• २०८१ बैशाख ७ शुक्रबार

मार्स २०२० रोभरसँगै मंगल ग्रहमा तपाईंको पनि नाम पठाउने कि ? 

kharibot

अमेरिका । नासाले सर्वसाधारणलाई आफ्नो नाम कुनै ग्रह अथवा उपग्रहमा पठाउने मौका दिइरहेको छ । यसपटक नासाले मंगल ग्रहमा आफ्नो यान मार्स २०२० रोभर पठाउने तयारी गरिरहेको छ । यदि नासाको मार्स २०२० रोभरसँगै आफ्नो नाम पठाउन चाहने हो भने यसको लागि निकै सहज छ । नासाको आधिकारिक साइटमा गएर आफ्नो नाम, देश, पोस्टल कोड र ईमेल एड्रेस सेप्टेम्बर ३० भन्दा अगाडि सबमिट गर्नुपर्नेछ । मार्स २०२० रोभर सन् २०२० जुलाई मा मंगलका लागि उड्नेछ । 

रोभरको यो मिशनबाट धेरै प्रश्नको उत्तर खोजिने बताइएको छ । जस्तै, के मंगल ग्रहमा जीवन छ त ? अथवा यसमा भविष्यमा पो जीवनको कुनै सम्भावना छ कि ? यो यानमा भएको रोबोटमा केही विशेष उपकरण जडान गरिएको छ जसको सहायताले मंगलमा जीवनको केकति सम्भावना छ भन्ने खोजी गरिनेछ । यसबाहेक मंगल ग्रहको सतहमा खनेर त्यहाँको माटोको नमूना पनि संकलन गरिनेछ । यद्यपि, रोभरले ती नमूनालाई त्यहीँ छोड्नेछ जसलाई पछि पठाइने कुनै यानमार्फत पृथ्वीमा ल्याइउन सकिने बताइएको छ । 

मार्स २०२० रोभरको यो यात्रामा कुनै पनि सर्वसाधारणको नाम हुन सक्छ । यदि ३० सेप्टेम्बरभन्दा अगाडि आफ्नो नाम पठाउने हो भने जेट प्रोपल्सन ल्याबोरेटोरीको नासा इन्जिनियर्स इलेक्ट्रिक बीमको सहायताले एक सिलिकन चिपमा उक्त नाम कुँदेर त्यो चिप रोभरले आफूसँगै मंगल ग्रहको यात्रामा लैजानेछ । नाम निकै सानो आकारमा लेखिने बताइएको छ । प्राप्त नामलाई शिरको कपालको हजारौं भागको एक भाव जति आकारमा लेखिनेछ । यो नाम यति सानो हुनेछ कि एक सिलिकन चिपमा १० लाखको नाम लेख्न सकिने बताइएको छ । 

नासाले पहिले पनि साधारण मानिसको नाम अन्तरिक्षमा पठाउने मौका दिइसकेको छ । सन् २०१८ मा नासाको इन्साइट ल्यान्डरलाई मंगल ग्रहमा पठाउँदा र त्योभन्दा अगाडि ओसिरिस–आरईएक्स स्पेसक्राफ्टलाई बेनु एस्ट्रोइडमा पठाउँदा नासाले सर्वसाधारणको नाम अन्तरिक्षमा पठाएको थियो । नाम सबमिट गरेपछि कुनै यात्रीलाई जस्तै बोर्डिङ पास र फ्रिक्वेन्ट फ्लायर माइल्स पनि प्राप्त हुनेछ । इन्साइटमा आफ्नो नाम पठाउने व्यक्तिले आफ्नो यात्राको लागि ३० करोड माइल्स प्राप्त गरेका थिए । यस मार्स २०२० मा नाम पठाउँदा अझै धेरै प्वाइन्ट मिल्ने बताइएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै