काठमाडौँ । भारतको बिहारको विधान सभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको गठबन्धन एनडीए दुई तिहाई बहुमततर्फ अगाडी बढेको छ ।
पछिल्लो मतगणनाको अपडेट अनुसार एनडीएले २४३ सिट मध्ये १३७ सिटमा जित हासिल गरिसकेको छ । एनडीएले बहुमतका लागि आवश्यक १२२ सिटको आँकडा पार गरिसकेको छ भने अझै ६४ सिटमा अगाडी रहेको छ । पछिल्लो अपडेट अनुसार एनडीएले २४३ मध्ये २०१ सिटमा जित हासिल गर्नसक्ने देखिएको छ ।
त्यस्तै राष्ट्रिय जनता दलसहितको महागठबन्धनले अहिलेसम्म केवल २० सिटमा जित हासिल गरेको छ भने १४ सिटमा अगाडी रहेको छ । त्यस्तै अन्य एक स्थानमा अगाडी छन् भने प्रशान्त किशोर नेतृत्वको जनसुराज पार्टी कुनै सिट जित्न सकेन । त्यस्तै असाउद्धीन ओवैसीको दल एआईएमआइएमले ५ सिटमा जित हासिल गरेको छ ।
दुई चरणमा नोभेम्बर ६ र ११ मा भएको निर्वाचनको मत गणना आज बिहान ८ बजेदेखि शुरु भएको हो । निर्वाचनपछि सार्बजनिक गरिएका एक्जिट पोलले भारतीय जनता पार्टी नेतृत्वको एनडीएलाई बहुमत आउने संकेत गरेपनि चुनावको नतिजा एनडीएको पक्षमा त्यो भन्दा राम्रो आएको छ । १३ एजेन्सीहरूको सर्वेक्षणले एनडीएलाई १५४ सिटको जितको भविष्यवाणी गरेका थिए ।
गत चुनावमा एनडीएले १२५, महागठबन्धनले ११० र अन्यले ८ सिट जितेका थिए । यसको अर्थ एनडीएले यस पटक लगभग २९ सिट बढी जित्ने अनुमान गरिएको छ भने महागठबन्धनले २८ सिट गुमाउने अनुमान गरिएको छ ।
राज्यमा २४३ सिटका लागि दुई चरणमा चुनाव भएको थियो । पहिलो चरणमा १२१ सिटका लागि ६५ प्रतिशत मतदाता मतदान भएको थियो भने दोस्रो चरणमा रेकर्ड ६७ प्रतिशत मत देखिएको थियो ।









