सुर्खेत । सीमा विवादका कारण कर्णाली करिडोर अनिश्चितकालीन रूपमा बन्द गरिएको छ । जेठ ५ गते भएको झडपको विषयलाई लिएर बाजुराका युवाहरूले कर्णाली करिडोरअन्तर्गत पिलुचौर–कवाडी सडक खण्ड पुनः अवरुद्ध गरेका हुन् ।
सडक बन्द भएपछि हुम्ला आवतजावत गर्ने सवारीसाधन रोकिएका छन् भने यात्रु तथा ढुवानी प्रभावित बनेको छ । विवाद समाधानका लागि स्थानीय तह, प्रशासन र सरोकारवाला पक्षबीच छलफल भइरहेको जनाइएको छ।
जेठ ८ गते हिमाली युवा क्लब तथा हिमाली गाउँपालिकाका राजनितिक दल र जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायबीचको बैठकमा २४ घण्टाका लागि सम्झौता गरिएको थियो तर हाल सम्म उक्त मागहरुमा कुनै पनि कार्यान्वयन नभएको र अझ थप हिमाली गाउँपालिका वडा नम्बर ३ का स्थानीयहरुको घरहरुमा सोही लुटपाट र तोडफोड गर्ने कार्य गरिरहेको बताउदै दोषीलाई काराही र माग पुरा नभएसम्म कोरिडोर बन्द हुने घोषणा गरिएको छ ।
मागहरु:
१- हिमाली गाउँपालिका वडा नं. ०३ को लाम्पाटामा भएको घटनाको स्थलगत अनुगमन गरि सर्जिमन मुचल्का बनाउने ।
२- हुम्ला जिल्ला खार्पूनाथ गा.पा. वडा नं. २ र ३, सर्केगाड गा.पा. वडा नं. २ र उक्त घटनामा संलग्न भएका जो कोहि दोषिहरुलाई कानुनी दायरामा ल्याउनुका साथै स्थानिय व्यक्ति र घुम्न गएका पर्यटकहरुको लुटिएका व्यक्तिगत र सार्वजनिक सम्पतिहरुको क्षेतिपूर्ति पिडितहरुलाई उपलब्ध गराउने ।
३- हिमाली गाउँपालिका वडा नं. ०३ लाम्पाटामा भएको घटनामा निर्मम कुटपिट गरिएका स्थानियहरुको उपचारका लागि पिडक पक्षले जिम्मा लिइ पिडित पक्षलाई उपचारको पूर्ण क्षेतिपूर्ति उपलब्ध गराउने ।
४- हिमाली गाउँपालिका वडा नं. ३ लाम्पाटा च्याचौरका बिस्थापित परिवारलाई स्थापति गरि घरको सम्पूर्ण लुटिएको धनसम्पति असुल गराई सुरक्षाको प्रत्याभुति दिलाउने र ।
५- हिमाली गाउँपालिका वडा नं. ३ च्याचौरमा निर्माणाधिन प्रहरी चौकी भवन निर्माणका नष्ट भएका सामानहरुको क्षेतिपूर्ति असुल गरि भवन निर्माण कार्यका लगि आवश्यक प्रकृया तुरुन्तै अगाडी बढाउने ।









