• २०८२ कार्तिक २६ बुधबार

जलवायु परिवर्तनको विरुद्ध माओवादी केन्द्रले स्पष्ट नेतृत्व लिनुपर्छ- प्रचण्ड

kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनका असरहरूमाथि गम्भीर चिन्ता व्यक्त गर्दै उक्त संकटको समाधान श्रमजीवी जनताको एकतामार्फत मात्रै सम्भव हुने बताएका छन् ।

माओवादी केन्द्रको वन, वातावरण तथा जलवायु विभागले आयोजना गरेको ‘वन, वातावरण तथा जलवायु र व्यवस्थापन अवधारणापत्रमाथिको अन्तक्रिया’ कार्यक्रममा प्रचण्डले सम्बोधन गर्दै जलवायु परिवर्तनको असरलाई पूँजीवादी विकास मोडलको असफलताको परिणामको रूपमा चित्रित गरे । प्रचण्डले भने- 'आजको विश्वमा जलवायु परिवर्तनका कारण मानव जातिको अस्तित्व नै संकटमा परेको छ। यसको समाधान यदि सहि ढंगले गर्न सकिएन भने यो संकट झन गहिरो हुँदै जानेछ ।'

उनले जलवायु परिवर्तनको विरुद्ध माओवादी केन्द्रले स्पष्ट नेतृत्व लिनुपर्ने आवश्यकता समेत औँल्याएका छन् । प्रचण्डले आफूले माओवादी केन्द्रको तर्फबाट सरकारको नेतृत्वमा रहँदा विभिन्न अन्तर्राष्ट्रिय फोरमहरूमा जलवायु न्यायको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै भने- 'हामीले सबै गरिब राष्ट्रहरूको प्रतिनिधिका हैसियतले नेपालको नेतृत्वमा विश्वका सबै गरिब राष्ट्रका जनताको आशा र विश्वास कायम होस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय मञ्चहरूमा यो मुद्दा गम्भिर ढंग्गले उठाउँदै आएका छौं ।'

उनले धनी राष्ट्रहरूको नाफामुखी अवधारणकै कारण कार्बन उत्सर्जन भैरहेको भएतापनि त्यसको प्रतिकूल असर गरिब राष्ट्रहरूका जनताले बेहोर्नु परेको र कार्बन क्षतिपूर्ति स्वरूप दिने भनिएको रकमसमेत अहिलेसम्म नदिइएको प्रति विश्वका तेस्रो मुलुको नेतृत्व लिएर आवाज उठाउनुपर्ने आवश्यकता औल्याए ।
प्रचण्डले सामुदायिक वन व्यवस्थापनको अवधारणा नेपालमा सहि उदेश्यले ल्याइएको भएपनि त्यसमा पछिल्लो समय विकृति देखिएको बताए ।

कार्यक्रममा तयार पारिएको अवधारणापत्रप्रति प्रशंसा व्यक्त गर्दै प्रचण्डले यो केवल पार्टीको दस्तावेज मात्र नभई अन्तर्राष्ट्रिय हस्तक्षेप र संवादको महत्वपूर्ण दस्तावेज बन्न सक्ने विश्वास व्यक्त गरे । उनले भने- 'माओवादी केन्द्रको वन तथा जलवायु विभागमा अनुभव सम्पन्न साथीहरूको सक्रियताले तयार गरिएको यो दस्तावेजले अब अन्तर्राष्ट्रिय तहमा पनि प्रभाव पार्नेछ ।'

कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव तथा विभागका इन्चार्ज शक्ति बहादुर बस्नेत, पूर्वमन्त्रीहरू, सबै प्रदेशका नेताहरू तथा विज्ञहरूको समेत उपस्थिति थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै