• २०८३ जेठ २६ मंगलबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१२ बस्ने स्याङ्जा घर भएका ६३ वर्षीय हुम बहादुर कुँवर, सोही महानगरपालिका-३ बस्ने सोलुखुम्बु घर भएका ३१ वर्षीय लोकेन्द्र बस्नेत, ललितपुर महालक्ष्मी नगरपालिका-३ बस्ने सुनसरी घर भएका ४९ वर्षीय तोरण कुमार कार्की, ललितपुर महानगरपालिका-१३ बस्ने रामेछाप घर भएका ३७ वर्षीय रबिन्द्र खत्री, काठमाडौं टोखा बस्ने गोरखा घर भएका ४२ वर्षीय निरज गुरूङ र भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने पर्सा घर भएका ४७ वर्षीया रिन्कु कुमारी रौनियार रहेका छन् ।

पक्राउ मध्ये हुम बहादुरले युके पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ८८ लाख ७० हजार रूपैयाँ, लोकेन्द्रले हङकङ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ३० हजार रूपैयाँ, तोरण कुमारले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ, रबिन्द्रले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ, निरजले आइसल्यान्ड पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ११ लाख ५६ हजार रूपैयाँ र रिन्कु कुमारीले सर्बिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हुम बहादुरलाई काठमाडौं महानगरपालिका-१२ बाट, लोकेन्द्रलाई काठमाडौं महानगरपालिका-७ बाट र तोरण कुमारलाई काठमाडौं महानगरपालिका-४ बाट सोमबार, रबिन्द्रलाई ललितपुर पुल्चोकबाट र निरजलाई काठमाडौं महानगरपालिका-२६ बाट शुक्रबार तथा रिन्कु कुमारीलाई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै