Skip This

मानव मस्तिष्कलाई कसरी बदल्न सकिन्छ ? 

खरीबोट

काठमाडौं । के हामी विभिन्न सूक्ष्म तार र हार्डवेयर मिलेर बनेको कम्प्युटर जस्तै हाड र नसा मिलेर बनेको यन्त्र हौं ? कम्प्युटरको सफ्टवेयर परिवर्तन गरेजस्तै सञ्चालन भइरहेका मस्तिष्कका तन्तुलाई परिवर्तन गरी त्यसलाई पुनः ताजा बनाएर प्रयोग गर्न सक्छौं कि सक्दैनौं होला ? यदि परिवर्तन गर्न सक्दैनौं भने के हाम्रो भाग्यमा जे लेखिएको छ, त्यही पूर्वनिर्धारित जीवन लिएर जन्मेका हौं त ? अथवा हामी मस्तिष्कका तन्तुलाई बदलेर पुनर्गठन गर्दै त्यसलार्ई आफ्नो नियन्त्रणमा लिएर कुनै लक्ष्य निर्धारण गरी चाहेअनुसार लक्ष्य प्राप्त गर्न पो सक्छौं कि ? 

न्युरोलोजिस्ट हना क्रिच्लोको प्रश्न छ कि हाल भइरहेको मस्तिष्कसम्बन्धी अनुसन्धानले हामीलाई हाम्रो संज्ञान, प्रकृति र विकास तथा लक्ष्यबारे के संकेत गर्छ त ? उनले आफ्नो अनुसन्धानबाट मस्तिष्कसम्बन्धी केही विशेष तथ्य फेला पारेकी छन् । 

शरीरसँगै मस्तिष्क बूढो हुँदैन 

मस्तिष्कविज्ञानको प्राथमिक चरणमा मस्तिष्कका तन्तुहरु जन्मभन्दा अगाडि नै निर्मित भइसक्छन् र नष्ट भएको अथवा आघात पुगेको मस्तिष्क पुनः निर्माण हुन सम्भव छैन भन्ने सिद्धान्त स्थापित थियो । सन् १९६० देखि न्यूरोसाइन्सको नाममा मस्तिष्कसम्बन्धी विभिन्न अनुसन्धान भइरहेका छन् । हरेक अनुसन्धानबाट केही नयाँ तथ्य फेला पर्दै गएको छ । नयाँ अध्ययनबाट मस्तिष्क समय र स्थानअनुसार अनुकूल हुन, बढ्न र पुनर्गठन हुन पनि सम्भव देखिएको छ । 

क्रिच्लोले लन्डनका ट्याक्सी ड्राइभरको एक उदाहरण दिएका छन् । लन्डनका ट्याक्सी ड्राइभरमाथि भएको अनुसन्धानबाट मस्तिष्कसम्बन्धी यस्तो तथ्य फेला पर्यो । 

लन्डनमा यदि ट्याक्सीका ग्राहकले आफ्नो गन्तव्यमा छोटो बाटोबाट जाने आदेश दिएमा ट्याक्सी चालकले लन्डनका सबै बाटोलाई राम्ररी सम्झेको हुनुपर्छ । यी सबै बाटो थाहा पाउन दुईदेखि चार वर्ष लाग्ने ट्याक्सी ड्राइभरहरुको भनाइ छ । 

जब ट्याक्सी चालकले लन्डनका यी गञ्जागोल बाटोबारे जानकारी राख्ने निकै अप्ठ्यारो प्रयास निरन्तर जारी राख्छन्, तब उनीहरुको मस्तिष्कको विशेष भागमा स्मृतिका लागि महत्त्वपूर्ण परिवर्तन आयो । यसलाई हिप्पोक्याम्पस भनिन्छ ।

मस्तिष्कसम्बन्धी नयाँ विधिको प्रयोग गरेर अनुसन्धान गर्दा मस्तिष्कको कुनै भाग निकै बढेको देखिएको क्रिच्लोको भनाइ छ । यो अनुसन्धानले हामीसँग भएको मस्तिष्क सधैं एकैनास नरहने र यसमा हामीले परिवर्तन ल्याउन सक्ने देखाएको छ । यो अनुसन्धानले एक प्रश्न पनि उजागर गरेको छ कि के हामीले हाम्रो मांसपेशीलाई बदलेझैं मस्तिष्कलाई पनि आफूले चाहेजसरी तीव्र बनाएर त्यसको सहायताले आफ्नो लक्ष्य प्राप्त गर्न सक्छौं त ? 

मस्तिष्कको उपचार 

विभिन्न प्रयोगले यो प्रमाणित गरेका छन् कि मस्तिष्कमा धेरै क्षमता हुन्छ । यसको बनावट र आकारमा पनि परिवर्तन आउन सक्छ । त्यस्तै, ६०, ७० अथवा ८० को उमेरमा पनि यसमा परिवर्तन आउन सक्ने बताइएको छ । मस्तिष्कका तन्तु बढ्ने महत्त्वपूर्ण प्रक्रियालाई न्युरोजेनेसिस भनिन्छ । यसमा विकास हुने, आघात परे पुनः स्वस्थ हुन सक्ने ठूलो क्षमता रहेको द प्लास्टिक ब्रेनका लेखक शेरोन बेग्लेको भनाइ छ । उनले मस्तिष्कलाई कुनै पनि आकारमा परिवर्तन गर्न सकिने भन्दै मस्तिष्कलाई प्लास्टिकको उपमा दिएका छन् । 

संज्ञानात्मक व्यावहारिक चिकित्साले हाम्रो समस्यालाई व्यवस्थापन गर्दै हामीले सोच्ने र व्यवहार गर्ने तरिकालाई बदल्न सक्छ । जब हामीले हाम्रो जीवनका अनुुभूतिबारे फरक तरिकाले सोच्ने प्रक्रिया सिक्छौं, यस्ता मनोवैज्ञानिक प्रक्रियाले पक्कै पनि मस्तिष्कको बनावट र अवयवमा असर पुर्याउँछन् । ‘न्युरोप्लास्टिसिटीको शक्ति भन्नाले हाम्रो मस्तिष्कमा रहेको उपचार हुन सक्ने विशेष क्षमता नै हो,’ बेग्लेले भनेका छन् ।  

धेरै मानिस पक्कै पनि सोच्न असक्षम हुन्छन् र उनीहरु डिप्रेसनमा पर्ने सम्भावना पनि बढी हुन्छ । मानिसले चाहेजसरी मस्तिष्क परिवर्तन हुन सक्छ भने मोटोपनालगायत रोगमा जसरी व्यक्तिको प्रकृति र पोषण दोषी हुन्छ, के डिप्रेसन, एन्जाइटीजस्ता मस्तिष्कसम्बन्धी रोगका लागि पनि व्यक्ति स्वयं नै दोषी हो त ? यस्तो होइन भन्छन् शेरोन । उनका अनुसार मस्तिष्कमा जेजस्तो आघात परेको हुन्छ, त्यसलाई ठीक गर्न सकिने भए पनि यसको प्रक्रिया निकै लामो छ । 

लैंगिक भूमिकामा प्लास्टिसिटीको के प्रभाव रहन्छ ? 

वंशाणुगत गुणले नै व्यक्तित्वलाई छुट्याउँछ भन्ने मान्यता छ । उदाहरणका लागि हाम्रो व्यवहार हाम्रो व्यक्तिगत क्रोमोजोममा आधारित हुन्छ भन्ने एउटा स्थापित मान्यता छ । 

जेन्डर्ड ब्रेनकी लेखिका मस्तिष्कविशेषज्ञ जिना रिप्पोन महिला र पुरुषको मस्तिष्क फरक हुन्छ भन्ने अवधारणालाई अस्वीकार गर्छिन् । मस्तिष्क विश्वकै सबैभन्दा सक्रिय पदार्थमध्ये एक हो जसको कारण नै हामीले यो क्षणक्षणमा परिवर्तन भइरहने संसारलाई अनुभूति गर्न सकेका छौं । मस्तिष्कमा संसारको प्रभाव हामीले सोचेभन्दा धेरै पर्दछ । यसले वंशाणुगत गुणभन्दा पनि विश्वको प्रभावले मस्तिष्कमा लैंगिक धारणा आउने पुष्टि गर्छ । 

प्लास्टिसिटीको अवधारणाअनुसार मस्तिष्कमा विश्वको प्रभाव मानिसको जन्मपछि रहने भएकाले हामीले लिंगसम्बन्धी पुराना अवधारणा, पूर्वाग्रह, बाहिरी प्रभाव आदिबाट आफूलाई पृथक् राख्न सक्छौं । त्यसैले जन्मजात नै महिलालाई बुझ्न कठिन हुन्छ अनि पुरुष भावुक हुँदैनन् भन्ने धारणा विचारणीय रहेको रिप्पोनको भनाइ छ । 

प्लास्टिसिटीको अवधारणाले मानव मस्तिष्कलाई परिवर्तन गर्न सकिने र यसलाई लक्ष्य प्राप्तिका लागि माध्यम बनाउन सकिने आशा देखिएको छ । हाल मानिस वयस्क हुँदै गएपछि उसको मस्तिष्क पनि वयस्क हुने र मस्तिष्कको विकास रोकिने जुन मान्यता थियो, त्यसलाई यस अवधारणाले खण्डित गर्दछ । रिप्पोन भन्छिन्, ‘बालबालिकाको मस्तिष्क खाली पानाजस्तै हो । यो पूर्वनिर्धारित लक्ष्य र वंशाणुगत गुणबाट टाढा हुन्छ ।’ 

मस्तिष्क कसरी विकसित हुन सक्छ ? 

हाम्रो मस्तिष्क हरेक दिन परिवर्तन भइरहेको हुन्छ । हरेक समय हामी केही नयाँ सिकिरहेका हुन्छौं, नयाँ विचार गरिरहेका हुन्छौं । मस्तिष्कमा नयाँ सम्बन्ध, नयाँ आकार बनिरहेको हुन्छ । 

इन्नेटका लेखक तथा न्युरोजेनेटिसिस्ट केभिन मिचेलको विश्वास छ कि मस्तिष्कमा हुने परिवर्तन निकै सूक्ष्म हुन्छ । एक सूक्ष्म तहमा हुने परिवर्तनले नै हाम्रो व्यक्तित्व परिवर्तन गर्दछ । हामीले मस्तिष्कमा धेरै श्रव्य र दृश्य राखेका हुन्छौं, तर ती सबै समायोजन हुँदैनन् भन्छन् मिचेल । ‘यदि हामीले प्रयोग गरिरहेका मस्तिष्कका पाटाहरु हरेक समय हामीले देखेका सुनेका स्मृतिसँगै ठूलो हुँदै जाने हो भने हाम्रो शिर एक दिन पड्किनुपर्ने थियो, तर यस्तो हुँदैन,’ उनले भने । 

हाम्रो जिनबाट पनि हाम्रो मस्तिष्कले प्रभाव ग्रहण गर्ने केभिनको मान्यता छ । सायद हामीमध्ये केही थोरैमात्र आफूले चाहेअनुसार आफ्नो मस्तिष्कलाई बढाएर हरेक कुरा स्मृतिमा राख्न सक्ने जिनसहित जन्मेका हुन सक्छौं । 

प्रकृति अथवा पोषण केले हाम्रो लक्ष्य निर्धारण गर्छ ? 

केभिनले भने मस्तिष्क निर्माणसम्बन्धी मध्य मार्गलाई स्वीकार गरेका छन् । उनका अनुसार मस्तिष्क निर्माणका लागि वंशाणु र वातावरण, व्यक्तिको प्रकृति र पोषण, प्रयास र भाग्य सबै नै कारण हुन् । यी सबै एकआपसमा अन्तर्सम्बन्धित भएर नै मस्तिष्कको विकास हुन्छ । र यो प्रक्रिया आजीवन रहन्छ । 

हाम्रा व्यक्तिगत छनोटले नै हाम्रो आधुनिक जीवनको रचना गरेको हुन्छ । हामीले जे बानी बनाएका हुन्छौं, त्यसको अनुभवले नै हाम्रा हरेक क्रियाकलापलाई नियन्त्रण गरिरहेको  हुन्छ । त्यसैले वंशाणुगत गुण र हाम्रो अनुभूति दुवैको नै हाम्रो मस्तिष्कमा प्रभाव रहेको हुन्छ । दुवै मिलेर नै हाम्रो मस्तिष्कलाई आकार दिन्छन् । हाम्रो जीवनभरको क्रियाकलापबाट दुवैले नै हाम्रो व्यक्तित्वलाई पुष्ट गरिरहेका हुन्छन् । 

मानिसको स्वतन्त्र इच्छा, प्रयास, पोषण अथवा भाग्य (वंशाणुगत गुण, प्रकृति, वातावरण) दुवैले छुट्टाछुट्टै रुपमा नभई दुवैको संयुक्त प्रभावबाट नै हाम्रो मस्तिष्क विकास हुन्छ । विकासको क्रम जीवनभर चलिरहन्छ भने यसले नै हाम्रो लक्ष्य निर्धारण गरी त्यसतर्फ उन्मुख गराइरहने केभिनको धारणा छ । 

बीबीसीबाट भावानुवाद  
 

सम्बन्धित समाचार

‘विज्ञान प्रविधि अन्तर्राष्ट्रिय युवा सम्मेलन’  कात्तिकमा हुने

काठमाडौँ । सरकारले देशका युवाहरुमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनको प्रयोगसम्बन्धी चाहना जगाउने उद्देश्यले ‘विज्ञान प्रविधि र नवप्रवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय युवा सम्मेलन’ को आयोजना गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय,

नयाँ चन्द्र अभियानमा नासा

अमेरिका । मानिसले चन्द्रमामा पाइला राखेको ५०औं वर्षको उपलक्ष्यमा हाल विश्वले उत्सव मनाइरहेको छ । कतिपयले ५० वर्षअघि मानिस चन्द्रमामा पुगेको कुरा गलत भएको भनी विभिन्न तर्क प्रस्तुत गरेकाले यो

आर्कटिकमा बरफ पग्लिने क्रम बढेसँगै मानव जीवनमा थपिँदै नयाँ संकट 

जलवायु परिवर्तनका कारण पृथ्वी तातिरहेको छ । यस्तोमा ध्रुवीय क्षेत्रमा जमेको बरफ पग्लिरहेको छ । समुद्रको सतह बढिरहेको छ । तर, खतरा यतिमा मात्र सीमित छैन । बरफ पग्लेसँगै अन्य

मंगलमा फेला पर्यो मिथेनको सबैभन्दा ठूलो भण्डार 

काठमाडौँ । मंगल ग्रहमा खोजी अभियानमा रहेको नासाको क्युरियोसिटी मार्स रोभरले यो रातो ग्रहमा मिथेन ग्यासको अहिलेसम्मकै ठूलो भण्डार पत्ता लगाएको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यस्तो जानकारी दिएको छ । नासाले


z