• २०८१ बैशाख ८ शनिबार

मंगलको जस्तै छन् पृथ्वीका यी क्षेत्र

kharibot

काठमाडौं । रातो माटोको जमीन, कालो ज्वालामुखीको लाभाले बनेको बालुवा र गहिरो सुख्खा घाँटी । यहाँ त्यस्तो स्थानको चर्चा हुँदै छ जहाँ पुग्दा पृथ्वीको सट्टा मंगल ग्रहमा पुगेजस्तै भान हुन्छ । 

यो उत्तरी आइसल्यान्ड हो । पृथ्वीका धेरै मानिस मंगल ग्रह भ्रमणमा जान चाहन्छन् । धेरै देशका अन्तरिक्ष संगठनले मंगल ग्रहमा विभिन्न यान पनि पठाइसकेका छन् । अमेरिका र रुसजस्ता देशले मंगल ग्रहमा मानिसलाई पठाउने तयारी गरिरहेका छन् । 

तर, जो यस्तो मिशनको हिस्सा बन्न सक्दैनन्, तिनीहरु लागि पृथ्वीका केही भागमा भ्रमण गरी मंगलको अनुभूति लिन सक्छन् । किनकि, पृथ्वीका केही भूभाग यस्ता छन्, जुन मंगलसँग धेरै मिल्दछन् । 

चिलीको अटाकामा मरुभूमि

चिलीको अटाकामा मरुभूमिमा पहिला तामाका धेरै खानी थिए । हाल ती खानी बन्द भइसकेका छन् । यो क्षेत्र चिलीको एन्टोफागस्टा सहरको दक्षिणमा छ । 

यो क्षेत्रलाई पृथ्वीको सबैभन्दा सुख्खा क्षेत्र मानिन्छ । वर्षौंसम्म यहाँ एक थोपा पनि वर्षा हुँदैन । औसतमा यहाँ वार्षिक १० मिलिमिटर वर्षा हुन्छ । त्यसैले यहाँको माटो अति सुख्खा छ । 

संसारको यस्तै ठाउँको खोजी तथा अनुसन्धान गर्ने वैज्ञानिक क्लेयर कजिन्स अटाकामा मरुभूमिको बाहिरी भूभाग मंगल ग्रहको धरातलजस्तै देखिने बताउँछन् । अहिले मंगल ग्रह पनि धेरै चिसो, सुख्खा, ढुंगैढुंगा भएको मरु ग्रह हो । 
यद्यपि, अटाकामामा त्यति गर्मी छैन जति मंगलमा छ । 

अटाकामामा राति तापक्रम शून्य डिग्री र दिउँसो ४० डिग्री सेल्सियससम्म पुग्छ । मंगल ग्रहको तापक्रम भने माइनस १९५ देखि २० डिग्रीको बुचमा रहन्छ । तर, अटाकामाको माटोको रङ मंगलको जस्तै छ । 

त्यसैले नासा र यूरोपेली स्पेस एजेन्सीले मंगल ग्रहमा पठाइने रोभरको परीक्षण यही क्षेत्रमा गरेका थिए । नासाले यहाँको माटो खनेर अचम्मलाग्दा ब्याक्टेरियाको खोजी गरेको थियो । मंगल ग्रहमा पनि त्यस्तै ब्याक्टेरिया पाइन सक्ने नासाको आशा थियो । 

म्याकमर्डो ड्राइ भ्याली, अतार्कटिका

अन्तार्कटिकाको नाम लिने बित्तिकै समुद्रमा तैरिरहेको बरफको पहाडको सम्झना आउँछ । तर, म्याकमर्डो ड्राई भयालीमा भने बरफ नै छैन । यहाँको औसत तापक्रम माइनस १५ देखि माइनस ३० डिग्रीको बीचमा रहन्छ । यहाँ दशौं लाख वर्षदेखि वर्षा नभएको वैज्ञानिकहरुको अनुमान छ । 

केही क्षेत्रमा हिउँको वर्षा भने हुन्छ । तर, हिउँको वर्षा पनि निकै कम हुन्छ र चिसोका कारण हिउँ पर्दापर्दै ग्यासमा परिणत हुन्छ । यस्तै अवस्था मंगल गह्रमा पनि हुन्छ । अन्तार्कटिकाको म्याकमर्डो ड्राई भ्यालीले हुरीबतासको आक्रमणलाई पनि सहन्छ । यहाँ हावाको गति ३२० किलोमिटर प्रतिघण्टासम्म पुग्छ । 

मंगलमा यति तीव्र हुरीबतास त चल्दैन । तर, जब त्यहाँ हुरीबतास आउँछ, त्यहाँको माटो धेरै हल्का भएकाले धुलोको मुस्लो नै आउँछ । 

मंगलमा तीव्र गतिको आँधीका कारण नासाको अपच्र्युनिटी रोभर नै खराब भएको थियो । यस्तो कठिन अवस्थामा पनि म्याकमर्डोमा भने केही कीटाणु अझै अस्तित्वमा छन् । 

हेंक्सविल, युटा, अमेरिका

दक्षिण पश्चिमी अमेरिकाको कोलोराडोमा सिम्रिक रङको ढुंगाले बनेको एक पठार क्षेत्र देख्न सकिन्छ । यो क्षेत्रमा अन्तरिक्षसम्बन्धी विभिन्न प्रयोग गर्ने गरिएको छ ।

हालसालै क्यानडा र बेलायतका अन्तरिक्ष वैज्ञानिकले यहाँ मंगल ग्रहमा पठाइने रोभरको परीक्षण गरेका थिए । 

क्यानरी टापु, तेनरिफ

स्पेनको प्रसिद्ध क्यानरी टापुको निर्माण करीब तीस लाख वर्ष पहिले एक ज्वालामुखी विस्फोटबाट भएको थियो । यो हाल विश्वका प्रसिद्ध पर्यटकीय क्षेत्रमध्ये एकमा पर्छ । 

यहाँ मंगल ग्रहको धरातलजस्तो अवस्था पनि देख्न सकिन्छ । टापुको ठीक बीचमा रहेको ज्वालामुखीको उचाइ ३,७१८ मिटर छ । यही ज्वालामुखीको विस्फोटबाट नै यो टापु बनेको हो । 

ज्वालामुखीको वरिपरि लाभाले बनेका गुफाहरु पनि छन् । यस्तै गुफाहरु मंगल ग्रहमा पनि हुन सक्ने वैज्ञानिकहरुको अनुमान छ । त्यस्तै, मंगल ग्रहमा भएका यस्ता गुफामा पानी पनि हुन सक्ने वैज्ञानिकहरुले अनुमान गरेका छन् । 

आइसल्यान्ड 

उत्तरी ध्रुवनजिकै रहेको यो क्षत्रे मंगल ग्रहसँग धेरै मिल्छ । यस क्षेत्रले हालको मंगल ग्रहका साथै त्यहाँको अर्बौं वर्ष पहिलेको अवस्थाको संकेत पनि दिन्छ । ज्वालामुखीको लाभाबाट बनेको गाढा रङको त्यहाँको माटोमा पानीको एक थोपा पाउन पनि गाह्रो छ । त्यसैले यहाँ केही पनि उम्रिँदैन । 

यहाँका चट्टानहरु मंगल ग्रहका चट्टानसँग धेरै मिल्दछन् । त्यसैले यूरोपेली स्पेस एजेन्सीले आइसल्यान्डमा आफ्नो मार्स रोभरको परीक्षण गरेको थियो । 

आइसल्यान्डबाट वैज्ञानिकहरुलाई मंगल ग्रहमा अर्बौं वर्ष पहिलेको अवस्थाको अनुमान पनि हुन्छ । यहाँको अवस्था धेरै हदसम्म मंगल ग्रहसँग मिल्ने र यहाँ रहँदा मंगल ग्रहमै भएको अनुभूति हुने वैज्ञानिकहरु बताउँछन् । 

पिलबारा, अस्ट्रेलिया

 

यो ढुंगै ढुंगाले भरिएको मरुभूमि मध्यपश्चिम अस्ट्रेलियामा फैलिएको छ । यो निकै सुख्खा क्षेत्र हो । यहाँका राता चट्टानको बीचमा प्रायः बालुवाको थुप्रो भेटिन्छ । 

यहाँको अवस्था मंगल ग्रहको अवस्थासँग धेरै हदसम्म मिल्छ । त्यस्तै, यहाँ चल्ने तीव्र हावा र साना नदीले मंगल ग्रहमै रहेको महसूस गराउने बताइन्छ । 

पिलबरामा संसारकै सबैभन्दा पुराना चट्टानहरु छन् । यहाँ करीब ३ अर्ब ४० करोड वर्षपूर्व उत्पत्ति भएका जीवको निशान पनि मिलेको छ । मंगल ग्रहमा पनि यस्तै वातावरण हुन सक्ने वैज्ञानिकहरुको अनुमान छ । 

बोल्बी, बेलायत 

बेलायतको उत्तरी क्षेत्रमा एक गाउँ छ । माथिबाट हेर्दा यो गाउँमा मंगल ग्रहसँग मिल्ने वातावरण त देखिँदैन । तर, यहाँको जमीनभित्र मंगल ग्रहमा जस्तै पोटास र नुनको खानी छ । यी खानीको सुरुङमाथि अचम्मलाग्दा संरचनाहरु बनेका छन् । खानी करीब एक किलोमिटरको गहिराइ मा छ । यहाँको नुनले कुनै पनि ब्याक्टेरियालाई जीवित रहन दिँदैन । यहाँ हेलोफाइल नामक केही जीव भने छन् । यस्ता केही जीव मंगल ग्रहको कष्टकर अवस्थामा पनि आवाद हुन सक्ने अनुमान छ । 

स्वालबर्ड नर्वे 

आर्कटिकको नजिकै रहेको यो पठार क्षेत्र रातो बालुवा र गिट्टीले भरिएको छ । यहाको माटो देखेर धेरैलाई मंगल ग्रहको सम्झना आउन सक्छ । 

आर्कटिकको नजिक हुनाले स्वालबर्ड धेरै चिसो पनि छ । धेरै देशका अन्तरिक्ष वैज्ञानिक यहाँ विभिन्न प्रयोगका लागि आइरहन्छन् ।

डोरसेट, बेलायत 

दक्षिणी बेलायतको यो तटीय क्षेत्र मंगल ग्रहसँग पटक्कै मिल्दैन । तर, यहाँको माटोमा अत्यधिक मात्रामा सल्फर पाइन्छ । 

यहाँ अचम्म लाग्दा धेरै प्रकारा ब्याक्टेरिया पनि पाइन्छन् । यहाँ बगिरहेको एक नदी अर्बौं वर्षदेखि बगिरहेको अनुमान छ । यस्तै नदी मंगल ग्रहमा पनि पाउन सकिने सम्भावना वैज्ञानिकहरुले देखेका छन् । 

यहाँको माटोमा फलाम पनि अधिक मात्रामा पाइन्छ । अम्लीय माटो, पानी र फलाम मिलेर हेमाटाइट नामक धातु बन्छ । मंगल ग्रहमा पनि हेमाटाइट पाउने सम्भावना छ । त्यसैले वैज्ञानिकहरु मंगलसम्बन्धी प्रयोगका लागि यो क्षेत्रलाई उपयुक्त मान्दछन् ।
यदि तपाईंलाई पनि मंगल ग्रहमा अभिरुचि छ भने यी क्षेत्रमा गएर आफ्नो इच्छा पूरा गर्न सक्नुहुन्छ । 

बीबीसी अर्थबाट   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै