• २०८१ बैशाख ७ शुक्रबार

''पश्चिम बागलुङको समृद्धिका लागि काम गर्छु'' : सांसद शाही

kharibot

गलकोट । बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’का नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले विकासमा पछाडि परेको पश्चिम क्षेत्रको समृद्धिका लागि आफूले काम गर्ने बताएका छन्।

निर्वाचित भइसकेपछि प्रदेशसभा सदस्य शाहीले पत्रकारलाई प्रतिक्रिया दिँदै आफूले स्वर्गीय टेकबहादुरले देखेको पश्चिम बागलुङको समृद्धि आफूले पूरा गर्ने बताएका हुन्। 

शाहीले मुलुकको समृद्धि र स्थायित्वका लागि प्रदेशसभादेखि जिल्लासम्म सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।

उपनिर्वाचनमा विजयी भएपछि राससँग प्रतिक्रिया दिँदै जीतले आफूलाई खुशी र जिम्मेवार दुवै बनाएको बताए। “जनताका आधारभूत आवश्यकतासँगै विकासका लागि काम गर्छु”, शाहीले भने, “विकासमा पछाडि परेको यस क्षेत्रलाई आफ्नो कार्यकालमा केही राहतको महसुस गराउनेछु।” 

जिल्लाको पश्चिममा रहेको आफ्नो क्षेत्र अवसर र विकासबाट पछाडि परेकाले त्यसका लागिसमेत यथेष्ट पहल र भूमिका खेल्ने उनको भनाइ थियो। उनले देशकै एकमात्र सिकार आरक्षलाई नमूना पर्यटकीय गन्तव्य बनाउने भन्दै पश्चिम क्षेत्र विकट भए पनि पर्यटकीय हिसाबले अत्यन्तै सम्भावना रहेको बताए। “जनताले दिएको मतको सधैँ कदर गर्नेछु, जनताको सेवामा समर्पित हुनेछु”, सांसद शाहीले भने।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थन पाएको राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीले नेपाली काँग्रेसका उम्मेदवार जीत शेरचनलाई दुई हजार ९७ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन्। शाहीले ११ हजार २३५ मत प्राप्त गर्नुभएको छ भने शेरचनले नौ हजार १३८ मत प्राप्त गरेका थिए।  

ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका रहेको यस क्षेत्रको उपनिर्वाचनमा शुरुआतमा तीव्र प्रतिस्पर्धा भए पनि अन्ततः मतान्तर फराकिलो बन्दै गएको थियो। उपनिर्वाचनमा विभिन्न असन्तुष्टि र अप्ठ्याराका बीच जीत निकाल्न सफल भएको नेकपा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले बताए।

निसीखोला गाउँपालिकाबाट बाम गठबन्धनले चार हजार ८०६ मत प्राप्त गरेको छ भने काँग्रेसले तीन हजार २८२ मत प्राप्त गर् । यहाँ काँग्रेसको भन्दा बाम गठबन्धनको एक हजार ५२४ मत बढी आएको छ। तर ढोरपाटनमा एक हजार ५०० देखि दुई हजारभन्दा बढीको अन्तर पर्ने आङ्कलन गरिएकामा जम्मा ९६५ मात्र बढी मत आएको छ।

बामले गिलासमा चार हजार ५७० मत प्राप्त गर्दा काँग्रेसका शेरचनले तीन हजार ६०५ मत प्राप्त गरेका छन्। ढोरपाटनमा काँग्रेसले राम्रो मत ल्याए पनि तमानमा भने ठूलो मात्रामा अन्तर पार्ने मत ल्याउन सकेन। बाम गठबन्धनले एक हजार ८५९ मत प्राप्त गर्दा काँग्रेसले दुई हजार २५१ मत प्राप्त गरेको छ।

यस क्षेत्रमा २०७४ सालको प्रदेशसभा निर्वाचनमा साबिकको नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा बामगठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीले ११ हजार ८८४ मत प्राप्त गरी विजयी भएका थिए। त्यसबेला पनि घर्तीका प्रत्याशी रहेका काँग्रेसका शेरचनले आठ हजार ६६४ मत प्राप्त गरेका थिए।

उक्त चुनावमा तीन हजार २६० मतको अन्तर थियो। यो अन्तर अहिले एक हजारभन्दा बढीले घटेको छ। सांसद घर्तीको असामयिक निधन भएपछि यस क्षेत्रमा उपचुनाव भएको हो। उपनिर्वाचनमा आठ राजनीतिक दल र दुई स्वतन्त्र गरी १० उम्मेदवार चुनावी मैदानमा थिए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै