• २०८१ बैशाख १३ बिहीबार

घनश्यामज्यूलाई शुभचिन्तकको पत्र : दलाल पुँजीबाद सिंहदरबारबाट भागोस् !    

kharibot

तस्बीर : रासस

माननीय भुसालज्यू

तपाइँ कृषिमन्त्री बनेको खबर सुनेर अचानक रुची नभएको विषयमा पनि एकाएक रुची पलाएर आयो । हुनत नेता सांसद सिंहदरबार पसेपछि देशमा परिवर्तन ल्याउनेभन्दा आफै परिवर्तन भएर बाहिरिएको अहिलेसम्मको इतिहास छ । तर तपाईको बारेमा अझै यो धारणा बनाई हालेको भने छैन ।

तपाइँका केहि विचारोत्तेजक भाषण र लेख पढेकी छु । यस्तो मान्छेलाई किन मन्त्री या प्रधानमन्त्री नबनाएको होला भन्थे ति पढ्दा । अहिले जुनसुकै पृष्ठभूमिबाट भएपनि नेकपाको सरकार बनेको २१ महिनापछि तपाई देशको कृषिमन्त्री बन्नु भएको छ । यो खबरले मेरो मनमा अनेकौ प्रश्न उठ्यो । जुन स्वाभाविक नै थियो ।

विद्यालयको पाठयक्रमदेखि ठुला नेताका भाषणसम्म नेपाल कृषि प्रधान देश भएको कुरा पढ्दै र सुन्दै आएको छु । अहिले हाम्रो अवस्था भारतले प्याजमा प्रतिबन्ध लगाउदा यता प्याजको मुल्य चार गुणा बढेको छ तर खान छोडिएको छैन । भोलिका कर्णधार बालबालिका पाउडर हालेको दुध खान बाध्य छन् तर किसानले उत्पादन गरेको दुध बिक्रि नभएर सडकमा पोख्नुपर्ने अवस्था छ । किसानका उत्पादनको मुल्यको त कुरै नगरौ खेती लगाउदा चाहिने मलखाद कहिल्लै पर्याप्त उपलब्ध भयो भन्ने अहिलेसम्म सुनिएको छैन ।

हाम्रो किचनमा हरेक दिन पाक्ने तरकारीदेखि चामल सबै विदेशी हुदा पनि हाम्रो कृषि प्रधानको च्याप्टर अझै हाम्रा पाठ्यक्रममा छ । तपाइँ सिंहदरबार पुग्दा तपाइको स्वागतमा ल्याएको थुगे फूलदेखि घरको कौसीमा सजिलै फलाउन सकिने खुर्सानी, धनियामा हामि विदेशीप्रति आश्रित भएका छौ शायद तपाइको पनि अवस्था यस्तै हो ।

यी त मोटामोटी विषय हुन जुन म जस्तो सामान्य नागरिकले हरेक दिन महसुस गरेकी छु । अझ तपाइको भाषामा भन्ने हो भने त 'दलाल पुँजीवाद' को असर अहिले हाम्रो किचनदेखि किसानसम्मलाई परेको छ ।

तपाइँ त अहिलेको कृषिमन्त्री र यस अघिको एउटा बौद्धिक नेता । अब तपाइले भन्ने गरेका दलाल पुँजीवादीको दोहो काढ्ने ठाउमा पुग्नु भएको छ । धादिङका किसानले उत्पादन गरेको तरकारी बिच बाटोमा चार ठाउमा बेचिन कहिले देखि रोकिएला ? भारतबाट आइरहेको विषादीयुक्त तरकारी त तपाई मन्त्री भएको दिन नै निर्णय गरेर रोकिन पर्ने होइन र ? अझै पनि ढिला भएको छैन निर्णय गर्न नडराउनु होला । 

तपाइँले कार्यभार सम्हाल्दै गर्दा तपाईले भनेका दुई वटा शब्द 'लोभ र डर' को प्रसंगले मेरो दिमाग घुम्यो । अत्यन्त साधारण भाषामा तपाइले हाम्रो राजनीतिको मुख्य दुश्मन लोभ र डरमाथि आक्रमण नै गर्नु भयो । तपाइको यो भनाई सुनेपछि मैले मेरो किचन सस्तो हुने र विषादीरहित हुनेसम्मको कल्पना गर्न भ्याए । किसानले दुध सडकमा पोख्नु नपर्ने दिन आएको सम्झे । विदेशी भूमिमा आफ्नो श्रम बेचेर बसेको युवा नेपाल फर्केर किसान बन्ने अठोट गरेको सम्झे । 

हुन त तपाइँ आउदैमा सबै समस्या समाधान हुन नसक्लान तर तपाइँको पृष्ठभुमि र छबिले सिंहदरबारमा कागको भिडमा सेतो बकुल्लो घुसे जस्तो देखिएको छ, जसलाई सबैले 'नोटिस' गरेका छन्, मैले जस्तै ।

हुन त सरकार बनेको २१ महिनामा अनेकौ प्रकरण काण्डले दुई तिहाइको ऐतिहासिक सरकारलाई नै बिटिलो बनाएका छन् । पार्टीको नेताको हैसियतले तपाई पनि सबै प्रकरण-काण्डका साक्षी भएकै हो । तर अहिले ति काण्डहरुलाई नजिकबाट हेर्न सक्ने ठाउमा जानु भएको छ । अब भन्नु होला नजिकबाट हेर्दा कस्तो देखिने रैछ ।

साधारण सांसद भएर भाषण गर्दा र मन्त्रीको कुर्चीबाट दलाल पुँजीवादको चेहेरा कस्तो देखिने रैछ समयक्रममा बताउनु होला नै ।

हुनत यस अघि पनि छोटो समयका लागि मन्त्री बन्नु भएकै हो तर अहिलेको प्रसंग र अवस्था विल्कुल फरक छ । तपाईका अगाडी यति धेरै चुनौती छन् भनेर डर देखाउन चाहन्न किनकी तपाइँ डराउदिन भन्नु भएको छ तर लोभ भने देखाउन चाहन्छु । त्यो लोभ दलाल पुँजीवादीको घेराउमा परेर फागुनको पुनर्गठनमा परेर समायोजनमा बाहिरिनेमा तपाइँ नपर्ने गरि काम गर्नु होला शुभकामना छ ।

अहिले तपाइँलाई मन्त्री बनाउनुमा तपाइ पहिलो रोजाईमा भएर वा सरकारको रेस्क्यु गर्न भनेर अवश्य होइन भन्ने मेरो बुझाइ छ । अहिले तपाइँ मन्त्री बन्नुमा तपाइँले आफ्नै सरकारको धेरै विरोध गर्नु भयो, काम गर्न नसकेको आरोप लगाउनुभयो अब आउनुस गरेर देखाउनुस्, हामि कस्तो ठाउ र अवस्थामा बसेका छौ भनेर चुनौती दिन मन्त्री बनाएको मेरो बुझाई छ, म गलत हुनसक्छु ।

त्यसैले तपाइँ लोभी बन्नुस् र कम्तिमा अबोध बालबालिकाले खाने दुधको पाउडर बन्द गरेर किसानलाई गाइभैसी पालन गर्न प्रेरित गर्नुस्, किसानका तरकारी बारीमा डोजर लगाएर भारतीय बन्दाको धन्धा बन्द गराउनुस् । खेत बाझै राखेर खाडीमा श्रम गरेको किसानको छोरालाई देश फर्केर किसान बन्न प्रेरणा दिनुस् । त्यसपछि तपाइले भन्ने गरेको दलाल पुँजीबादले सिंहदरबार आफै छोड्ने छ ।

शुभचिन्तक 
सोनी थापा
काठमाडौँ

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै