Skip This

मृत्यु के हो ?

खरीबोट

सबैभन्दा डरलाग्दो, कहालीलाग्दो र होश उडाउने शब्द हो मृत्यु । त्यो पनि मानिसको । स्वजनको । अझ सबै भन्दा बढी त आफ्नै ! मृत्यु  सुन्दा, देख्दा, पर्दा र भोग्दा को स्तब्ध हुदैन् र ?  तथापी सान्त्वना दिन अनेक प्रपन्च रच्छ, मान्छे । म त मर्दिन अरु नै कोहि पो मर्छ भन्छ । धन्न, धर्मले आत्मा मर्दैन् र बिज्ञानले मानिस मरेपछी उर्जामा रुपान्तरण हुन्छ भन्छ र राहात महशुस गर्छ, मान्छे।  समयले बिस्तारै भुलाउँछ स्वजनको मृत्यु  र औषधि गर्छ बाँचेको मानिसलाई । नत्र के हुन्थ्यो होला कठै! हाम्रो हालत ।

म मृत्यु के हो ? भन्ने आलेख लेख्ने हैसियतको मान्छे त होइन किनकी न त म सँग मृत्युको ज्ञान, कला र बोध छ न त मसँग निकट मृत्यु अनुभव नै छ । तर म सँग मृत्यु सम्बन्धी धेरै जिज्ञासा छ्न्--मृत्यु के हो ?  मरेपछि के बाँकी रहन्छ ? मरेपछि के हुन्छ ?  कसरी स्वीकार गरे मृत्यु ती महान मानिसहरूले ? भन्ने प्रश्नहरुले मलाई उनिहरुका भनाई संकलन गर्ने, लेख्ने र बुझ्ने रहर लाग्यो । र यसरी शुरु गरे :

कवि शिरोमणि लेखनाथ पौड्याल आफ्नो 'कालमहिमा' कवितामा लेख्छ्न्--

"भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो ।
इन्द्रै बिन्ती गरून् झुकेर पदमा, त्यो बिन्ति मान्दैन त्यो ॥
आयो टप्प टिप्यो, लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो ॥"

टेलिभिजन अन्तर्वार्तामा भगवान कोइराला भन्छ्न्-- "मनुष्यको हिसावले मृत्यु अवश्यम्भावी हो, चिकित्सकको हिसाबले मृत्युलाई जति सक्दो पछाडी धकेलेर गुणस्तरीय जीवन बाँच्ने बनाउने हो । बैज्ञानिक हिसावले कोष, तन्तु, अंग, प्रणालीको सन्तुलन स्थायी रुपले बिग्रीदा मृत्यु हुन्छ । मृत्यु भएपछि कोषको शक्ति रुपान्तरण हुनुपर्छ । हामी सबै मर्छौ भन्ने बोध भएको भए जीवन सार्थक हुन्थ्यो । सिंगापुरको डाक्टरले जीवनको अन्तिम घडीमा भनेको सम्झदै उनी भन्छ्न् - "यदि हामीले कसरी मर्ने भनेर सिक्यौँ भने मात्र हामीले कसरी बाँच्ने भन्ने सिक्छौँ।"  त्यस्तै वसन्त पन्त भन्छ्न्--" मृत्यु भनेको अन्तिम सत्य हो । ब्रेन, मुटु, फोक्सो, कलेजो र मृगौलाले पूर्ण रुपमा कार्य नगर्नु हो ।" अर्जुन कार्की भन्छ्न्--" ब्रेनले शरीरलाई चलाउँछ । ब्रेनलाई चलाउने कुनै अदृश्य शक्ति हुनुपर्छ । सायद, त्यो चेतना हो या अरु नै के हो ।" त्यस्तै मनिषा कोइराला भन्छिन्--"कोहि बोल्न नचाहने र प्रश्न नगर्ने बिषय हो मृत्यु । मलाई मृत्यु नजिकको अनुभवले जीवनलाई हेर्ने दृष्टिकोण पूरै बदल्दियो । जीवनको दशगुणा महत्त्व मृत्युबोधले बढाउदो रहेछ ।"

मृत्युले असल मानिसलाई चाँडै लगेका थुप्रै दृष्टान्तहरु छ्न् । भनिन्छ, प्रसिद्ध मानिसहरुको आयु छोटो हुन्छ । जीवन बास्तवमा छोटो छ हामी आफै यसलाई अझ छोटो बनाउँछौँ । ३० बर्षको अल्पायुमा निधन भएका मोतीराम भट्ट वा ४३ बर्षको अल्पायुमा निधन भएका भैरब अर्याल वा ४२ बर्षमा निधन भएका मदन भण्डारी वा ६३ बर्षमा प्राण छोडेका उपेन्द्र देवकोटा वा बिरेन्द्रको बंशनास वा ३९ बर्षमा संसार छडेका स्वामी विवेकानन्द । सबैको आयू छोटो रहेछ तर कामले त दीर्घायू देखाउँछ । यसवाट प्रष्ट हुन्छ, यो महत्त्वपूर्ण छैन् जीवन कति लामो हुन्छ, यो महत्वपूर्ण छ जीवन कसरी असल हुन्छ ।

जेनिफर ली भन्छिन्--"आफैसँग बिश्वास गर । जीत अगाडि छ । मृत्युले जीवनको महत्व बढाइदिएको छ । मृत्यु नहुदो हो त जीवन ज्यादै निरसिलो हुन्थ्यो । "म भन्छु-- "मृत्यु यसकारण पनि महत्त्वपूर्ण छ कि जसरी सूर्यको जस्तै चम्किन र उर्जा निकाल्न सूर्यको जस्तै जल्नु र हाइड्रोजन हिलियममा रुपान्तरण हुनु जरुरी छ । त्यस्तै जीवनको आभा फाल्न र अनन्त सम्म बाँच्न जीवन मृत्युमा रुपान्तरण हुनु जरुरी छ ।" त्यही भएर प्रकृतिले संसार चलाउने नियम अन्तर्गत यो पर्छ ।

सिद्दिचरण श्रेष्ठ भन्छ्न्--" संकट पर्छ मानिसलाई ढुंगालाई के पर्छ । असिना आई फूलवारीकै फूलहरु पहिले झार्छ ।" त्यसैले कसैकसैले भन्ने गरेको कुरा पनि मलाई ठिकै लाग्छ-- बाँच्नु अल्पकालीन समाधान हो, भने मर्नु दीर्घकालीन । सेक्सपियरले मृत्युलाई सहज रुपमा लिन यसरी सुझाएका छ्न्-- "मानिसले जगतवाट बहिर्गमनलाई त्यसैगरी सहनुपर्छ जसरी आगमनलाई ।" तर जीवनको सबैभन्दा ठूलो भय मृत्यु भय हो । कसरी सहन सकिन्छ र ? अरुलाई पर्दा त ठिकै आफ्नैमा र आफूलाई नै परो भने कसरी सहनु हे हरी । त्यही भएर यहाँ बुद्धको भनाई "जो बुद्धिमानी छ ऊ मृत्युको भय देखि डराउदैन्" अनुसार आफूलाई तयार गर्नु सान्दर्भिक हुन्छ ।

बुद्ध पुन: भन्छ्न--"तिमी कसरी बाच्छौँ भन्दा तिमी कसरी मर्छौ भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ ।" उनी अझै थप्छ्न्---" मानिस मरेपनी चेतना मर्दैन र त्यो चेतनाले अर्को जन्म लिन्छ जसरी तिमीसँग एउटा दियो छ त्यसले निभिरहेको बत्ती बाल्दा सल्किन्छ नि । हो त्यस्तै एउटा चेतनाले अर्कोलाई सल्काउछ ।"

यहाँ मृत्यु जीवनको बिपरित होइन त्यसैको एउटा भाग हो भनेर स्वीकार गर्नुको कुनै बिकल्प छैन् । कि वाल्टले भनेजस्तै,"मृत्यु भन्दा सुन्दर कुनै चीज हुन सक्दैन" भन्ने बोध हुनुपर्यो । कि मृत्युदेखि किन डराउने ?  यो त जीवनको सुन्दर अनुभूति होइन र ! भन्ने मार्टिन एच फिस्चरको जस्तै अनुभूतिको स्तर हुनुपर्यो । 

कि इमाइल डिक्सनले भनेजस्तै "मृत्यु जंगली रात र नँया बाटो हो" भन्ने कुरा  स्वीकार गर्नुपरो।  कि त झमक घिमिरेले जीवन काँडा कि फूलमा मृत्युलाई "त्यो भगवान सामू उभिएर भनिरहेको छु सक्छ्स भने दे मृत्यु त्यस्तो महान मृत्यु जो मलाई स्वीकार्य छ तर पशुवत मृत्यु कदापी स्वीकार्य छैन ।" भनेर  च्यालेन्ज दिनुपर्यो ।

कि त स्टिभ जब्सको जस्तै मृत्यु बोध हुनै पर्‍यौं । उनी भन्छ्न्--"म छिटै मर्दैछु भन्ने बोधले मलाई जीवनमा ठुला ठुला निर्णय लिन मद्द्त गरेको छ । किनभने सारा घमण्ड, गौरव, असफल हुनुको भय, त्रास सबै सबै मृत्युको अगाडी पराजित हुन्छ्न् । र केवल जे महत्त्वपूर्ण छ त्यो मात्र बाँकी रहन्छ । मृत्युले नै पुरानोबाट नयाँ बनाउँछ । मृत्यु जीवनको एकमात्र आविष्कार हो।"

हुनपनि मृत्यु बोधले असफल हुनेको भयलाई पर पुर्याउँछ । आत्माको आवाज पछ्याउन मद्द्त गर्छ । हामी सबैको यात्राको साझा गन्तव्य मृत्यु हो । कोहिपनी यो यात्राबाट भाग्न सक्दैन् । उनी सुझाउँछ्न --"तिमीले केही गर्नुछ भने भोको बन र मुर्ख बन।"
घनश्याम खड्का निर्वाण उपन्यासमा मोनिका पात्र मार्फत भन्छ्न्--"मृत्युको क्षण होसपूर्ण रह्यो भने समाधिमा सजिलै पुगिन्छ र शरीरबाट चित्त छुटिएर बस्छ।"

हामीलाई सूर्य अस्थाएपछी उदाउँछ भन्ने थाहाँ छ त्यसैले हामीलाई  डर छैन् तर हामी अस्ताएपछी के हुन्छौँ थाहा छैन् । पुनः उदाउछौँ कि उदाउदैनौँ ?  त्यसैले जर्ज म्याकडोनाल्ड भन्छन् --"हामी सूर्य अस्ताउंदा डराउँदैनौं, तर मृत्यु संग डराउँछौं ।"

मनलाई मारेर बाँच्नु, मर्नुभन्दा खतरापूर्ण हुन्छ किनकी मन मरेकाहरुले अरुहरुलाई नी मार्छ्न्।यसै सन्दर्भमा नर्मन कोउसिंस भन्छन्--" मृत्यु भनेको नराम्रो होइन । नराम्रो त त्यो हो, जब हामी बाँच्दा आफ्नो मनलाई मारेर बाँचिरहेका हुन्छौं ।" त्यसैले मनलाई कहिल्यै पनि मर्न दिनु हुन्न ।

लरी हल्से एन्डरसन भन्छन् -"जुन व्यक्तिले आफूलाई बाहिर व्यक्त गर्न सकिरहेको हुँदैन, ऊ हरेक समय मरिरहेको हुन्छ।" बाँच्नु भनेकै ब्यक्त हुनु हो । अभिव्यक्तिले नै जीवित या मरेको के हो छुटिन्छ ।

एन्द्रियु स्याक्स भन्छन-- "सबै व्यक्ति मर्छन् । तर, सबै व्यक्ति बाँचेका हुँदैनन् ।" यो कुरा अति नै मननिय र गहिरो छ ।

जे जति कर्म गरिन्छ त्यो बाँच्दै गर्नुपर्छ । मरेपछी डुमै राजा भने उखानलाई ब्रेयन क्लौघको भनाई,"मेरो मृत्यु पछि फूलहरु नचढाउनु । यदि तिमी मलाई मन पराउँछौ भने म जीवित छँदा नै मेरो लागि फूलहरु पठाऊ।" ले चरितार्थ गर्दछ ।

मानिस मृत्यु देखि होइन, जीवन पाउँदा पनि जिउन नसक्नुसंग डराउनुपर्छ । किनकी मृत्यु भन्दा भयानक हुन्छ जीउन नसक्नु ।

एरनेस्ट हेमिंगवे भन्छ्न्--" हरेक मान्छे बाँच्छ र मर्छ । तर, ऊ कसरी बाँच्छ र कसरी मर्छ भन्ने कुराले मानिसहरुको अलग अलग परिचय बन्छ।" त्यसैले बाँच्दा र मर्दा एउटा गतिलो परिचय छोड्नुपर्छ ।

नेपोलियन बोनापार्टको सुझाव छ --"मृत्युका कारणले होइन, उसले गरेको कामको कारणले व्यक्ति सहिद हुन्छ ।" वास्तवमा काम नै कामको प्रमाण हुन्छ ।

दिनहरु नगन गणनिय बनाऊ । गन्ने कुरा केही छैन भने उमेर पनि नगन भनेजस्तै होरेस मन भन्छ्न्-- "मानवताको लागि केही काम नगरुन्जेल मर्नको लागि पनि लाज मान ।" हुनपनि त्यतिकै मर्नु लाजमर्दो बिषय हो । बाँच्नुको निसारता हो ।

मृत्यु संसारको एकमात्र सत्य हो । जीवन जस्तै मृत्यु पनि कला हो ।जसको खास अर्थ  र महत्व हुन्छ ।

मृत्यु कै सन्दर्भमा हेय न्युटन भन्छ्न्--" म महान मृत्यु संग डराउँदिन, तर कुनै अर्थ र महत्व नबोकेको मृत्युसंग डराउँछु ।"

मानिस उर्जा हो मर्दैन्, रुपान्तरण हुन्छ । लेखक पाओलो कोएलो भन्छ्न्-" मानिस भनेकै उर्जा हो । उर्जा मर्दैन् रुपान्तरण हुन्छ । त्यसलाई मृत्यु ठाँन्नुहुन्छ भने मेरो केही भन्नू छैन ।"

एल्ज्यान्ड्रो भन्छ्न्---"जीवन र मृत्यु भ्रम मात्र हो । हामी सबै रुपान्तरणको प्रक्रियामा छौं ।" बास्तवमा हो, म पनि भन्छु--"मृत्यु त कायरहरुको हुन्छ, साहसिहरुको त रुपान्तरण नै हुन्छ ।"

एकट ट्ल्सले आत्महत्या गर्न लाग्दा आफैलाई गरेको प्रश्नले बचाँएको कुरा छ । "मानिस उर्जा हो उर्जा मर्दैन रुपान्तरण हुन्छ भनेपछी स्वयंलाई कसरी मार्न सकिन्छ ? मैले मेरो जीवनलाई मार्ने ? जीवनलाई मारे पनि म रहन्छु । त्यसैले आत्महत्या गर्नु निरर्थक छ ।" उनको यो अमरभावको कुरा र प्रकार्यले संसारलाई मानव अमर छ भनेर संदेश दिएको छ ।

मृत्यु जीवनको एउटा गतिलो योग्यता हो । मृत्युसंग कायर मान्छे जीवनसंग पनि कायर हुन्छ । वास्तवमा मार्टिन लुथर किङ्गको--"यदि कोही व्यक्तिले आफू कुनै एउटा कुराको लागि ‘मर्न पनि तयार छु’ भन्ने सोच राख्न सक्दैन, ऊ जिउनको लागि पनि योग्य हुँदैन "भन्ने भनाई मलाई सत्य लाग्यो। अझ मलाई त जर्ज प्याटनको यो भनाई " म मानिसको सफलतालाई आकाशमा कति माथी पुग्यो भनेर नाप्दिन, धर्तिमा थचारिएपछि कसरी र कति माथि उठ्यो भनेर मात्र जाँच्दछु" ले एउटा आकार दिएको आभास भयो ।

संसारमा तिमी भन्दा अरुनै दु:खी हुन्छ । दु:ख क्षणिक हुन्छ । मृत्युले दु:खलाई सधैको लागि समाप्त पार्छ । तपाईले मृत्युलाई स्वीकार गर्नु भो भने मृत्यु टाढा भाग्छ । जीवन मिल्छ, अति सुन्दर जीवन । भनिन्छ, तिमी जिज्ञासाको अनुभव लिन या खोजी गर्न, आफूलाई गुमाउन या अर्पण गर्न तथा अनन्त धैर्य या प्रतीक्षा गर्न तयार हुने र अभ्यास गर्ने हो भने मृत्युलाई जित्न सक्छौँ ।

रजनिस ओशो भन्छन्-- "जसले मर्ने कला सिकाउँछ, ऊ बाँच्ने कलामा पनि निपूर्ण हुन्छ।जो मर्नको लागि राजी हुन्छ, ऊ परम जीवनको पनि अधिकारी बन्छ । जो मेटिन जान्दछ ऊ मात्रै रहन पनि जान्दछ ।" जसरी एउटा बिजको मृत्यु पछि रुखको जीवन शुरु हुन्छ ।

त्यही रुखमै बिजको अंश पनि हुन्छ । त्यस्तै जीसस क्राइष्टले भनेका छ्न्--"जसले आफूलाई बचाउँछ,ऊ विलीन हुन्छ, जसले आफूलाई मेटाउँछ,उसलाई मेटाउने कोहि हुदैन् । जसले आफूलाई हराउँछ, उसले पाँउछ जसले आफूलाई बचाउँछ, ऊ हराउँछ ।"

मृत्युले खोज्ने एकथरी मान्छे हुन्छ्न्।जो मृत्यु देखि डराउछ्न् , अहंकारी हुन्छ्न् र मृत्यु देखि भाग्छ्न् । तर जति छिटो भाग्छ्न् त्यति छिटो नै मृत्युले खोजेर पक्रन्छ। मृत्युुले खोज्ने अर्को थरी मान्छे देखि मृत्यु नै भागी भागी रहन्छ । अनन्त कालसम्म पनि मृत्युले पाउँन सक्दैन्।

यहि नियम माँयामा पनि लागू हुन्छ। स्वामी रामदेव भन्छ्न्-- "यो दुनियाँको नियम छ की जो यहाँ मायाँलाई धेरै चाहान्छ्न् माँया ब्यक्ति नै अगाडी अगाडी भाग्दछ तथा जो माँयाको त्याग गर्छ्न्,माँया उनिहरुको पछि छोडिन्छ।" हो,जसरी प्रेमको त्याग गर्दा प्रेम मिल्छ त्यसरी नै जीवनको त्याग गर्दा जीवन मिल्छ। हो, जो प्रेममा साच्चै समर्पित हुन्छ, उसले मृत्युलाई पनि जित्छ । जसरी रोमियो र जुलिएटको प्रेमको अगाडी मृत्यु हार्‍यो,जीसस क्राइष्ट्को अघि मृत्यु निरीह भयो।कायर भयो।त्यस्तै सोक्रेटसको अगाडि पनि मृत्यु लगलग काम्यो । यी अवस्थामा मृत्यु स्वयं मर्‍यो ।

कृष्णले अर्जुनलाई भन्छ्न्--"तिमी भयभित नहोऊ।हामी धेरै अगाडी देखि नै रहेकै छौँ । जगतमा कोही नष्ट हुदैन् । हामी अनन्त सम्म रहन्छौँ ।" मृत्युमा बाहिरको उर्जा खिचिएर भित्र जान्छ र नयाँ अणु बन्छ भन्नेहरु पनि छ्न् । म पनि पूर्विय मुल्य, मान्यता र आस्थामा विश्वास गर्न हुदा आत्मा वा चेतना अमर छ । शरीर नासवान छ तर यो पनि ब्राह्मण कै अंश हो र त्यही बन्छ जो पहिला थियो भन्ने लाग्छ ।

कृष्टिना रोसेटिले 'जब म मर्छु मेरो प्रिय' शिर्षकको बिश्व प्रसिद्ध कविता लेखेकी छिन्।उनी यसरी लेख्छिन्--

जब म मर्छु मेरो प्रिय
मेरो लागि कुनै पनि दु:खि गीत नगाउनु,
मेरो शिरमा तिमीले कुनै पनि गुलाव नरोप्नु
न त छाँया दिने साइप्रसको रुख:
म माथी हरियो गाँस उम्रीयोस
मसिनो पानी र सितका थोपासँगै
यदि तिमी सक्छौँ भने, सम्झनु
यदि तिमी सक्छौँ भने,बिर्सनु ।
म प्रतिबिम्ब देख्ने छैन्
म वर्षा महशुस गर्नेछैन्
मैले बुलबुलको गाथा सुन्ने छैन्
गाइरहनु जसै दु:खमा पर्दा
गोधूली सपना देखिरहनु
त्यो न त उदाउँछ न त अस्ताउछ नै
संयोगबस: म सम्झने छु
संयोगबस: म बिर्सिने छु।

देवकोटाले पनि आफ्नो अन्तिम कविता मृत्यु शैयाबाट आफ्नो अन्तिम अनुभवलाई यसरी अभिब्यक्त  गरेका छ्न् :

"संसार रुपी सुख स्वर्ग भित्र
रमें रमाएँ लिइ भित्र चित्र
सारा भयो त्यो मरुभूमी तुल्य
रातै परे झैँ अब बुझ्छु बल्ल।
रहेछ संसार निशा समान
आएन ज्यूँदै रहँदा नि ज्ञान
आखीर श्रीकृष्ण रहेछ एक
न भक्ती भो,ज्ञान,नभो विवेक।
महामरुमा कण झैँ म तातो
जलेर मर्दो विनु आश लाटो
सुकी रहेको तरु झैँ छु खाली
चिताग्नी तापी जल डाल्न फाकी।
संस्कार आफ्नो सव नै गुमाएँ
म शून्यमा शून्य सरी विलायँ
जन्मेँ म यो स्वर्ग विषे पलाएँ
आखीर भै खाक त्यसै विलाएँ ।"

मर्ने चिन्ता ले मानिस मर्छ।मोन्टाइग्न भन्छ्न्-- " कसरी मर्ने तिमीलाई थाहा छैन् भने  चिन्ता नगर।प्रकृतिले तिमीलाई ठाँउमै भन्ने छ । तिनीले पूर्णरूपमा तिम्रो लागि कार्य गर्ने छिन्।यसमा तिमी टाउको नदुखाउँ ।" त्यस्तै मार्क ट्वाइन भन्छन्--"मर्ने डरले जीवनको डरलाई पछ्याउँछ । कुनै समय मर्नको लागि मानिस पूर्णरूपमा जीउछ ।"

नित्से भन्छ्न्- "गर्वका साथ मर्न सकिन्छ तर गर्वका साथ बाँच्न सकिन्न।" भूपी शेरेचनले त्यसै भनेका होइनन् "मैले पिएकोमा रिसाएका साथीहरू,पिएर त हेर, पिउन झन् गाह्रो छ । मरेर शहीद हुनेहरू, जिएर त हेर, जिउन झन् गाह्रो छ !"

नोरम्यान कौसिन गम्भीर खुलासा गर्छ्न् --"मृत्यु जीवनको ठूलो क्षति होइन्,ठूलो क्षति त त्यो हो जुन हामी बाच्दै भित्र भित्रै मर्छ।" भनिन्छ,चिताले त मरेकोलाई मात्र जलाउँछ,चिन्ताले त जिउदै जलाउँछ । यो पनि भनिन्छ, आत्मबिश्वासी,ईश्वर बिश्वासी, धैर्यवान र साहसी मानिस कहिल्यै तनावग्रस्त हुदैनन्। अझ जोन रस्किन त धैर्य त सर्वशक्ति एवं उल्लासको बिज मान्छ्न। आइन्स्टाइन भन्छ्न्-- "अन्तिम घडी त आउने नै हो भने कहिले आउला भनेर चिन्ता किन गर्ने?" स्वेट मार्डनको भनाई मलाई यहाँ सान्दर्भिक लाग्यो--"चिन्ताले आजसम्म कहिल्यै कुनै काम पूरा गर्न सकेन।" मेरो पनि सुझाव छ-- "मरिसकेको दिन हिजोको र जन्मदै नजन्मिने भोलीको बारेमा चिन्ता गरेर आजको स्वर्णिम दिनलाई खल्लो नबनाऊँ।"

मार्टिन लुथर भन्छ्न्--" हरेक मानिसले एक्लै दुइवटा चीज गर्नैपर्छ ती हुन्-- आफ्नै विश्वास र आफ्नै मृत्यु ।"  लियोनार्दो दा भिन्ची भन्छ्न्--"जब म कसरी बाँच्नु भनेर सोच्थे,मैले कसरी मर्नुपर्छ भनेर सिकेको छु।" जवकी सोसिल रोड्स भन्छ्न्-- "यतिमात्र गर्न सकियो कति धेरै बाँकी रह्यो।" त्यस्तै ईश्वरसंग आक्रोश पोख्दै मेल्भिन भन्छ्न्--" हे काल ,शक्ति सम्पती र धैर्य म अरु गर्न सक्दिन् ईश्वरले मलाई ठुलठुला काम गर्न नदिउन्, रोकुन्।"

जोल ओस्टिन हामी सँग भएको बिकल्प प्रयोग गर्न सुझाउदै भन्छ्न्--"तिमीले शब्दहरु बदलेर तिम्रो संसार परिवर्तन गर्न सक्छौँ। सम्झ मृत्यु र जीवन जीब्रोको शक्तिमा छन्।" त्यस्तै स्वर्ग र नर्क भन्ने पनि मनमा छ । बिचारमा छ ।

अवश्यम्भावी मानिएको र रहस्यमय मानिएको मृत्युको बारे अन्तरमनको यात्रामा जगदीश धिमिरे लेख्छ्न--"कसैको जीवनको टुङो छैन तर मेरो जीवनको टुङो छ।"हुनपनि उनको मृत्युको दिन तोकिएको थियो।त्यसपछि उनी कसरी बाँचे हुन्? अन्तरमनको यात्रामा ज्ञानु पाण्डेले भने जस्तै मैले  माइलोमालाई मात्र देखे, त्यसैको अभिव्यक्ति हो यो र त्यसैले मरे  भन्ने जस्तो त मलाई लाग्दैन् यो लेखिरहदा उनि खै अर्कै रहस्यमय शक्तिले अझैपनि यँही कतै छन भन्ने मलाई लाग्दैछ।

हुनपनि मानिससगँ मृत्युको रहश्य खोल्ने चावी छैन्,सायद ईश्वरले बन्चित गरेका छ्न्। तथापी अमरताको लामो यात्रामा मान्छे रातदिन लागि परेको छ। तर मृत्युको रहश्य पत्तानलगाई यो यात्रा संभव हुने पक्कै छैन्। मृत्यु पत्तालगाउन त्यसको बोध र साक्षत्कार हुनु पर्दछ। यो चानचुने कुरा होइन्।

कसरी माहात्मा गान्धीले गोली लागेपछी हे राम भन्न सके ? कसरी योगानन्दले सभा बोलाएर अब म यो संसारबाट बिदा लिन्छु भनेर गए ?  त्यस्तै कसरी जानकारी दिनेसाँथ शिवपुरी बाबाले चोला फेरे ? यो सबै मृत्यु माथिको बोध र बिजय हुनुपर्छ ।

कुन शक्तिले अनिता मुर्जानी मरेर पुन: नयाँ भएर बाचिन ?  र बिश्व प्रसिद्ध भइन् । त्यस्तै कुन शक्तीले इभेन अलेक्जेण्डर मरेर पुनः बाचेर विश्व प्रसिद्द भएका छ्न् ।

बास्तवमा हामीले मृत्युको कला सिक्यौँ भने मात्र जीवनको कला सिकेको बुझिनेछ। जीवनको सुन्दारता बढाउन मृत्युको बोध हुनु आवश्यक छ । प्रेमको उत्कर्ष अन्धोप्रेम र विश्वासको उत्कर्ष अन्धविश्वास भए झै मृत्युको उत्कर्ष जीवन हो भन्ने बोध सबैलाई बेलैमा होस् ।

सम्बन्धित समाचार

डर भनेको के हो ? कसरी भगाउने ?

डर भनेको कुनै भयङ्कर वस्तु देखेर वा खराबीको आशङ्काले मनमा उत्पन्न हुने भाव; भय; र त्रास हो । खास दुखाई र खतराको संबेदनसिल अनुभवको भाव हो । डरको समानार्थी शब्द

सफलताको सुत्र

सफलता शब्दमा `अ´ उपसर्ग लागेर "असफलता" को ब्युत्पती हुन्छ । यहाँ  `अ´ ले विपरीतता, भिन्नता, अभाब जस्ता अर्थ बोक्छ। यो देवनागरी लिपीको स्वर बर्णको पहिलो अक्षर हो। बिष्णुलाई बुझाउने  ध्वनि

किन मनाइन्छ तिहार : यस्तो छ तिहार पर्वको महिमा

काठमाडौँ । तिहार हिन्दु धर्मावलम्बीहरुको दशैं पछिको सबैभन्दा ठूलो सिंगो नेपाली मानव सभ्यताकै सांस्कृतिक पर्व हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक

समृद्धिका चार शुत्र

समृद्धिले सम्पन्नतालाई जनाउँछ । समृद्धि भनेको धनधान्य आदिले सम्पन्न हुनुको भाव हो । उन्नति र प्रगति हुनु हो । हरेक नेताको भाषणमा नछुट्ने शब्द पनि हो– समृद्धि । नेपालका राजनीतिक


z