• २०८२ जेठ ५ सोमबार

आजको राशिफल: २०८२ वैशाख २६ गते शुक्रबार

kharibot

आजको राशिफल बि.सं २०८२ वैशाख २६ गते शुक्रबार ई.सं २०२५ मे ९ नेपाल सम्बत ११४५ बछलाथ्व द्वादशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल द्वादशी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, वज्र योग, कौलव करण । आज नेपालमा सूर्याेदय बिहान ५ बजेर २१ मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ४१ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर १८ मिनेट देखि ६ बजेर ५९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज प्रदोष व्रत र कानून दिवस रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

अर्काका कुरा सुनेर पार्टनरको जीवनचर्या र व्यवहारमा शङ्का नगर्नु होला, बरु लोङ टुरको कुनै कार्यक्रममा सँगै जाने वातावरण बनाउनु ठीक हुन्छ । सम्मान र साख प्राप्त गर्न सकिने सुन्दर दिन छ । नोकरी र व्यवसायिक जीवनमा सुधार आउने तथा प्रतिष्ठाप्राप्ति वा पदोन्नतिको सम्भावना देखिन्छ । स्वास्थ्यक्षेत्र, काठपात, ढुंगागिट्टी, मिलमेसिनरी र ढुवानीसम्बद्ध कारोबारीले आयस्रोत बढाउन सक्नुहुन्छ, तर कार्यक्षेत्रमा विभिन्न चुनौती र सङ्घर्ष झेल्दै काम गर्नुपर्ने हुन्छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

पारिवारिक सुख पाउनुका साथै बृद्धबृद्धाको आशीष मिल्ने दिन हो । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ अनि दाम्पत्य जीवन पनि सुखमय रहनेछ । बौद्धिकतामा निखार आउने दिन हो, अतः विषयवस्तुप्रति गम्भीर बन्न प्रयास गर्नुहोला, पढाइमा लगाव बढाउनुपर्छ, सोचेजस्तै रिजल्ट पाउन सकिने छ । अनुयायी, जुनियर स्टाफ र सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बनाउन सकिने तथा नयाँ काम सुरु गर्ने समय हो । उद्यमी र लगनशील व्यक्तिले अझ धेरै फाइदा बटुल्नेछन् । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

परिस्थिति अनुकूल देखिए पनि भौतिक सुविधा बढाउन थप व्ययभार थपिने दिन हो, त्यस्तै मनोरञ्जनात्मक क्रियाकलापमा अलमलिंदा गर्नैपर्ने काममा बिलम्ब हुनेछ । लवलाइफ र रोमान्टिक जीवनमा केही असहजता वा बाधा आइलाग्ने समय हो, तथापि घरपरिवार र सँगीसाथीको साथ पाउनाले मन प्रसन्न रहने छ । यो समय घमण्ड र जिद्दीपना बढ्ने समय हो । याद गर्नुहोला, अवसर आए पनि हतारको कामले लतरपतर हुनसक्छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

साझेदार र सहकर्मीको सुझाव लाभदायी ठहरिने छ । कामधन्दा छोडेर सामाजिक क्रियाकलापमा सक्रिय भइने छ, तथापि चुस्तदुरुस्त व्यवस्थापनका कारण बेफाइदा हुनेछैन । पारिवारिक वातावरण सुखमय रहनेछ, सँगीसाथीसित भेटघाट गर्दै नयाँ योजना बनाउने समय हो, कहीं कतै भ्रमणमा निस्कने योगसमेत बनेको छ । नजानेको वा नसुल्झिएको विषयवस्तुमा सहपाठीको सहयोग लिनुहोला, किनकि जब तपाईंको उद्देश्य सुदृढ हुन्छ, कडा परिश्रम विकल्प होइन आवश्यकता बन्ने गर्दछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने दिन हो, सेयरमा रुचि छ भने अनुभवीको राय लिएर लगानी गर्न सक्नुहुन्छ, साथै स्थिर प्रयोजनको धनमा समेत लगानी बढाउने दिन हो । आन्तरिक क्षमताको प्रयोग गरी वा मुख र हाउभाउकै माध्यमबाट कुनै विशेष अवसर फुत्काउन सक्नुहुन्छ, अतिरिक्त आम्दानीका लागि मिहिनेत गर्ने दिन हो । सुख एवं समृद्धिमा बृद्धि हुनेछ, घुमघाममा निस्कने वा मस्ती गर्ने योजना बन्नसक्छ, तर खर्च हुनसक्ने भएकाले गोजी दह्रो बनाउनु ठीक हुनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

मिहिनेतका बलमा सम्मान र प्रतिष्ठा कमाउन सकिने राम्रो समय छ, प्रतिस्पर्द्धीहरू पछि पर्नेछन्, लगनशील बन्नसके दायित्व र जिम्मेवारीसमेत बढ्ने छ । घुमघाममा जाने वा मस्ती गर्ने योजना बनाउन सक्नुहुन्छ । तर जिद र हठलाई त्याग्नु होला, नत्र ससाना कुरामा विवाद हुनसक्छ । सरकारी वा प्रशासनिक समस्या हल हुनेछन्, व्यक्तिगत प्रतिष्ठा र धनधान्यमा पनि बृद्धि हुनेछ, तर अहङ्कार र आडम्बरबाट जोगिनु बेस हुन्छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
राखनधरनप्रति सचेत हुने र तालसाँचो बलियो बनाउनुपर्ने दिन हो, अझ घरमा नयाँ र नौलो मानिसको उपस्थिति छ भने सतर्कता अपनाउनु होला । महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला, बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ । कामधाममा भन्दा पनि कल्पना र भावनामा केन्द्रित भइने छ । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी बोक्नुपर्ने हुन्छ, बढी खर्च हुने परिस्थिति छ, त्यसैले आर्थिक कारोबारमा सतर्कता अपनाउनु पर्छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

मानसिक सन्तुष्टिको समय हो, तथापि आज कुनैकुनै कुरामा भावनामा वहन सक्नुहुन्छ । पार्टनरलाई कुनै उपहार दिएमा सम्बन्धमा अझ प्रगाढता छाउनेछ । लक्ष्य र उद्देश्यको मूल्याङ्कन र परिमार्जन गर्ने समय हो, नयाँ काम सुरु गर्ने हो भने पहिले योजना बनाउनुहोस्, अनिमात्र प्रयास गर्नुहोला । घरजग्गा व्यवसायीले कुनै लाभदायक सम्झौता गर्नसक्छन्, तर सहकार्यमा कुनै काम गर्दै हुनुहुन्छ भने अर्काको भरमा मात्र ढुक्क पर्नु ठीक हुँदैन । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–

अद्भूत क्षमताको उपयोग गरी ठोस उपलब्धि लिन सकिने राम्रै समय छ, तर पनि आर्थिक पक्ष र घरायसी वातावरणमा केही उतारचढाव देखा पर्नसक्छ । लेखन÷प्रकाशनको काम, परामर्श सेवा, लेखा सेवा, कन्सल्टेन्सी, वकालत, शेयर मार्केट, कम्प्यूटरसम्बद्ध काम वा वाणीप्रधान कामबाट फाइदा लिने दिन हो । दाम्पत्यसम्बन्ध र पारिवारिक जीवन सुखमय रहनेछ, अभिभावकको सहानुभूति मिल्नेछ । कामकाजी महिलाले आफ्नो कार्यक्षेत्रमा समेत राम्रो प्रगति गर्नसक्ने समय हो । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

सपनालाई साकार तुल्याइने छ, लक्ष्य पहिल्याउन सजिलो हुनेछ तर लक्ष्य पूरा गर्न अलि धेरै मिहिनेत गर्नुपर्छ अनि मात्र सफल भइने छ । सफलता चाहनेले समस्या पहिल्याउनमा होइन, समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ, भविष्य सुध्रनुका साथै ठोस आम्दानीसमेत हासिल हुनसक्छ । तपाईंले केवल प्रयास गर्ने हो, भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ । आम्दानीको मार्गमा बढोत्तरी हुनाले जीवनमा नयाँ आयाम थपिने दिन हो । विदेशी परियोजनामा काम गरेमा सुसुप्त चाहनालाई जीवन्त तुल्याउन सकिने छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

हरेक क्रियाकलापमा सफल भइने छ, तर मुड घरिघरि अशान्त बन्नसक्छ । याद गर्नुहोला, अनुशासन र संयमता आजको सफलताको सूत्र हो । कसैको चित्त दुखाएर फाइदा लिने कोशिस गर्नुहुँदैन, दुराशा र महत्त्वाकाङ्क्षाले केवल निराशामात्र बढ्दछ । हतारमा लिएको निर्णय गलत हुनसक्छ, त्यसैले धैर्य र संयमताका साथमा काम गर्ने दिन हो । लक्ष्यप्रति ध्यानकेन्द्रित नहुने समय छ, चोटपटक वा दुर्घटनाबाट बच्न सावधानी अपनाउनु ठीक हुन्छ, अनि आज कार्यक्षेत्रको बोझ घरमा लिएर जानु हुँदैन । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

क्रूरता र कडापन देखिने छ, परिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयम हुनुहोला, त्यस्तै घरमा सम्पर्क गरी आमासँग कुराकानी गरेको जाती हुन्छ । भौतिक उपकरण वा सुखसुविधाको वस्तु खरिद गर्ने समय हो, नयाँ लगानी गर्नु छ भने जीवनसाथीको नाममा सुरु गर्नुहोस्, फाइदा हुनेछ । पारिवारिक सुखमा कमी देखिंदैन, तथापि आजको कुनै समय वैवाहिक सम्बन्धका सुमधुर पलहरूको स्मृतिमा बित्ने तथा हृदय भावुक बन्नसक्ने दिन हो ।

(ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै