• २०८१ बैशाख ७ शुक्रबार

जोकर म भएँ की जकिन फोनिक्स ?

kharibot

काठमाडौँ । साथिले आफू एक्लै गएर जोकर फिल्म हेरेको, फिल्म राम्रो लागेको कुरा ट्विट गरिकन दोहोर्याएर हेरेको पनि ट्विट गर्न भ्याइसकेको थियो ! आफुले भने एकचोटी हेर्ने साइत पनि जुराउन सकेको थिइँन ।

हामी ३ थियौं । हामी तिनै जनालाई जोकर भन्ने अंग्रेजी फिल्म हेर्न एक्दमै मन थियो । शो टाइम नेपालको वेब पेज हेरेर ६:१५ को शो सिटि सेन्टरको बिग मुभिज मा हेर्ने साइत जुराइयो ।

काम सकेर छिट्टै निस्कने भन्दा भन्दै ६ बज्नै लागिसकेछ ! हतार हतार निस्कियौं, ६ बजेर ८ मिनेट गैसकेको थियो, ढिलो भैसकेछ । फटाफट हिडेउ सिटि सेन्टर पुग्न....
टिकट लिने लाइन लामो रहेछ । फिल्म चलेको २ हप्ता भैसकेकोले टिकट त सजिलै पाइएला नि भन्ने सोचेका  थियौं, तर त्यस्तो रहेनछ ! सानो जिउ भएको मान्छे म....भिडमा लुसुक्क छिर्न सजिलो पनि हुने....टिकट लिने भिडमा लुसुक्क छिरेर टिकट बेच्ने भाइलाई सोधेँ ६:१५ को शो, जोकर को टिकेट छ ? 

६:१७ भैसकेको थियो !

उसलाई भ्याइ नभ्याई थियो टिकट बेच्न, लगभग १० मिनेट पछाडि उनले फुर्सद पाए मेरो प्रश्न सुन्ने । फेरि सोधेँ "६:१५ को शो, जोकर को टिकट छ ?" 

'दुईटा मात्रै छ, तर तिम्लाई दिन मिल्दैन' 

किन ?  भनेर मैले सोध्न नभ्याउदै पछाडि उभिएका एकजानाले भने 'मलाई दिनु दुइटा टिकट' उ चाहिँ खुसी भएर गयो । म अचम्ममा परेको थिएँ मलाई चै किन टिकट दिन मिल्दैन ! सोधेँ 'किन ?'

'तिम्लाई भित्र छिराउदैन' टिकट बेच्ने भाइले भने झल्यास्स सम्झिएँ....उस्ले मेरो प्रश्न सुन्ने फुर्सद नपाएको समयमा टिकट लिने झ्यालको सिसामा टासिएको सूचना हेरेको थिएँ "जोकेर सिनेमा ए रेट गरिएको सिनेमा हो । आफ्नो सहि परिचयपत्र देखाएर १८ बर्ष भएको प्रमाण दिनुहोला !"

'भाइ म १८ प्लस ५ पनि भैसकें ! नागरिकता पनि छ मसँग ।'

म १८ बर्ष भैसकेको प्रमाण पेश गरेँ । दिदि हुन साह्रै खुसि लाग्ने मलाई एक किसिमको रिस नै उठ्यो उसले त्यसो भन्दा !

भिडबाट निस्किएँ, साथीहरूले सोधे 'के भयो?' 

'टिकट छैन रे भएनी मलाई दिन मिल्दैन रे !' मैले भने 

म तिर उनीहरुको प्रश्न तेर्सियो 'किन नि ?'

मैले सिसामा टासिंएको सुचनातिर औंला देखाइदिएँ....एकछिन् हाँसोको फोहोरा नै छुट्यो । टिकट लिने लाइन बसेकाहरुले पनि हाँस्न भ्याए । जोकर फिल्म हेर्ने टिकट नपाइएको पिर त छँदै थियो ।

आज जसरी पनि जोकर हेर्ने नै हो भनेर हिडेका थियौं हामी । एक चोटि कुमारी हलमा सोधी हेरौँ न त भन्ने सल्लाह भो र उतै लागियो...... फेरि पनि  मैले नै सोधेँ 'जोकर को कुनै शो छ ?'

'छ' भन्ने जवाफ ले नै म दङ्ग भैसकेको थिएँ 

फेरी सोधेँ 'कति बजेको छ ?'

'६:४५ को छ ।' उनले भने

घडी हेरे ६:३० मात्रै भएको रहेछ, फिल्म सुरु देखिनै नछुटाई हेर्न पाइने भैइयो, खुशी अझै थपियो र भने 'तीन ओटा दिनु न ' उनले सिट छान्न भने, अगाडीको दोस्रो लाइनमा मात्रै बाकी रहेछ । मैले बि को ८/९/१० सिट नंबर छानेँ  ।

'४ सय ५०/-' उनले टिकटको पैसा पनि भने । ओहो मख्ख परे म त !

आज पनि छुट रहेछ । बुधबार क्युएफएक्स मा छुट पाइन्छ भन्ने त थाहा थियो तर विहिबार पनि पाइन्छ भन्ने चाँहि थाहा थिएन । फिल्म हेर्न जाँदा प्राय बुधबार नै फुर्सद मिलाउछौँ हामी, किनकि बुधबार बिग मुभिज सिटि सेन्टरमा १ सय ८५ र क्युएफएक्स को कुमारी र जय नेपाल हलमा १ सय ५०/- मा नै फिल्म हेर्न जो पाइन्छ । 

टिकट सस्तोमा पाइयो तिनैजना मख्ख भयौ खासमा । अझै अर्को कुरा यता मैले आफु १८ वर्ष भएको प्रमाण पेश गर्न परेन !

अझै समय बाँकी नै रह्रयो....भोक पनि गजब कै लागेको थियो ..... २ बजे खाएको हाल्फ प्लेट चाउमिनले धर्म छोडिसकेको थियो । खानेकुरा किन्ने लाइन बस्दै खानेकुराको रेट हेरेर हिसाब गर्न भ्याइसकेको थिएँ मैले । स्मल पपकर्न १ सय १०/- चक्लेट दुनोट १ सय २०/- सुचिको सबैभन्दा सस्तो अनि मसङ्ग भएको पैसाले यतिनै आउने रहेछ । लाइन बसेर त्यति किन्न पनि भ्याएँ । चिज नभएको पपकर्न खानुपरेकोमा सोनीको भने अनुहार ठुस्किएको थियो । 

सरसफाइको काम हुँदै रहेछ एकछिन बाहिरै बस्यौं र केही बेरमा हल खुलेपछि  हाम्रो टिकेट को सिट न. हेरेर तिनैजाना म, सोनी र पुष्पा क्रमश बि को १०/९/८ नम्बरको सिटमा बस्यौं । एकैछिनमा खाइलाग्दो जिउडाल, श्याम वर्णको हसिलो अनुहार गरेको सन्दिप क्षेत्री जस्तै देखिने मान्छे र अरु दुई जना मान्छे पनि हाम्रै लाइनको सिटमा आएर बसे । टिभी मा हेर्दा गोरो देखिने सन्दिप मैले अलि कालो देखेँ । छेउमा बसेकी साथी पुष्पालाई सोधेँ, 'यो मान्छे सन्दीप क्षेत्री नै हो त ?'

'हो' उनले भनिन् 

अलि नपत्याएको भावमा भनेँ 'साच्चै हो त भन्या ?' 

'नपत्याको ? गएर सोधन एकपटक, मैले त धेरै पटक भेटेको पनि छुँ' पुष्पाले आफु स्पष्ट हुँदै बताइन् ।

'साँच्ची हो त, सोधम् ?' मैले भनेँ

'अँ सोध न' उनले भनिन्

फिल्म सुरु भैसकेको थिएन

आ सोद्दिन्छु एकचोटि, मनमा तुलबुल रहनुभन्दा एकपटक सोधे पछि आनन्द भन्ने सोचेँ । खाँदै गरेको चक्लेट दुनोट सथिलाई समाउन दिएर सन्दिप क्षेत्रीको अगाडि उभिएर भनेँ - 'सुन्नुन'

अलि  गम्भिर भावमा उनको जवाफ आयो - 'भन्नुन'

उनले भन्नुन भन्ने स्विकृति दिइसकेपछि मैले भनेँ - तपाई सच्चिकै सन्दिप क्षेत्री नै हो त? 

आश्चर्य भावको हाँसोसहित 'हो !' उनले भने, उनको हँसाइ पनि ठ्याक्कै टिभीमा देखिने सन्दिप क्षेत्रीकै जस्तो देखिन्थ्यो ।

हैन क्या, मैले तपाईलाई टिभिमा अलि गोरो देखे थेँ, यहाँ त अलि कालो देखेँ त्यहि भएर सोधेको....मैँले भने । 

उही हाँसो सहित जवाफ आयो..... 'यहाँ अँध्यारो भएर होला !' वरपरका सबै हाँसे...हाँसोको माहोल बन्यो फेरी एकपटक ।

म आफ्नै सिटमा फर्किएँ, अनि सुरु भयो फिल्म जोकर....

सिनेमामा जोकेर को एक्टिङ्ग गजब माने मैले, अनुहारमा जोकरको मेकअप, आँखामा गहिरो पिडाको भाव, आफ्नो जिन्दगी सङ्ग १ पल पनि खुशी नहुने ब्यक्तिको अट्टाहास हाँसो, एकैपटक त्यो सबै एक्सप्रेसन देखाउन सक्नु सानो कलाकारिता अवश्य हैन, कथावस्तु त्यस्तै गज्जब छ ।

आफ्नी आमालाई एकदमै माया गर्ने छोरा हुन्छन् जोकर, उनीहरु आमाछोरा नै एक अर्काको साहारा हुन्छन् । जोकरले आमाको राम्रो ख्याल राख्छ । आफ्नी आमाले सिकाए जस्तै अनुहारमा सधैँ मुस्कान राख्छ, जो आफ्नो पुरै जिन्दगिमा १ पल पनि खुसी भएको हुँदैन । 

बच्चामा उसलाई कमेडियन बन्ने रहर हुन्छ, उस्को कमेडियन बन्ने कुरा सुनेर सबै हाँस्थे त्यतिबेला तर जब उस्ले साँच्चै नै हँसाउन खोज्छ तब कोहि हाँस्दिदैनन् ।

उसलाई आफू बचेर भन्दा मरेपछि आफुले धेरै महत्व पाउछु भन्ने भान हुन्छ । यतिसम्म कि उसलाई आफू बाँचिरहेको छु कि छैन भन्ने कुरामा समेत कन्फ्युज हुन्छ ।

'मान्छे तिमीबाट त्यस्तो व्यवहारको अपेक्षा गर्छ जुन तिमी चाहदैनौ र हैनौ ।' जोकरले आफ्नो जीवनमा सिकेको पाठ हो यो ।

फिल्म मध्यान्तर हुन्छ....

सबै बाहिर निस्किन्छन् सन्दिप क्षेत्री र उनी सङ्गै रहेका अर्का दुई व्यक्ति पनि निस्किसकेछन् । आफ्नो पालो र काम सकेर हल भित्र जाँदा सन्दिप र उनी सङ्ग रहेका अरु दुई पनि आ-आफ्नो सिटमा बसिसकेछन्.....

उनको एकापट्टि छेउमा रहेका व्यक्तिले भने "सन्दिप यहि केटि हैन?" 

"हो" सन्दिपको जवाफ मेरो कानमा पर्यो ।

सन्दिपका नजिक २/३ वटा पङ्क्तिमा रहेका जोकर हेर्न आएका दर्शकहरु फेरि हाँसे गलल्ल....

फिल्मको बाँकी अंश सुरु हुन्छ......

जोकरकी आमा, जो उनलाई जन्म दिने आमा हुन्नन्, उनलाई भ्रममा रहने रोग हुन्छ । जोकर र उनकी आमा दुबै भ्रममा बाँचिरहेका हुन्छन् । जोकर पनि त्यस्तै रोगको कारण आफ्नो अनकन्डिस्नल हाँसो नियन्त्रण गर्न सक्दैनन्  । आफ्नो अनकन्डिस्नल हाँसोकै कारण ऊ कमेडियन बन्न सक्दैन, जोकरले कसैलाई हँसाउन सक्दैन ।

उसलाई आफ्नो जिन्दगी एउटा वियोगको कथा हो जस्तो लाग्छ तर अरुलाई त्यो हाँस्यास्पद कथा बनिदिन्छ ।

उ सँधै हाँस्छ तर खुशी  कहिल्यै पनि हुँदैन ! उस्को हाँसोको आवाज जति ठूलो सुनिन्छ त्यति नै भयानक पिडाले पिल्सिएको धुवाँको मुस्लो निस्किएको जस्तो भान हुन्छ ।

सिनेमा सकिएर घर फर्किन लाग्दा फेरि भेटिए सन्दिप क्षेत्री, उनी नेपालका नाम चलेका कमेडियन हुन्....

मौकामा उनलाई पनि केहि प्रश्न सोधु न त भन्ने लाग्यो र मनमा प्रश्न उब्जियो.....उनलाई कमेडियन बन्ने रहर कसरी पलायो ? केही त्यस्तो कथा छ कि उनको जीवनमा पनि ? अनि सोधेँ " तपाई पनि कमेडियन हुनुहुन्छ, तपाईलाई चाँहि कमेडियन बन्न के ले प्रेरित गर्यो, केही त्यस्तो सेक्रेट छ कि ?"

उनले यति भन्न भ्याए "म टिभिमा देख्दा मात्रै गोरो देखिन्छु नभए कालो, यति मात्रै हो मेरो सेक्रेट"

सायद उनलाई पनि म १८+ जस्तो लागिन होला ! मेरो अपरिपक्क प्रश्न गर्ने शैलीले पत्याएनन् सायद म उनलाई प्रश्न गर्न सक्ने खुबि भएकी मान्छे हुँ भनेर । अथवा उनलाई पनि रिस उठ्यो, मैले टिभीमा भन्दा कालो देखिनुहुन्छ भनेर सिनेमा हलमा सबैको अगाडी भनेकोमा ! यो उनै जानुन् ।

हामीलाई भने फर्किँदा बाटो भरि हाँस्न पुग्ने मसला पुगिसकेको थियो ! 

म भने सोच्दै थिएँ यो सबै घटनामा जोकर म भएँ की सिनेमाका पात्र जकिन फोनिक्स ???

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै