• २०८१ बैशाख ८ शनिबार

आइफोनले ल्यायो नयाँ अपरेटिङ सिस्टम, जसमा छन् यस्ता खास फिचर

kharibot

काठमाडौँ । अमेरिकी प्रविधि कम्पनी एप्पलले उल्लेखनीय परिवर्तनसहित एप्पलका लागि नयाँ अपरेटिङ सिस्टम आईओएस१३ केही विशेष फिचरसहित ल्याएको छ । कम्पनीले आईओएस १३ बेटा १ भर्जन गत सोमवार सार्वजनिक गरेको हो । प्रयोगकर्तालाई विशेष अनुभूति दिलाउन आईओएस १३ मा विभिन्न नयाँ तथा खास फिचरसहित धेरै एपलाई अपडेट गरिएको एप्पलको भनाइ छ । आईओएसको पब्लिक बेटा भने आगामी जुलाईमा परीक्षणका रूपमा सार्वजनिक गरिने कम्पनीको भनाइ उद्धृत गर्दै टेकरडारडटकमले एक समाचारमा उल्लेख गरेको छ । 

आईओएस १३ पब्लिक बेटालाई आइफोन सिक्सएसदेखि माथिका मोबाइलले सपोर्ट गर्न सक्छन् । यसमा धेरै प्रकारका नयाँ फिचर छन् । तीमध्ये केही खास फिचरको यहाँ उल्लेख गरिएको छ :

डार्क मोड 

आईओएस १३ मा सिस्टमवाइड डार्कमोड उपलब्ध छ । यो आईओएसको एक विशेष परिवर्तन भएको एप्पलको भनाइ छ । लो लाइटको अवस्थामा डार्क मोड प्रयोग गर्दा आँखालाई निकै राहत मिल्नेछ । डार्क मोड कन्ट्रोल सेन्टरबाट म्यानुअल्ली अनअफ गर्न सकिन्छ भने प्रयोगकर्ताले सेड्युल बनाएर सनसेटमा अन र सनराइजमा अफ गर्न पनि सक्छन् । आईओएस १३ मा केही नयाँ वालपेपर पनि उपलब्ध छन् जुन डार्कमोडका लागि अनुकूल छन् । डार्कमोड सिस्टमअनुसार समायोजन हुने भएकाले यसलाई अधिकांश एपले सपोर्ट गर्ने अपेक्षा कम्पनीको छ ।

पर्फर्मेन्स बुस्ट 

एप्पलले आईओएस १३ मा प्रमुख पर्फमेन्स बुस्ट उपलब्ध गराएको घोषणा गरेको छ । कम्पनीले आईओएस १३ मा एपहरु आईओएस १२ भन्दा दुई गुणा छिटो चल्ने बताएको छ । त्यस्तै, एपस्टोरमा पनि एपहरु ५० प्रतिशत सानो बनाइएका छन् । पर्फर्मेन्स बुस्टकै लागि अपडेटेड एपहरु ६० प्रतिशतसम्म सानो बनाइएको उल्लेख छ । फेस आईडी अनलक पनि पहिलेकोभन्दा ३० प्रतिशत छिटो चल्नेछ । 

नयाँ इडिटिङ टुल र फोटो एपमा नयाँ फिचर

एप्पलले आईओएस १३ मा नयाँ इडिटिङ फिचर ल्याएको छ । यी फिचरले फोटोका साथै भिडियो इडिटमा पनि सहयोग पुर्याउनेछन् । आईओएसले प्रयोगकर्तालाई पहिलोपटक भिडियो इडिटको अवसर प्रदान गरेको हो । नयाँ इडिटिङ टुलमा ब्रिलियन्स, स्याडो, हाइलाइट, कन्ट्रास्ट, ह्वाइट ब्यालेन्स, परिभाषा, हल्ला नियन्त्रण जस्ता फिचर छन् । प्रयोगकर्ताले भिडियो पनि रोटेट गर्न सक्छन् । फोटो एपमा पनि विभिन्न अपडेट उपलब्ध छन् ।   

क्यामरा एपमा पोजिसन, लाइट, क्वालिटी, पोर्ट्रेट मोड आदि प्रयोगकर्ता आफैले मिलाउन सक्छन् । नयाँ आईओएस १३ मा हाइ की मोनो नामक पोर्ट्रेट लाइटिङ इफेक्ट उपलब्ध छ जसले सेतो ब्याकग्राउन्डमा मोनोक्रोमाटिक लुक्सका लागि सहयोग पुर्याउँछ ।

 

नयाँ प्राइभेसी फिचर 

एप्पल सुरु भएदेखि नै प्राइभेसीलाई उसले प्रमुख एजेन्डा बनाएको छ । यस नयाँ सिस्टममा अझै सहज र सुरक्षित अथेन्टिकेसन उपलब्ध गराइएको एप्पलको भनाइ छ । साइन इन विद एप्पल फिचरले प्रयोगकर्तालाई एप, वेबसाइट आदि लगइन गर्न अझै सहज बनाउनेछ । एप्पलको अकाउन्टले ती एप र वेबसाइट सीधै लगइन गर्न सकिन्छ । 

नयाँ आईओएस १३ मा फेस आईडी प्रयोग गरेर प्रयोगकर्ताले साइन गर्न सक्छन् भने कुनै व्यक्तिगत विवरण नखुलाई पनि नयाँ अकाउन्ट खोल्न सकिन्छ । एप्पलले प्रत्येक एपको प्रयोगका लागि छुट्टाछुट्टै व्यक्तिगत ईमेल एड्रेसको प्रयोग गर्न सकिने सुविधा पनि उपलब्ध गराएको छ । 

हराएको डिभाइस र आफ्ना प्रियजनलाई ट्र्याक गर्न नयाँ एप

एप्पलको फाइन्ड माई फ्रेन्ड र फाइन्ड माई आईफोन एपलाई समायोजन गरी फाइन्ड माई नामक एउटै एप बनाएको छ । नयाँ एपले प्रयोगकर्ताको एप्पल डिभाइसका साथै साथी, आफन्त, परिवार अथवा प्रियजनसँग भेट गराउनेछ । फाइन्ड माईले अफलाइन भएका डिभाइसलाई पत्ता लगाउन समेत सहयोग गर्छ । डिभाइस अफलाइन भएको खण्डमा फाइन्ड माईले ब्लूतुथको माध्यमबाट नजिकै रहेको आईओएस डिभाइस पत्ता लगाउन सक्छ ।  

रिमाइन्डर एपमा विशेष संशोधन 

आईओएस १३ नयाँ रिमाइन्डर एपसहित उपलब्ध छ । यसमा टुडे, सेड्युल्ड, फ्ल्याग्ड लगायत अप्सन छन् । नयाँ रिमाइन्डर सेट गरेपछि एपले अटोमेटिक नै समयको सुझाव दिन्छ । यसमा कन्ट्याक्टलाई पनि ट्याग गर्न सकिन्छ । ट्याग गरिएको व्यक्तिसँग वार्तालाप गर्दा एपले संकेत प्रदान गर्छ । 

क्विक पाथ किबोर्ड 

आईओएस १३ मा किबोर्डमा नयाँ स्विपिङ फङसन उपलब्ध छ । हामीले प्रयोग गर्ने थर्डपार्टी किबोर्ड जस्तै स्विफ्ट की, जीबोर्ड आदि जस्तै यसमा विभिन्न फङसन उपलब्ध छ । एप्पलले नयाँ आईओएसका लागि किबोर्डमा पनि केही खास फिचर उपलब्ध गराएको छ । क्विक पाथ नामक नयाँ किबोर्डले प्रयोगकर्तालाई किबोर्डमा स्विप गरी शब्द टाइप गर्न सहज बनाउनेछ । 

थप स्पष्ट डाटा र फिचरसहित म्याप 

म्याप एपलाई पनि पुनर्निर्माण गरिएको छ । नयाँ म्याप एपमा म्यापको बारेमा अझै धेरै जानकारी र तथ्य हुनेछ । एप्पलले लुक अराउन्ड इन द म्याप एप नामक फिचर उपलब्ध गराएको छ । यसले प्रयोगकर्तालाई कुनै स्थानको खोजी गर्दा ३डीको अनुभूति दिलाउनेछ । प्रयोगकर्तालाई आफ्नो निर्धारित समय र स्थान आफ्नो प्रियजनसँग सेयर गर्ने सुविधा पनि म्यापमा उपलब्ध छ । 

सिरिको नयाँ भोइस  

आईओएस १३ का लागि सिरिले नयाँ आवाज प्राप्त गरेको छ । अब सिरिको आवाज कम रोबोटिक र बढी प्राकृतिक लाग्नेछ । विशेष गरी लामो वाक्य उच्चारण गर्दा यसको अनुभूति हुने बताइएको छ । यद्यपि, आवाज भने सफ्टवेयरबाट नै निर्माण गरिएको हो । सिरिले आईओएस १३ मा हिन्दी इङलिश आवाज पनि प्राप्त गरेको छ । 

मेमोजी स्टिकर अझै विस्तृत

आईओएस १३ मा आईफोन मोडलका लागि उपयुक्त मेमोजीहरु उपलब्ध छन् । प्रयोगकर्ताले ३० नयाँ हेयरस्टाइल, १५ नयाँ हेडवेयर तथा अन्य विभिन्न अप्सन प्राप्त गर्न सक्छन् । यसमा ३ ओटा एनिमोजी क्यारेक्टर मुसा, अक्टोपस र गाई पनि उपलब्ध छन् । प्रत्येक मेमोजी र इमोजी क्यारेक्टर क्रिएट गर्न स्टिकर मेसेजमा प्रयोग हुने स्टिकर प्याकको प्रयोग गर्न सकिन्छ ।

स्वास्थ्य एपमा विशेष उपयोगी फिचर

आईओएस १३ मा स्वास्थ्यसम्बन्धी पनि केही विशेष उपयोगी फिचर उपलब्ध छन् । एप्पलको हेल्थ एपले महिलाको पिरियड हुने समय ट्र्याक गर्नेछ । त्यस्तै, यसले तीन पटकका लागि पिरियड कहिले सुरु हुन्छ र अन्त्य हुन्छ भन्ने सम्भाव्यता पनि देखाउनेछ । 
त्यस्तै, एपले अडियोको लेभल पनि देखाउनेछ जसले आवाज आवश्यकताभन्दा बढी छ कि ठिक्क छ भन्ने संकेत गर्नेछ । त्यस्तै, आवश्यक अन्य संकेत पनि यसले प्रदान गर्नेछ । 

सफारीमा विशेष सुधार

आईओएस १३ मा भएको सफारीमा डाउनलोड म्यानेजर छ जसले डाउनलोड भइरहेका फाइलबारे जानकारी दिन्छ । यो विशेष पेजडिजाइनसहित उपलब्ध छ । यसमा फेभरेट, बारम्बार हेरिएको वेबसाइट, तत्काल हेरिएको वेबसाइट आदिको जानकारी हुनेछ । वेब ब्राउजरले पनि फोटो रिसाइज गरी वेबसाइटमा अपलोड गर्न सहयोग पुर्याउनेछ । 

फाइल एपमा अपडेट

आईओएस १३ मा फाइल एपमा पनि विशेष अपडेट गरिएको छ । यसले एक्स्टर्नल यूएसबी ड्राइभ, एसडी कार्ड र हार्ड ड्राइभ पनि सपोर्ट गर्नेछ । यसका लागि सजिलै प्लगइन गरी एक्स्टर्नल डिभाइसबाट डाटा ट्रान्सफर गर्न सकिन्छ । आईओएस १३ मा आईक्लाउड ड्राइभबाट फोल्डर सेयर गर्ने सुविधा पनि उपलब्ध छ । फाइल एपले अब एसएमबी फाइल सर्भरलाई सपोर्ट गर्नेछ । अर्थात्, अब फाइल एपको माध्यमले अफिस अथवा घरको पीसीसँग आईफोनलाई कनेक्ट गर्न सकिन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै