• २०८१ बैशाख ४ मंगलबार

उपनिर्वाचनको ५२ स्थानको परिणाम आयो : कँहा कसले जिते ?

kharibot

काठमाडौं । शनिबार सम्पन्न ५२ स्थानको उपनिर्वाचनको परिणाम आएको छ । ३७ जिल्लाका विभिन्न तहमा भएको निर्वाचनको परिणाम आएको छ । प्राप्त मत परिणाम अनुसार नेकपाले एक प्रतिनिधि सभा, एक प्रदेशसभा, तीन गाँउपालिका प्रमुख, एक गाँउपालिका उपप्रमुख र २४ वडा अध्यक्षमा गरि कुल ३० स्थानमा जित हासिल गरेको छ । त्यस्तै नेपाली काँग्रेसले एक प्रदेश सभा, एक उपमहानगरपालिका प्रमुख र ११ वडा अध्यक्षमा गरि कुल १३ स्थानमा जित हासिल गरेको छ । त्यस्तै राष्ट्रिय जनमोर्चाले एक प्रदेश सभा जितेको छ । त्यस्तै समाजवादी पार्टीले चार वडा अध्यक्ष र राजपाले ३ वडा अध्यक्ष जितेको छ । त्यस्तै एक वडा अध्यक्ष नेकपाका बागी उम्मेदवारले स्वतन्त्र उठेर जितेका छन् ।     

कुन ठाउमा कसले जिते ?  

१- बाग्लुङ बडिगाड गाउँपालिका–२ मा नेकपाका उमेदवार ढालप्रसाद शेरचन ७०४ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका उमेदवारले ४१२ मत प्राप्त गरेका छन् । 

२- काठमाडौंको दक्षिणकाली नगरपालिका–३ को उपनिर्वाचनमा सत्तारूढ दल नेकपाका उमेदवार शिवभक्त बलामी निर्वाचित भएका छन् । उनले ६१८ मत प्राप्त गरे । कांग्रेसका उमेदवारले २७८, राप्रपा (संयुक्त)ले १०७ र राप्रपाले ७ र २९ मत बदर भएको छ ।

३- काभ्रेको धुलिखेल नगरपालिका–२ को उपनिर्वाचनमा पनि नेकपा विजयी भएको छ । नेकपा उमेदवारले ८६८ मत प्राप्त गरेका छन् । काङ्ग्रेसका उमेदवारले ५८२, राप्रपा (संयुत्त)ले ६ मत प्राप्त गरेका छन् ।

४- सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८ को वडाध्यक्षको उपनिर्वाचनमा नेकपा विजयी भएको छ । वडाध्यक्ष पदको उपनिर्वाचनमा नेकपाका उमेदवार केदारप्रसाद आचार्यले ७१२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका राले तामाङले ४३१ मत प्राप्त गरे । पशुपति शमशेर नेतृत्वको राप्रपा (संयुक्त)ले १२, कमल थापा नेतृत्वको राप्रपाले ३ र ९ मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ । अघिल्लो निर्वाचनमा त्यहाँ कांग्रेस निर्वाचित भएको थियो । 

५- सल्यानको कुमाख गाउँपालिका–५ को वडाध्यक्ष निर्वाचनमा नेकपाका उमेदवार धर्मे बुढाथोकी निर्वाचित भएका छन् । कुल ११२४ मत खसेको मध्ये बुढाथोकीले ७९२ मत ल्याए भने निकटतम प्रतिस्पर्धी काङ्ग्रेसका खडकबहादुर बुढाथोकीले २५१ मत ल्याएका छन् ।

६- लमजुङको सुन्दरबजार नगरपालिकामा नेकपाका उमेदवार विजयी भएका छन् । वडा नम्बर २ को रिक्त वडाध्यक्ष पदमा शनिबार भएको उपनिर्वाचनमा नेकपाका उमेदवार नवीन श्रेष्ठ ९९३ मत ल्याएर विजयी भएका छन् । प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उमेदवार प्रकाश सेढाइँले ४८२ मत ल्याए । त्यस्तै राप्रपाले १६ र स्वतन्त्र उमेदवारले १२ मत प्राप्त गरेका छन् । १० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको  छ ।

७- कंचनपुरको पुनर्वास नगरपालिका–३ मा पनि सत्तारूढ नेकपा नै विजयी भएको छ । खानेपानीमन्त्री बिना मगरको वडासमेत रहेको पुनर्वास–३ मा ९२४ मत खसेकामध्ये ५२८ मत ल्याएर - कृष्णबहादुर तामाङ निर्वाचित भए । त्यस्तै काँग्रेसका दीपबहादुर तामाङले ३९० मत प्राप्त गरे ।

८- रोल्पाको थवाङमा नेकपा नै निर्वाचित भएको थियो । थवाङमा १७४ मत प्राप्त गरी नेकपाका जनकबहादुर बुढामगर निर्वाचित भएका थिए । प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका कमलबहादुर रोकामगरले २६ मत प्राप्त गरेका थिए ।

९- खोटाङको साकेला गाउँपालिका–३ मा पनि नेकपाकी उम्मेदवार शिवकला राईले ३९१ मत ल्याएर विजयी भएकी छन् । त्यस्तै काँग्रेसका शुक्रबहादुर तामाङले ३७४ मत ल्याएका छन् ।  

१०- अर्घाखाँचीको मालारानी गाँउपालिकाको वडा नम्बर ३ मा नेपाली काँग्रेसका उम्मेदवार शोभाखर खनालले ११५९ मत ल्याएर विजयी भएका छन् । नेकपाका उम्मेदवार यमलाल खनालले १०५३ मत ल्याएका छन् भने राप्रपाका रणबहादुर खनालले ४ मत ल्याएका छन् ।

११- चितवनको भरतपुर महानगरपालिका -१६ को वडा अध्यक्षमा  नेपाली काङ्ग्रेसका उम्मेदवार अमृतराज हमाल विजयी भएका छन । हमालले नेकपाका उमेदवार भक्तराज हमाललाई ३०८ मतको अन्तरले जितेका छन । अमृतले ३१८३ र नेकपाका उम्मेदवार भक्तराज हमालले ल्याए २८७५ मत ल्याएका छन । नेकपाको पकडको क्षेत्रमा काङ्ग्रेस बिजयी भएको हो

१२. चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा काँग्रेसका उम्मेदवार देवबहादुर बस्नेतले नेकपाका उम्मेदवार वेदबहादुर अधिकारीलाई १५२ मत अन्तरले पराजित गरेका छन् । बस्नेतले एक हजार १३८ मत प्राप्त गर्दा नेकपाका वेदबहादुर अधिकारीले ९८६ मत ल्याएका छन् । 

१३. चितवनको खैरहनी नगरपालिकाको वडा नम्बर ५ मा नेपाली काँग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका उम्मेदवार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी छन् । कार्कीले ८४२ मत प्राप्त गर्दा र प्रधानको ७५६ मत ल्याएका छन् । 

१४- बैतडीको सुर्नया गाउँपालिका-१ मा नेपाली कांग्रेसका उम्मेद्वारा गजेन्द्रबहादुर चन्द विजयी भएका छन्। २१९ मत ल्याएर चन्द विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपाका धनबहादुर चन्दले २१५ मत ल्याएका छन् भने ४ मत बदर भएको छ निर्वाचन आयोगले जनाएको छ । सुर्नया १ मा ६१९ मतदाता मध्ये ४३८ मत खसेको थियो। सो वडामा नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष कलशबहादुर चन्दको मोटरसाइकल दुर्घटना परी निधन भएकाले उपनिर्वाचन भएको हो ।

१५- सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर १ मा वडाध्यक्षका लागि शनिबार भएको उपनिर्वाचनमा समाजवादी पार्टी नेपालका उम्मेदवार श्यामबाबु राय विजयी भएका छन् । ३ सय ४७ मत ल्याएर श्यामबाबु विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । आफ्ना निकटम प्रतिद्वन्दीलाई १९ मतले पछि पार्दै श्यामबाबु विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का उम्मेदवार रामविश्वास राय र नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार दोस मोहम्मद अंसारीले समान ३ सय २८ मत प्राप्त गरे ।

१६- दाङको घोराही उपमहानगरपालिका-१६ को वडाअध्यक्षमा नेपाली कांग्रेस ताराबहादुर डिसीले १२१८ मत ल्याएर विजयी भएका छन् । उनले नेकपाका उम्मेदवार सुरेशबहादुर केसीले १११७ मत ल्याएर पराजित भएका छन् ।

१७- बाजुराको त्रिवेणी नगरपालिका-१ को वडा अध्यक्षमा नेकपाका उम्मेद्वावरले जित हात पारेका छन् । नेकपाका मनराजे बुढा ३६७ मत पाएर वडा अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र चदाराले ३४७ मत पाए ।

१८ - रौतहटको गढीमाई नगरपालिका-२ को वडा अध्यक्षमा कांग्रेसका उम्मेद्वाीर दिपेन्द्र श्रेष्ठ विजयी भएका छन् । १७५ मतले श्रेष्ठ विजयी भएका हुन् ।  उनले ७७१ मत पाउदा नेकपाका जवार मियाले ५९६ मत पाए । त्यसैगरी समाजवादीले १२२  राजपाले १६ र जनमत पार्टीले १२ र राप्रपाका उम्मेद्वा९रले ४ मत पाएका छन् । बदर २८ रहेको छ ।

१९- बाँकेको कोहलपुर नगरपालिका-६ को वडाअध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रामशरण थारू विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार श्रीकृण थारूलाई पराजित गरेका हुन् । रामशरणले ८०० र श्रीकृष्णले ७३७ मत ल्याएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । राप्रपाका श्रीधर सुवेदीले ६१, समाजवादी पार्टीका शुभाखर पोखरेलले १० र नेपाल मजदुर किसान पार्टीका दीपालक्ष्मी हमालले १३ प्राप्त गरिन ।

२०- सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी(नेकपाका उम्मेदवार दिलिप कुमार यादव विजयी भएका छन् । उनले ८२५ मत प्राप्त गरे । यादव निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका प्रदिप कुमार महतो भन्दा १७१ वढी मत ल्याएर विजयी भएका हुन् । राजपाका महतोले ६५४ मत प्राप्त गरे ।

२१-सप्तरीको छिन्नमस्ता गाँउपालिकाको वडा नम्बर ७ को वडा अध्यक्षमा राजपाकी उम्मेदवार प्रमिला देवी यादव ५४० मत ल्याएर विजयी भएकी छन् । नेकपाका उम्मेदवार अच्छेलाल यादवले ५२९ मत ल्याएका छन् ।

२२- बैतडीको दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ४ को वडा अध्यक्षमा नेपाली काँग्रेसका सुरेन्द्र प्रसाद भट्टले ५८४ मतल्याएर विजयी भएका छन् । त्यस्तै नेकपाका नरेन्द्र प्रसाद भट्टले ४८४ मत ल्याए । राप्रपा संयुक्तका देवसिंह खत्रीले ६ मत ल्याएका थिए ।

२३- बैतडीको पुर्चौडी नगरपालिकाको वडा नम्बर ४ को वडा अध्यक्षमा नेकपाका उम्मेदवार शैलेन्द्र धानुक ६६३ मत ल्याएर विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार गोविन्द बहादुर धामीले ५५८ मत ल्याएका थिए ।

२४- डोटीको आदर्श गाँउपालिकाको वडा नम्बर २ को वडा अध्यक्षमा नेकपाका उम्मेदवार रामबहादुर बोहोरा ६६८ मत ल्याएर विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार महादेव साउदले ६५६ मत ल्याएका छन् । काँग्रेस उम्मेदवार साउद १२ मतले पराजित भएका छन् ।

२५- अछाम जिल्लाको मेल्लेख गाँउपालिकाको वडा नम्बर ५ को वडा अध्यक्षमा नेकपाका उम्मेदवार रमेश बहादुर खड्का ७७८ मत ल्याएर विजयी भएका छन् । नेपाली काँग्रेसका वीर बहादुर बोहोराले ५६३ मत ल्याएका थिए ।

२६- प्युठान नगरपालिकाको वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा उम्मेदवार मुक्ति पोखरेल ११२७ मत ल्याएर विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार मोहन सिंह विष्टले ८४३ मत ल्याएका थिए ।

२७- प्युठानको ऐरावती गाउँपालिका वडानम्बर १ को वडाध्यक्षमा नेकपाका द्रोणकुमार पाण्डे विजयी भएका छन् । नेपाली काँग्रेसका अमर रेश्मी मगरलाई ९ मतले पछि पार्दै पाण्डे वडाध्यक्ष निर्वाचित भएका हुन् । पाण्डेले ६८७ मत पाएर जित्दा मगरले ६८७ मत प्राप्त गरेका छन् ।

२८- प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर २ को वडाध्यक्षमा भने नेकपाका बागी उम्मेदवारले जितेका छन् । छडी चुनाव चिन्ह लिएर उठेका नेकपामा स्थानीय नेता हिमेशकुमार घर्तीले ८५५ मत प्राप्त गरेर वडाध्यक्षमा विजयी भएका छन् ।  त्यस्तै निकटतम प्रतिद्धन्द्धी राष्ट्रिय जनमोर्चाका मोहन विश्वकर्माले ५०४ मत प्राप्त गरेका छन् । यस वडामा राजमोलाई केन्द्रबाट नेकपाले समर्थन गर्ने निर्णय गरे पनि स्थानीय कमिटीले अवज्ञा गरेर घर्ती मगरलाई उठाएको थियो ।

२९- नवलपरासी पुर्वको बौदीकाली गाँउपालिकाको वडा नम्बर ५ को वडा अध्यक्षमा नेकपा उम्मेदवार खिम बहादुर थापा खरुमगर ३६७ मत ल्याएर विजयी भएका छन् । नेपाली काँग्रेसका उमेम्द्वार तुल बहादुर राना मगरले २३१ मत ल्याए ।

३०– पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नम्बर ५ को वडा अध्यक्षमा समाजवादी पार्टीका उम्मेदवार रुपलाल यादव १०३१ मत ल्याएर विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार असेशर प्रसाद यादवले ८१९ मत ल्याएका छन् । त्यस्तै नेकपाका उम्मेदवार उदयशंकर प्रसाद रौनियारले २३२ मत ल्याए ।

३१- बाराको बारागढ़ी गाउँपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा समाजवादी पार्टीका उम्मेदवार सुरेश प्रसाद चौधरी ७४९ मत ल्याएर विजयी भएका छन् । नेकपाका उम्मेदवार शंकर प्रसाद चौधरीले ६७२ मत ल्याए भने काँग्रेसकी उम्मेदवार तस्वीरिया थरुनीले ४७१ मत ल्याएकी थिइन् ।

३२- महोत्तरीको बलवा नगरपालिकाको वडा नम्बर २ को वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विपिन पजियार सुडीले ४६१ मत ल्याएर विजयी भएका छन् । राजपाका उम्मेदवार ब्रिजलाल साह सुडीले ३५२ मत ल्याए ।

३३- महोत्तरीको बलवा नगरपालिकाको वडा नम्बर ८ को वडा अध्यक्षमा समाजवादी पार्टीका रामबाबु महतो ६५९ मत ल्याएर विजयी भएका छन् । त्यस्तै नेपाली काँग्रेसका निर्वल यादवले ३४६ मत प्राप्त गरेका छन् ।  

३४- महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपाल विजयी भएको छ । मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार राजपाका उम्मेदवार रामबाबु नायक ३७५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार जाकिर अंसारीले ३५५ मत ल्याएका छन् ।

३५- महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विक्रम चौधरी निर्वाचित भएका छन् । यसअघि राजपा उम्मेदवारले जितेको गाउँपालिकामा तत्कालिन प्रमुख प्रतिस्पर्धी चौधरी विजयी भएका हुन् । ३ हजार २४९ मत प्राप्त गरी चौधरी निर्वाचित हुँदा निकटतम प्रतिद्धन्द्धी समाजवादी पार्टीका रामजानकी यादव ३ हजार ४१ मत प्राप्त गरेर पराजित भईन् ।

३६-पाँचथरको हिलीहाङ गाँउपालिकाको वडा नम्बर ७ को वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार तिल बिक्रम इधिंगो ८४२ मत ल्याएर विजयी भएका छन् । नेकपाका उम्मेदवार गेहनाथ रिजालले ८१२ मत ल्याएका छन् ।

३७-पाँचथरको फिदिम नगरपालिका–१ मा नेकपाका उम्मेदवार गजाधर भट्टराई विजयी भएका छन् । भट्टराई ४७४ मत अन्तरले विजयी भएका छन् । कूल तीन हजार ६७६ मतदातामध्ये दुई हजार ६८२ मत खसेकामा भट्टराईले एक हजार ४४६ मत प्राप्त गरी विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार सुबराज थापाले ९७२ मत पाए । यहाँ यसअघिको चुनावमा काँग्रेसले जितेको थियो ।

३८- पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपा उम्मेदवार बीरबहादुर कुरुम्वाङ विजयी भएका छन् । कुरुम्बाङ ८०६ मत अन्तरले गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । कुरुम्बाङले ५ हजार ३६९ र उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वृजहाङ आङदेम्बेले ४ हजार ५६३ मत पाएका छन् ।

३९- रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको वडा नम्बर ५ को वडा अध्यक्षमा नेकपाका उम्मेदवार कुल बहादुर बस्नेत ७६९ मत ल्याएर विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार सावित्री सुनुवारले ३८० मत ल्याएकी छन् ।

४०- मोरङको धनपालथान गाउँपालिकाको वडा नम्बर २ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेद्वारनारायण प्रसाद शाह १७०१ मत ल्याएर विजयी भएका छन् । नेकपाका उम्मेदवार पंकज कुमार मण्डलले १४९७ मत ल्याएर पराजित भएका छन् ।

४१- संखुवासभाको खादबारी नगरपालिकाको वडा नम्बर ३ को वडा अध्यक्षमा नेकपाका उम्मेदवार भरतकुमार घिमिरे ७९६ मत ल्याएर विजयी भएका छन् । त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार विक्रम गुरुङ४६७ मत ल्याएर पराजित भएका छन् ।

४२- कपिलवस्तुको शिवराज नगरपालिका–१० लालपुरमा भएको वडाध्यक्षको निर्वाचनमा राष्ट्रिय जनता पार्टीकी उम्मेदवार मञ्जु मिश्रले जीत हासिल गरेकी छन् । निर्वाचन कार्यालयका अनुसार खसेको एक हजार ७२२ मतमध्ये ८६८ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देव भारतीले ४६५ मत ल्याएकी छन् ।

४३- गुल्मीको रुरु क्षेत्र गाउँपालिका–६ मा वडाध्यक्ष पदका लागि सम्पन्न निर्वाचनमा नेकपाका उम्मेदवार गिरीप्रसाद सिञ्जाली विजयी भएका छन् । उनले नेपाली काँग्रेसका उम्मेदवार बेदप्रसाद दर्लामीलाई पराजित गरेका छन् । सिञ्जालीले ८०२ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नदर्लामीले ७२७ मत प्राप्त गरेका छन् । तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष पूर्णबहादुर रेग्मीको निधन भएपछि उपनिर्वाचन गरिएको हो ।

४४- भोजपुरको पौवादुङगाउँपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा नेकपाका उम्मेदवार जितेन्द्र राई विजयी भएका छन् ।

४५- बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही निर्वाचित भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थनमा शाहीले नेपाली काँग्रेसका जीत शेरचनलाई दुई हजार ९७ मतान्तरले पराजित गरेका छन् ।

४६- दाङको प्रदेश सभा ३(ख) मा नेकपा उम्मेदवार विमला कुमारी खत्री विजयी भएकी छन् । खत्रीले २४ हजार २८६ मत ल्याएर जित हासिल गरेकी छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार केशवराज शर्माले १९ हजार १८२ मत प्राप्त गरेका छन् ।

४७- प्रतिनिधिसभा सदस्यका लागि भएको कास्की–२ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन् । प्राप्त मतपरिणाम अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले २४ हजार ३९४ मत ल्याएर विजयी भएकी छन् । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले १५ हजार ९९१ मत प्राप्त गरेका छन् ।

४८- भक्तपुरको प्रदेशसभामा नेपाली काँग्रेस विजयी भएको छ । भक्तपुर–१ (क) प्रदेशसभा सदस्यका लागि शनिबार भएको उपनिर्वाचनमा कांग्रेसका उमेदवार कृष्णलाल भँडेलले १३ हजार ४४९ मत ल्याएर निर्वाचित भएका छन् । भँडेलले नेकपाका उम्मेदवारलाई २२४३ मत अन्तरले पराजित गरेका छन् । नेकपाका डीपी ढकालले ११ हजार २ सय ६  मत पाएका छन् ।

४९- संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा नेकपाकै तेजबहादुर पोखरेल विजयी भएका छन् । पोख्रेलले ३०१८ मत ल्याएर विजयी भएका छन् भने काँग्रेसका विमन पराजुलीले २२१६ मत प्राप्त गरेका छन् ।

५०- हुम्लाका खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा नेकपाकी दीपा शाही निर्वाचित भएकी छन् । यसअघि सो गाउँपालिकामा नेपाली कांग्रेसले जितेको थियो ।

५१- सुनसरी धरान उपमहानगरपालिकाको प्रमुखका नेपाली काँग्रेसका तिलक राई विजयी भएका छन् । राईले २५ हजार ९९५ मत प्राप्त गरेका छन् भने नेकपाका उम्मेदवार प्रकाश राईले २३ हजार ३९३ मत प्राप्त गरेका छन् ।

५२- सुनसरी धरान उपमहानगरपालिका वडा नम्बर ७ को वडा अध्यक्षमा नेकपाका जीवनराज सुवेदी विजयी भएका छन् ।  सुबेदीले ६२२ मत ल्याएका छन् भने नेपाली काँग्रेसका सुवर्ण मोहन पालिखेले ६२१ मत ल्याएर एक मतले पराजित भएका छन् ।                  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै