा यहाँका सुरक्षा अधिकारीहरुले पनि व्यापक तयारी गर्ने गरेका छन्। 

सन् २०१३ मा आएको हायान नामक आँधीका कारण कम्तीमा पनि ७ हजार ३०० नागरिकको मृत्यु भएको या हराएका थिए। यसबाट फिलिपिन्सको इतिहासमा नै निकै ठूलो भौतिक क्षति पुगेको थियो।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै