Skip This

आइफोनले ल्यायो नयाँ अपरेटिङ सिस्टम, जसमा छन् यस्ता खास फिचर

खरीबोट

काठमाडौँ । अमेरिकी प्रविधि कम्पनी एप्पलले उल्लेखनीय परिवर्तनसहित एप्पलका लागि नयाँ अपरेटिङ सिस्टम आईओएस१३ केही विशेष फिचरसहित ल्याएको छ । कम्पनीले आईओएस १३ बेटा १ भर्जन गत सोमवार सार्वजनिक गरेको हो । प्रयोगकर्तालाई विशेष अनुभूति दिलाउन आईओएस १३ मा विभिन्न नयाँ तथा खास फिचरसहित धेरै एपलाई अपडेट गरिएको एप्पलको भनाइ छ । आईओएसको पब्लिक बेटा भने आगामी जुलाईमा परीक्षणका रूपमा सार्वजनिक गरिने कम्पनीको भनाइ उद्धृत गर्दै टेकरडारडटकमले एक समाचारमा उल्लेख गरेको छ । 

आईओएस १३ पब्लिक बेटालाई आइफोन सिक्सएसदेखि माथिका मोबाइलले सपोर्ट गर्न सक्छन् । यसमा धेरै प्रकारका नयाँ फिचर छन् । तीमध्ये केही खास फिचरको यहाँ उल्लेख गरिएको छ :

डार्क मोड 

आईओएस १३ मा सिस्टमवाइड डार्कमोड उपलब्ध छ । यो आईओएसको एक विशेष परिवर्तन भएको एप्पलको भनाइ छ । लो लाइटको अवस्थामा डार्क मोड प्रयोग गर्दा आँखालाई निकै राहत मिल्नेछ । डार्क मोड कन्ट्रोल सेन्टरबाट म्यानुअल्ली अनअफ गर्न सकिन्छ भने प्रयोगकर्ताले सेड्युल बनाएर सनसेटमा अन र सनराइजमा अफ गर्न पनि सक्छन् । आईओएस १३ मा केही नयाँ वालपेपर पनि उपलब्ध छन् जुन डार्कमोडका लागि अनुकूल छन् । डार्कमोड सिस्टमअनुसार समायोजन हुने भएकाले यसलाई अधिकांश एपले सपोर्ट गर्ने अपेक्षा कम्पनीको छ ।

पर्फर्मेन्स बुस्ट 

एप्पलले आईओएस १३ मा प्रमुख पर्फमेन्स बुस्ट उपलब्ध गराएको घोषणा गरेको छ । कम्पनीले आईओएस १३ मा एपहरु आईओएस १२ भन्दा दुई गुणा छिटो चल्ने बताएको छ । त्यस्तै, एपस्टोरमा पनि एपहरु ५० प्रतिशत सानो बनाइएका छन् । पर्फर्मेन्स बुस्टकै लागि अपडेटेड एपहरु ६० प्रतिशतसम्म सानो बनाइएको उल्लेख छ । फेस आईडी अनलक पनि पहिलेकोभन्दा ३० प्रतिशत छिटो चल्नेछ । 

नयाँ इडिटिङ टुल र फोटो एपमा नयाँ फिचर

एप्पलले आईओएस १३ मा नयाँ इडिटिङ फिचर ल्याएको छ । यी फिचरले फोटोका साथै भिडियो इडिटमा पनि सहयोग पुर्याउनेछन् । आईओएसले प्रयोगकर्तालाई पहिलोपटक भिडियो इडिटको अवसर प्रदान गरेको हो । नयाँ इडिटिङ टुलमा ब्रिलियन्स, स्याडो, हाइलाइट, कन्ट्रास्ट, ह्वाइट ब्यालेन्स, परिभाषा, हल्ला नियन्त्रण जस्ता फिचर छन् । प्रयोगकर्ताले भिडियो पनि रोटेट गर्न सक्छन् । फोटो एपमा पनि विभिन्न अपडेट उपलब्ध छन् ।   

क्यामरा एपमा पोजिसन, लाइट, क्वालिटी, पोर्ट्रेट मोड आदि प्रयोगकर्ता आफैले मिलाउन सक्छन् । नयाँ आईओएस १३ मा हाइ की मोनो नामक पोर्ट्रेट लाइटिङ इफेक्ट उपलब्ध छ जसले सेतो ब्याकग्राउन्डमा मोनोक्रोमाटिक लुक्सका लागि सहयोग पुर्याउँछ ।

 

नयाँ प्राइभेसी फिचर 

एप्पल सुरु भएदेखि नै प्राइभेसीलाई उसले प्रमुख एजेन्डा बनाएको छ । यस नयाँ सिस्टममा अझै सहज र सुरक्षित अथेन्टिकेसन उपलब्ध गराइएको एप्पलको भनाइ छ । साइन इन विद एप्पल फिचरले प्रयोगकर्तालाई एप, वेबसाइट आदि लगइन गर्न अझै सहज बनाउनेछ । एप्पलको अकाउन्टले ती एप र वेबसाइट सीधै लगइन गर्न सकिन्छ । 

नयाँ आईओएस १३ मा फेस आईडी प्रयोग गरेर प्रयोगकर्ताले साइन गर्न सक्छन् भने कुनै व्यक्तिगत विवरण नखुलाई पनि नयाँ अकाउन्ट खोल्न सकिन्छ । एप्पलले प्रत्येक एपको प्रयोगका लागि छुट्टाछुट्टै व्यक्तिगत ईमेल एड्रेसको प्रयोग गर्न सकिने सुविधा पनि उपलब्ध गराएको छ । 

हराएको डिभाइस र आफ्ना प्रियजनलाई ट्र्याक गर्न नयाँ एप

एप्पलको फाइन्ड माई फ्रेन्ड र फाइन्ड माई आईफोन एपलाई समायोजन गरी फाइन्ड माई नामक एउटै एप बनाएको छ । नयाँ एपले प्रयोगकर्ताको एप्पल डिभाइसका साथै साथी, आफन्त, परिवार अथवा प्रियजनसँग भेट गराउनेछ । फाइन्ड माईले अफलाइन भएका डिभाइसलाई पत्ता लगाउन समेत सहयोग गर्छ । डिभाइस अफलाइन भएको खण्डमा फाइन्ड माईले ब्लूतुथको माध्यमबाट नजिकै रहेको आईओएस डिभाइस पत्ता लगाउन सक्छ ।  

रिमाइन्डर एपमा विशेष संशोधन 

आईओएस १३ नयाँ रिमाइन्डर एपसहित उपलब्ध छ । यसमा टुडे, सेड्युल्ड, फ्ल्याग्ड लगायत अप्सन छन् । नयाँ रिमाइन्डर सेट गरेपछि एपले अटोमेटिक नै समयको सुझाव दिन्छ । यसमा कन्ट्याक्टलाई पनि ट्याग गर्न सकिन्छ । ट्याग गरिएको व्यक्तिसँग वार्तालाप गर्दा एपले संकेत प्रदान गर्छ । 

क्विक पाथ किबोर्ड 

आईओएस १३ मा किबोर्डमा नयाँ स्विपिङ फङसन उपलब्ध छ । हामीले प्रयोग गर्ने थर्डपार्टी किबोर्ड जस्तै स्विफ्ट की, जीबोर्ड आदि जस्तै यसमा विभिन्न फङसन उपलब्ध छ । एप्पलले नयाँ आईओएसका लागि किबोर्डमा पनि केही खास फिचर उपलब्ध गराएको छ । क्विक पाथ नामक नयाँ किबोर्डले प्रयोगकर्तालाई किबोर्डमा स्विप गरी शब्द टाइप गर्न सहज बनाउनेछ । 

थप स्पष्ट डाटा र फिचरसहित म्याप 

म्याप एपलाई पनि पुनर्निर्माण गरिएको छ । नयाँ म्याप एपमा म्यापको बारेमा अझै धेरै जानकारी र तथ्य हुनेछ । एप्पलले लुक अराउन्ड इन द म्याप एप नामक फिचर उपलब्ध गराएको छ । यसले प्रयोगकर्तालाई कुनै स्थानको खोजी गर्दा ३डीको अनुभूति दिलाउनेछ । प्रयोगकर्तालाई आफ्नो निर्धारित समय र स्थान आफ्नो प्रियजनसँग सेयर गर्ने सुविधा पनि म्यापमा उपलब्ध छ । 

सिरिको नयाँ भोइस  

आईओएस १३ का लागि सिरिले नयाँ आवाज प्राप्त गरेको छ । अब सिरिको आवाज कम रोबोटिक र बढी प्राकृतिक लाग्नेछ । विशेष गरी लामो वाक्य उच्चारण गर्दा यसको अनुभूति हुने बताइएको छ । यद्यपि, आवाज भने सफ्टवेयरबाट नै निर्माण गरिएको हो । सिरिले आईओएस १३ मा हिन्दी इङलिश आवाज पनि प्राप्त गरेको छ । 

मेमोजी स्टिकर अझै विस्तृत

आईओएस १३ मा आईफोन मोडलका लागि उपयुक्त मेमोजीहरु उपलब्ध छन् । प्रयोगकर्ताले ३० नयाँ हेयरस्टाइल, १५ नयाँ हेडवेयर तथा अन्य विभिन्न अप्सन प्राप्त गर्न सक्छन् । यसमा ३ ओटा एनिमोजी क्यारेक्टर मुसा, अक्टोपस र गाई पनि उपलब्ध छन् । प्रत्येक मेमोजी र इमोजी क्यारेक्टर क्रिएट गर्न स्टिकर मेसेजमा प्रयोग हुने स्टिकर प्याकको प्रयोग गर्न सकिन्छ ।

स्वास्थ्य एपमा विशेष उपयोगी फिचर

आईओएस १३ मा स्वास्थ्यसम्बन्धी पनि केही विशेष उपयोगी फिचर उपलब्ध छन् । एप्पलको हेल्थ एपले महिलाको पिरियड हुने समय ट्र्याक गर्नेछ । त्यस्तै, यसले तीन पटकका लागि पिरियड कहिले सुरु हुन्छ र अन्त्य हुन्छ भन्ने सम्भाव्यता पनि देखाउनेछ । 
त्यस्तै, एपले अडियोको लेभल पनि देखाउनेछ जसले आवाज आवश्यकताभन्दा बढी छ कि ठिक्क छ भन्ने संकेत गर्नेछ । त्यस्तै, आवश्यक अन्य संकेत पनि यसले प्रदान गर्नेछ । 

सफारीमा विशेष सुधार

आईओएस १३ मा भएको सफारीमा डाउनलोड म्यानेजर छ जसले डाउनलोड भइरहेका फाइलबारे जानकारी दिन्छ । यो विशेष पेजडिजाइनसहित उपलब्ध छ । यसमा फेभरेट, बारम्बार हेरिएको वेबसाइट, तत्काल हेरिएको वेबसाइट आदिको जानकारी हुनेछ । वेब ब्राउजरले पनि फोटो रिसाइज गरी वेबसाइटमा अपलोड गर्न सहयोग पुर्याउनेछ । 

फाइल एपमा अपडेट

आईओएस १३ मा फाइल एपमा पनि विशेष अपडेट गरिएको छ । यसले एक्स्टर्नल यूएसबी ड्राइभ, एसडी कार्ड र हार्ड ड्राइभ पनि सपोर्ट गर्नेछ । यसका लागि सजिलै प्लगइन गरी एक्स्टर्नल डिभाइसबाट डाटा ट्रान्सफर गर्न सकिन्छ । आईओएस १३ मा आईक्लाउड ड्राइभबाट फोल्डर सेयर गर्ने सुविधा पनि उपलब्ध छ । फाइल एपले अब एसएमबी फाइल सर्भरलाई सपोर्ट गर्नेछ । अर्थात्, अब फाइल एपको माध्यमले अफिस अथवा घरको पीसीसँग आईफोनलाई कनेक्ट गर्न सकिन्छ । 

सम्बन्धित समाचार

कुलमान घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’

काठमाडौँ । यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रदान गरिएको छ । विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई विद्युत्भार कटौतीमुक्त

सुन्दर पिचाई बने गुगलको मुख्य कम्पनी अल्फाबेटको पनि प्रमुख कार्यकारी

काठमाडौं । टेक जाइन्ट गुगलले भारतीय मुलका सुन्दर पिचाई आफ्नो मुख्य कम्पनी अल्फाबेटको प्रमुख कार्यकारी अधिकारी (सीइओ) नियुक्त गरेको छ । यस अघि अल्फाबेटको सीइओ सर्गी ब्रिन थिए । सन् २०१५ मा

शरदकालीन उखुखेतीमा ‘ट्रेञ्च’ प्रविधिको प्रयोग

कञ्चनपुर । कञ्चनपुरका किसानले शरदकालीन (असोज–कात्तिक) मा गरिने उखुखेतीमा ‘ट्रेञ्च’ प्रविधिको प्रयोग गरी आम्दानी लिन थालेका छन्। सामान्य विधिको भन्दा ट्रेञ्च प्रविधिबाट गरिएको उखुखेतीमा ३० देखि ४० प्रतिशतसम्म उत्पादकत्वमा वृद्धि हुने

पाँचखालमा कृषकले जैविक प्रविधि सिकेपछि विषादी प्रयोगमा कमी

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले कृषकलाई जैविक विषादी तथा जैविक मल बनाउने प्रविधि सिकाएपछि विषादीको प्रयोगमा कमी आउन थालेको छ।  नगरपालिकाले प्रशिक्षक कृषक उत्पादन गर्ने समेत उद्देश्यले ‘लभ ग्रिन नेपाल’को सहकार्यमा ६००


z