काठमाडौँ । तान्जानियाली राष्ट्रपति सामिया सुलुहु हसनले फेरि एक पटक राष्ट्रपति चुनाव जितेकी छिन् । तान्जानियामा केही दिनदेखि चलिरहेको अशान्तिको बीचमा यो नतिजा आएको हो ।
तान्जानियाली निर्वाचन आयोगका अनुसार सामियाले ९७.६६ प्रतिशत मत ल्याएर विजयी भएको घोषणा गरेकी हुन् । निर्वाचन आयुक्तले चुनावमा देशका ३७.६ मिलियन दर्ता मतदातामध्ये ८७ प्रतिशत अर्थात् ३ करोड २० लाखले मतदान गरेको बताएका छन् । यीमध्ये सामियाले ९७.६६ प्रतिशत अर्थात् लगभग ३ करोड १९ लाख मत प्राप्त गरेकी छिन् ।
चुनावको नतिजा पछि, अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले चुनावको पारदर्शिता र देशभर फैलिएको हिंसाको बारेमा चिन्ता व्यक्त गरेका छन् । हालै, चुनावको पारदर्शितालाई लिएर देशका धेरै भागहरूमा हिंसा भड्किएको छ । सयौं मानिसहरू मारिएको र सयौं घाइते भएको बताइएको छ ।
राष्ट्रव्यापी इन्टरनेट बन्दका कारण हताहतको वास्तविक संख्या पुष्टि गर्न पनि गाह्रो छ । सरकारका विपक्षीहरूले सरकार हिंसाको मात्रा कम गर्न खोजिरहेको बताएका छन् । विपक्षी नेताहरुले प्रदर्शनमा भएको सरकारी दमनमा पाँच सय भन्दा बढीको मृत्यु भएको दाबी गरेका छन् । स्थिति नियन्त्रण गर्न प्रशासनले कर्फ्यू लगाएको छ।









