• २०८१ बैशाख ८ शनिबार

कक्षा १२ को परीक्षामा चार लाख २८ हजार परीक्षार्थी सामेल

kharibot

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट देशभर एकैसाथ शुरु भएको छ ।

आज बिहान ७ बजेबाट देशभरका एक हजार १०७ परीक्षा केन्द्रहरुमा शान्तिपूर्ण रुपमा परीक्षा शुरु भएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । कक्षा १२ को परीक्षामा चार लाख २८ हजार ५२ परीक्षार्थी सहभागी भएको उनले जानकारी दिए ।

आगामी २६ गते सम्पन्न हुने परीक्षातर्फ साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहेको छ । परीक्षामा सबभन्दा कम मनाङ जिल्लाबाट ५९ र सबभन्दा धेरै काठमाडौँ जिल्लाबाट ६२ हजार ५८८ परीक्षार्थीको सहभागिता रहेको छ ।

परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका लागि परीक्षामा विशेष व्यवस्था गरिएको छ । कारागार वा बाल सुधार गृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रक शर्माले जानकारी दिए ।

परीक्षामा प्रश्नपत्रको सुरक्षाका लागि बोर्डले सिसी क्यामरा जडान गरेको छ । बोर्डले केन्द्र नजिकै सिसी टिभीसहितको सुरक्षा घेराभित्र रहेको कक्षबाट प्रश्नपत्र लैजाँदा केन्द्राध्यक्षलाई मोबाइलसमेत बोक्न निषेध गरेको छ । बोर्डको मुख्यालयमा रहेको नियन्त्रण कक्षबाट देशैभरको परीक्षाका विषयमा जानकारी दिने व्यवस्था गरिएको छ ।

परीक्षामा जिल्ला परीक्षा समन्वय समिति, केन्द्राध्यक्ष, बोर्डका अधिकारी, मन्त्रालयका अधिकारी, प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, शिक्षा तथा मानव स्रोत केन्द्र, प्रदेश शिक्षा निर्देशनालयबाहेक अन्यलाई मोबाइल फोन लैजान निषेध गरिएको छ ।

बोर्डले परीक्षामा प्रश्नपत्रमा समस्या आए वा प्रश्नपत्र गलत भए तत्काल केन्द्राध्यक्षसँग सूचना पुग्ने गरी एकैचोटी (बल्क) एसएमएसको व्यवस्था गरेको छ भने कुनै त्रुटी देखिए बोर्डको मुख्यालयमा रहेको विज्ञ समूहले त्रुटी सच्याएर बोर्डलाई जानकारी गराउँदै यसबारे सबै केन्द्रमा जानकारी गराउने व्यवस्था गरेको छ ।

परीक्षामा अनियमितता गरेको पाइए जिल्ला परीक्षा समन्वय समितिले तत्काल केन्द्राध्यक्ष परिवर्तन गर्न सक्ने अधिकार दिएको छ भने परीक्षामा अमर्यादित काम गर्ने व्यक्तिलाई छ महीना कैद र रु एक लाख जरिवाना गर्न सक्ने व्यवस्था गरेको परीक्षा नियन्त्रक शर्माले जानकारी दिए ।

बोर्डले यो वर्षदेखि विद्यार्थीको नाम, थर, जन्ममिति, रजिस्टे«शन, विषय र परीक्षामा रुजु गर्ने व्यवस्था मिलाएको छ । बोर्डले आफ्नो वेबसाइटमा परीक्षा मेमोमा गएर पुनः रजिस्ट्रेशन नं इन्ट्री गरी हेर्न सक्ने व्यवस्था गरेको छ ।

परीक्षामा एक हजार १०७ केन्द्राध्यक्ष, एक हजार ४८९ सहायक केन्द्राध्यक्ष, १५ हजार १०७ निरीक्षक, एक हजार ४८९ कर्मचारी, दुई हजार २१४ कार्यालय सहयोगी र १३ हजार १८४ सुरक्षाकर्मीसहित ३४ हजार ४९० जनशक्ति परिचालन गरिएको छ । कक्षा १२ को परीक्षा २६ गते सम्पन्न हुनेछ भने वैशाख २९ गतेबाट कक्षा ११ को परीक्षा शुरु हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै