• २०८२ कार्तिक २८ शुक्रबार

मधेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्तामा एमालेको अवरोध

kharibot

जनकपुरधाम । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डललाई पदमुक्त गर्न मागसहित ७ दलले अविश्वासको प्रस्ताव लगेका छन् । प्रदेश प्रमुख पदमुक्तपछि मुख्यमन्त्री र सभामुखविरुद्ध खनिएको नेपाली कांग्रेससहितको सात दलले सभामुख रामचन्द्र मण्डललाई पदमुक्त गर्न माग गरेका हुन् ।

जनकपुरमा बिहीबार दिउँसो बसेको सात दलको बैठकले प्रदेश सरकार गठनमा तटस्थ भूमिका नखेलेको र लचकता अपनाएर प्रदेशसभा सञ्चालन गर्नु पर्नेमा महाअभियोग आए सामना गर्न तयार छु भन्ने अभिव्यक्ति दिएर प्रदेशसभाको गरिमा नै बिगार्न खोजेको उनीहरूको आरोप छ ।

प्रदेशसभाका ७४ सदस्यहरूले सभामुखलाई अविश्वासको प्रस्ताव पेश गर्न लागेका हुन् । मधेशमा १०४ जना सांसद छन् । एक जना निलम्बन र सभामुखसहित एमालेका २५ जना छन् । सभामुखमाथि अविश्वास प्रस्तावका लागि कांग्रेस, जनमत, जसपा नेपाल, लोसपा नेपाल, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहित दलहरूले दुई तिहाइ पुग्छ ।

अविश्वासको प्रस्ताव दर्ताका लागि सभामुखको सचिवालय पुगेको सात दलको टोलीलाई नेकपा एमालेका नेता कार्यकर्ताले अवरोध गरेका छन् । दर्ता गर्न पुगेको टोलीमाथि एमालेका कार्यकर्ताहरुको अवरोधले सभामुखको सचिवालयमा तनावको स्थिति बनेको छ ।

शनिबार मधेश प्रदेश सरकारका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले विश्वासको मत लिने समयमा नेकपा माओवादी केन्द्रका दुई सांसद रहबर अन्सारी र माला कर्णलाई बोल्ने मौका दिएर सभामुखले मुख्यमन्त्रीले विश्वासको मत लिने वातावरण बिगारेको र त्यसपछि विश्वासको मत परीक्षण गर्ने वातावरण नै नबनाएको सात दलको आरोप छ ।
माओवादीका दुई सांसदको आक्रोशपछि विश्वासको मत पाउने अवस्था नदेखेर मुख्यमन्त्री सोनलले राजीनामा घोषणा गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै