• २०८२ कार्तिक २८ शुक्रबार

सरसफाई अभियानलाई निरन्तरता दिदै कपिलवस्तुको ग्यालेक्सी क्लबका युवा

kharibot

कपिलवस्तु । कपिलवस्तु जिल्लामा सक्रिय ग्यालेक्सी युथ क्लबले आफ्नो अभियानलाई निरन्तरता दिएको छ । 

यसैक्रममा क्लबका युवाहरुले बाणगंगाको चार नम्बरमा सरसफाई गरेका छन् । क्लबकी सचिव प्रतिक्षा गैरेले आजको सरसफाई अभियानमा ५० भन्दा बढी स्थानीय युवाहरु सहभागी भएका थिए । सरसफाईबाट २५  बोराभन्दा बढी फोहोर निस्केको उनले जानकारी दिएकी छन् । 

आजको सरसफाई अभियानमा पिपरा इलाका प्रहरी कार्यालयबाट प्रहरीहरुले समेत सहजीकरण गरिदिएका थिए । हालै भएको जेनजी आन्दोलनमा पनि सक्रिय रहेका युवाहरुले आगामी दिनमा आन्दोलनका क्रममा आगजनी भएका सरकारी सम्पत्ति सरसफाई र पुनर्निमाणमा सहयोग गर्ने योजना बनाएको गैरेले बताएकी छन् ।

पछिल्लो एक बर्षदेखि सामाजिक रूपान्तरणको अभियानमा प्रेरणाको स्रोत बन्दै गएको छ । क्लबले विशेषगरी युवाहरूलाई एकीकृत गर्दै सफा कपिलवस्तु अभियान, क्यान्सर पीडितका लागि सहयोग संकलन, अनाथ बालबालिकाको सहारा र जनचेतना कार्यक्रमजस्ता प्रभावकारी कार्यहरू गर्दै आएको छ ।

हरेक शनिबार सञ्चालन हुने जनचेतना कार्यक्रममार्फत क्लबले शिक्षा, स्वास्थ्य, वातावरण र युवाको भूमिकासम्बन्धी विषयमा संवाद र छलफलको माध्यमबाट चेतना फैलाउने काम गरिरहेको छ ।

क्लबले सञ्चाल गरेको सामाजिक कार्यक्रमहरूमध्ये 'सफा कपिलवस्तु अभियान' अहिले निकै चर्चामा रहेको छ । यस अभियानमार्फत क्लबले कपिलवस्तुको विभिन्न क्षेत्रहरूमा नियमित सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसले न केवल शहरलाई सफा राख्न मद्दत गरेको छ, तर स्थानीयवासीमा पनि सरसफाइप्रतिको चेतना विकास गरेको छ ।

ग्यालेक्सी युथ क्लब हाल कपिलवस्तुमा सामाजिक उत्तरदायित्व बोक्ने युवाहरूको साझा मञ्च बनेको छ । क्लबको कार्यशैली र समर्पणले अन्य युवाहरूलाई पनि समाजसेवातर्फ प्रेरित गरिरहेको छ । यस क्लबको नेतृत्व २१ बर्षिय युवा अभियन्ता अमृत गिरीले गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै