काठमाडौँ । प्रहरीले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरूको हिंसात्मक आन्दोलनका क्रममा पक्राउ परेकाहरूमाथि अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको छ ।
प्रहरीले बिहीबार १०८ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने रायसहित सरकारी वकिलसमक्ष प्रतिवेदन दर्ता गरिएको हो । प्रहरीले यसका लागि ९० जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
सरकारी वकिल कार्यालयले प्रहरीको अनुसन्धान र विश्लेषण गरेर आइतबारसम्म अभियोगपत्र दायर गर्ने तयारी गरेको छ । १०८ विरुद्ध पाँच कसुरमा मुद्दा प्रस्ताव प्रहरीको अनुसन्धानमा गरिएको छ ।
प्रहरीले आपराधिक उपद्रव, संगठित अपराध, राज्यविरुद्धको कसुर, कर्तव्य ज्यानमुद्दा, ज्यान मार्ने उद्योग लगायतमा मुद्दा प्रस्ताव गरेको छ ।
प्रहरीले तिनकुने घटनामा आपराधिक उपद्रव र संगठित अपराधमा ६१ जना र राज्यविरुद्धको कसुरमा २९ जनामाथि अनुसन्धान गरेको थियो । त्यसमध्ये आपराधिक उपद्रव, संगठित अपराधमा अनुसन्धानमा रहेका ३४ र राज्यविरुद्धको कसुरमा रहेका ३ जना हाजिरी जमानीमा छुटेका छन् ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री एवं सांसद धवलशमशेर राणालाई हाजिरी जमानीमा राखिएको छ । यस्तै, प्रदर्शनमा कमान्डरका रूपमा रहेका दुर्गा प्रसाईं हाल हिरासतमा रहेका छन् ।









