काठमाडौँ । भारतको बिहार चुनावको मतगणनामा भारतीय जनता पार्टी नेतृत्वको गठबन्धन एनडीए दुई तिहाई बहुमततर्फ अगाडी बढेको छ ।
पछिल्लो अपडेट अनुसार एनडीएले २४३ सिट मध्ये १९९ सिटमा अग्रता हासिल गरेको छ । त्यस्तै राष्ट्रिय जनता दलसहितको महागठबन्धनले ३८ सिटमा अग्रता हासिल गरेको छ । त्यस्तै अन्य ६ स्थानमा अगाडी छन् भने प्रशान्त किशोर नेतृत्वको जनसुराज पार्टी कुनै सिटमा अग्रता बनाउन सकेको छैन ।
दुई चरणमा नोभेम्बर ६ र ११ मा भएको निर्वाचनको मत गणना आज बिहान ८ बजेदेखि शुरु भएको हो ।
निर्वाचनपछि सार्बजनिक गरिएका एक्जिट पोलले भारतीय जनता पार्टी नेतृत्वको एनडीएलाई बहुमत आउने संकेत दिएका थिए । १३ एजेन्सीहरूको सर्वेक्षणले एनडीएलाई १५४ सिटको जितको भविष्यवाणी गरेका थिए । त्यस्तै महागठबन्धनले औसतमा ८४ सिट जित्ने अनुमान गरिएको छ भने अन्यले ५ सिट जित्न सक्ने अनुमान गरिएको थियो ।
पहिलो पटक चुनाव लडिरहेको प्रशान्त किशोरको जन सुरज पार्टीले यस चुनावमा कुनै प्रभाव पार्न नसकेको एक्जिट पोलले देखाएको छ । यसले ३-५ सिट जित्ने अनुमान गरिएको छ ।
गत चुनावमा एनडीएले १२५, महागठबन्धनले ११० र अन्यले ८ सिट जितेका थिए । यसको अर्थ एनडीएले यस पटक लगभग २९ सिट बढी जित्ने अनुमान गरिएको छ भने महागठबन्धनले २८ सिट गुमाउने अनुमान गरिएको छ ।
राज्यमा २४३ सिटका लागि दुई चरणमा चुनाव भएको थियो । पहिलो चरणमा १२१ सिटका लागि ६५ प्रतिशत मतदाता मतदान भएको थियो भने दोस्रो चरणमा रेकर्ड ६७ प्रतिशत मत देखिएको थियो ।









