• २०८१ बैशाख १२ बुधबार

१३ लाख डलरमा बिक्यो विश्वकै खतरनाक ल्यापटप 

kharibot

अमेरिका । विश्वकै खतरनाक ल्यापटप १३ लाख डलरमा विक्री भएको छ । यो ल्यापटपको अनलाइनमा लीलाम विक्री भएको हो । सामसुङको यो ल्यापटपमा विश्वका सबैभन्दा खतरनाक भाइरस छन् । सामसुङ एनसी१० ल्यापटपमा भएका ६ मुख्य भाइरसले विश्वभरमा करीब ९५ अर्ब डलरको नोक्सान गरेको छ । ल्यापटपलाई एयरग्याप अथवा इन्टरनेटबाट पूर्णतया अलग राखिएको छ । यो ल्यापटपलाई सुरक्षित राख्न पोर्ट पनि डिसेबल गरिएको छ । यो विन्डोज एक्सपी ल्यापटपलाई कलाकारिताको रुपमा बेचिएको छ । यसलाई द पर्सिस्टेन्स अफ चाओस नाम दिइएको छ । 

ल्यापटपमा वान्ना क्राई जस्ता खतरनाक भाइरस 

इन्टरनेट आर्टिस्ट कुओ ओ टङले अमेरिकी साइबर सुरक्षा कम्पनी डीप इन्स्टिंक्टसँग मिलेर यसलाई बनाएको हो । यो ल्यापटपमा डीप इन्स्टिंक्टले नै खतरनाक भाइरस सप्लाई गरेको हो । यो ल्यापटपमा वान्ना क्राई र्यानसमवेयर जस्तो खतरनाक भाइरस छ । यो भाइरसले सन् २०१७ को मेमा आक्रमण गरेको थियो । यो भाइरसको आक्रमणबाट १५० देशको २००००० ओटाभन्दा बढी कम्प्युटरमा असर पुगेको थियो ।

यो भाइरसले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवालाई नै ठप्प बनाएको थियो । त्यस्तै, फ्रान्समा रेनोको फ्याक्ट्रीको काममा पनि बाधा पुर्याएको थियो । वान्ना क्राई भाइरसले करीब ४ अर्ब डलर नोक्सान गरेको थियो । ल्यापटपमा रहेको अर्को खतरनाक भाइरस ब्ल्याक इनरी हो । यसले युक्रेन र त्यसनजिकका क्षेत्रमा पावर ग्रिडलाई नै बन्द गरिदिएको थियो । 

ल्यापटपमा आई लभ यू भाइरस पनि 

सामसुङको यो ल्यापटपमा तीव्र गतिमा फैलिने माइ डूम नामको भाइरस पनि छ । यो भाइरसको आक्रमण सन् २००४ मा भएको थियो । यो भाइरस आक्रमणको पछाडि रुसी ईमेल स्पेमर्सको हात रहेको बताइएको छ । ल्यापटपमा आई लभ यू भाइरस पनि छ जसले सन् २००० मा ५ लाखभन्दा बढी कम्प्युटर सिस्टमलाई प्रभावित बनाएको थियो । यो भाइरसले उक्त कम्प्युटरसम्म पुग्न ईमेल र फाइल सेयरिङ सर्भिसलाई माध्यम बनाएको थियो । यसबाहेक ल्यापटपमा सोबिग र डार्कटकिला भाइरस पनि छन् । 

अब असर पुर्याउँदैनन् ल्यापटपका भाइरस 

कुओ र साइबर सुरक्षा कम्पनी डी इन्स्टिंक्टका अनुसार यो ल्यापटपमा भएका भाइरसबाट अब कुनै पनि किसिमको खतरा छैन । यसको लागि ल्यापटपलाई एयर ग्याप्समा राखिएको छ । अर्थात्, यसलाई सीधै कुनै पनि इन्टरनेटमा जोडिएको छैन भने अन्य इन्टरनेटसँग जोडिएका कुनै पनि डिभाइससँग यसलाई कनेक्ट गरिएको छैन । त्यस्तै, खरीदकर्तालाई यो ल्यापटप बेच्नुभन्दा अगाडि यसको इन्टरनेट क्यापेबिलिटी पनि डिसेबल गरिने बताइएको छ । अर्थात् अब यो ल्यापटपमा इन्टरनेट चलाउन सकिने छैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै