• २०८१ बैशाख १२ बुधबार

प्राविधिक शिक्षा लिने थलो बन्दै रामपुर

kharibot

बेझाड । केही वर्ष अघिसम्म माध्यमिक शिक्षा हासिल गरिसकेका पाल्पा, रामपुरका विद्यार्थीलाई प्राविधिक शिक्षा कहाँ पढ्ने भन्ने चिन्ताले सताउँथ्यो।

कमजोर आर्थिक हैसियतका कारण प्राविधिक विषय पढ्ने इच्छा भएर पनि उनीहरु खुम्चिएर बस्नुपथ्र्यो। समय फेरिएको छ, अब त्यो पिरलो छैन।

पछिल्लो समय प्राविधिक धार अन्र्तगत विभिन्न विषयका कक्षा सञ्चालनमा आएपछि यहाँका मात्र नभै अन्यत्रका विद्यार्थीको पनि रामपुर अध्ययनको थलो भएको छ।

सस्तो शुल्कमा गुणस्तरीय शिक्षा आर्जन गर्न पाइने भएपछि अहिले बाहिरबाट रामपुर पढ्न आउने विद्यार्थीको आकर्षण बढ्दो छ।

रामपुर नगरपालिकाभित्र चार वटा विद्यालयमा प्राविधिक शिक्षाको अध्यापन हुन्छ। सिटिइभिटी मार्फत रामतुलसी माविमा तीनवर्षे डिप्लोमा तहमा कृषि बाली विज्ञान, दरैठाँटी माविमा तीनवर्षे सिभिल इन्जिनियरिङ र गंगा माविमा तीनवर्षे पशुविज्ञानका कक्षा सञ्चालित छन्।

आधारभूत माविमा भने शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट कक्षा ९ देखि १२ सम्म पशु विज्ञानको कक्षा सञ्चालन भइरहेको छ। यहाँ पढ्न आउने अधिकाँश विद्यार्थी बाहिरी जिल्लाका छन्। 

सस्तो शुल्कमा गुणस्तरीय शिक्षा पढ्न पाइने भएका कारण सिभिल इन्जिनीयरिङ अध्ययनका लागि हुम्लाबाट रामपुरको दरैठाँटी माविमा आएको सत्यदेवी शाहीले बताइन्। 

“हुम्लाबाट नेपालगञ्जसम्म १२ हजार रुपैयाँ हवाइ टिकट, नेपालगञ्जबाट रामपुरमा आउन गाडीमा रु तीन हजार खर्च लाग्छ, कम शुल्कमा पढ्न पाइने भएपछि रामपुरमै आएकी हुँ” – उनले भनिन्। 

गुणस्तरीय शिक्षासँगै सस्तो शुल्कमा प्राविधिक शिक्षा पढ्न पाइने भएपछि रामपुरमै आएको इलामका अनिता खड्का बताउछिन्। “इलाममा पनि प्राविधिक शिक्षा पढ्न पाइन्छ तर, शुल्क धेरै महङ्गो पर्छ, यहाँ पढाइ राम्रो छ,” उनले भनिन्। 

सिन्धुलीका मनोज विक पनि रामपुरमै तीनवर्षे सिभिल इन्जिनीयरिङ पढ्न आएका छन्। शाही, खड्का र विक प्रतिनिधि पात्र मात्रै हुन्। उनीहरू जस्ता अधिकाँश विद्यार्थी बाहिरी जिल्लाबाट रामपुर आई आफ्नो भविष्य बनाइरहेका छन्।

सिभिल इन्जिनीयरिङमा दरैठाँटी मावि प्रदेश नम्बर ५ मै उत्कृष्ट नतीजा ल्याउन सफल विद्यालय पनि हो। विद्यालयले २०७२ सालमा महायज्ञ गरी २०७४ देखि सिभिल इन्जिनीयरिङको कक्षा शुरु गरेको हो। 

विद्यालयले न्यून शुल्कमा शिक्षा प्रदान गरिरहेकाले पनि आकर्षण बढ्दो छ। डिप्लोमा तह सञ्चालन भएको वर्ष २०७४ मा ३९, २०७५ मा ४४ र यो वर्ष ३७ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटाले जानकारी दिए।

पढाइ सकेसँग रोजगार पाउन सक्ने भएकाले पछिल्लो समय यहाँ प्राविधिक शिक्षाप्रति  विद्यार्थी आकर्षित भएको प्रअ देवकोटाको भनाइ छ।

पूर्वी पाल्पाकै शैक्षिक धरोहर मानिएको रामपुर नगरपालिका ५ बेझाड बजारस्थित रामतुलसी माविमा विसं २०७१ देखि तीनवर्षे डिप्लोमा तहसम्मका लागि कृषिबाली विज्ञान पठनपाठन भइरहेको छ। हाल यहाँ ६३ विद्यार्थी अध्ययनरत छन्। प्रधानाध्यापक बालकृष्ण लम्सालले भने – “कृषिबाली विज्ञानका लागि आवश्यक पर्ने सबै प्रयोगात्मक सामग्रीको बन्दोबस्त विद्यालयले गरेको छ।”

गंगा माविमा तीनवर्षे पशुविज्ञान शिक्षाको कक्षा सञ्चालित छ। विसं २०७५ मा विद्यालयमा पशुविज्ञान शिक्षा शुरु भएपछि यस क्षेत्रका विद्यार्थीलाई धेरै सहज भएको प्रधानाध्यापक देवराज देवकोटाले बताए। 

रामपुरकै आधारभुत माविमा कक्षा ९ देखि १२ सम्म पशुविज्ञान पठनपाठन भइरहेको छ। विसं २०७४ देखि शुरु भएको यो विषयमा हाल कक्षा ९ मा २२, कक्षा १० मा १८ र कक्षा ११ मा २० जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक रुपनाथ गौतमले जानकारी दिए। उनका अनुसार प्रयोगात्मक शुल्क मात्र लिएर कक्षा सञ्चालन गर्ने गरिएको छ।

माध्यमिक तह पूरा गरेपछि उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि पूर्वी पाल्पाका विद्यार्थीलाई शहर पस्नुपर्ने बाध्यता थियो। अहिले भने घरदैलोमै उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षाको अवसर जुटेपछि विद्यार्थीलाई भौँतारिन नपरेको अभिभावक सरस्वती सोमै बताउछिन्।

रामपुरबाट बुटवल, पोखरा, काठमाडौँ अध्ययनका लागि जाने क्रम अहिले न्यून छ भने अन्यत्रबाट रामपुर आउने क्रम बढ्दो छ।

जिल्ला सदरमुकामदेखि करीब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुर नगरपालिकामा वस्ती बढ्दै गएसँगै यहाँका नागरिकमा चेतना बढेको छ।

पाल्पामा २२ वटा विद्यालयमा प्राविधिक विषयको अध्ययन अध्यापन भइरहेको छ। सिटिइभिटी मार्फत मान्यता पाएका दश विद्यालय र शिक्षा विभागबाट अनुमति पाएका ११ र काठमाडौँ युनिभर्सिटी मार्फत एउटा विद्यालय सञ्चालनमा रहेको शिक्षा समन्वय तथा कार्यान्वयन इकाई प्रमुख रमेशराज पौडेलले बताए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै