• २०८१ बैशाख ४ मंगलबार

लालकिल्ला तोड्ने तिलक

kharibot

काठमाडौँ । गत शनिबार भएको उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रकाश राईलाई २७ सय ९५ मत अन्तरले पराजित गर्दै तिलक विजयी भएका हुन् ।

काँग्रेसका तिलक राईले २६ हजार ७०९ मत ल्याएका छन् भने नेकपाका प्रकाश राईले २३ हजार ९१४ मत पाएका छन् ।

२०४८ सालपछि धरान कम्युनिष्टहरुको लाल किल्ला बन्दै आएकोमा उपनिर्वाचनमा आएर लाल किल्ला तोडिएको छ । 

काँग्रेसका युवा नेता तिलक राईले जित्नुमा नेकापको दुई बर्षे कार्यकाल, नेकपा स्थानीय उम्मेदवारको सहि छनौट गर्नबाट चुक्नु र दुई पार्टीको एकीकरण तल्लो तहसम्म भावनात्मक रुपमा हुन नसक्नुलाई लिइएको छ । 

स्व. मित्रकुमार राई र स्व. गंगा राईका सुपुत्र तिलक राईको २०३१ साल कात्तिक २ गते भएको हो । धरान–१८ का स्थायी बासिन्दा राईले प्रारम्भिक शिक्षा पनि त्यहीबाट हासिल गरेका हुन् । धरानको डिपो माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा एसएलसी पास गरेका राईले महेन्द्र बहुमखी क्यापस धरानबाट व्यवस्थापन संकायमा प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन् ।

धरानमा तिलकले युवापङ्तिमा लोकप्रिय प्रष्ट वक्ता, निडर नेताको पहिचान बनाएका छन् ।

विकास, निर्माण र धरानमा नवीन जागरण प्रदान गर्न दिनोरात खटिँदै आएका युवा नेता राईले नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा प्रारम्भ गरेका हुन् ।

२०४७ देखि नेपाली कांग्रेसमा क्रियाशील राई २०५४ सालमै स्थानीय तहको निर्वाचनमा १८ मा सदस्य पदको उम्मेदवारी दिए । 

२०५४ सालमा नेवि संघ धरानको सचिवको जिम्मेवारी पाएका राई २०५५ मा तरुण दल धरान नगर समिति सदस्य बने ।

नेता राईको राजनीतिक यात्रा २०५७ सालपछि अझ सशक्त भयो। उनी तरुण दल नगर अध्यक्ष बने । वि.सं. २०६२ सालमा नेपाली कांग्रेस नगर सचिव हुँदै २०६६ सालमा सम्पन्न १२औं महाधिवेशनमा धरान सभापतिको उम्मेदवार बने ।

२०७२ मा सम्पन १३औँ महाधिवेशनबाट नेपाली कांग्रेस धरानको सभापतिमा निर्वाचित भएका राई यस अघि ०५४ सालमा घरान– १८ को वडाध्यक्षमा चुनाव लडेर पराजित भएका थिए भने २०७४ को स्थानीय चुनावमा उनी प्रमुखमा पराजित भएका थिए ।

तिलक किरात राई यायोख्याको केन्द्रीय अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी सुनसरीका सचिव, उद्योग वाणिज्य संघको कार्यकारी सचिव आदि जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

नेपाल शारीरिक सुगठनको ख श्रेणीका निर्णायक राईले सप्तकोशी बस व्यसायी संघका अध्यक्ष, नेपाल गल्फ एशोसिएसनका केन्द्रीय उपाध्यक्ष लगायतका संघसंस्थाको जिम्मेवारी पूरा गरिसकेका छन् ।

गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेका तारा सुब्बाले २० हजार ९७५ मत ल्याएर विजयी हुँदा काँग्रेसका तिलक राईले १६ हजार १०२ मत ल्याएर पराजित भएका थिए । त्यस्तै तत्कालिन माओवादी केन्द्रका उम्मेदवार आइन्द्र विक्रम बेघाले ११ हजार १८० मत प्राप्त गरेर तेस्रो भएका थिए ।

प्रमुख  सुब्बाको २०७५ श्रावण १ गते फोक्सोको निमोनियाका कारण ग्राण्डी अस्पताल काठमाडौँमा निधन भएपछि उपनिर्वाचन भएको हो ।

धरानलाई भ्रष्टाचारमुक्त नगर बनाउने, भ्रष्टाचार अन्त्य गराइ कर घटाउने, बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या, बिष्णुपादु लगायतका धार्मिक क्षेत्रलाई आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनाउने प्रतिबद्धता राईले व्यक्त गरेका छन् ।

धरानमा विमानस्थल निर्माणको पहल गर्ने, खानेपानीको समस्या समाधान गर्ने, अव्यवस्थित बसपार्कलाई व्यवस्थित बनाउने, धरान हुँदै पहाडी जिल्ला जोड्ने राजमार्गलाई व्यवस्थित गरी सुन्दर शहरको रुपमा धरानको विकास गर्ने योजनासहित नेता राई चुनावी मैदानमा आएका थिए ।

त्यसैगरी, भूपू गोर्खाहरूको शहर धरानलाई अत्याधुनिक र व्यवस्थित बनाउने योजना पनि उनले अघि सारेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै