काठमाडौँ । 'आफ्नै बाटो, आफ्नै माटो, नेपालमा बनेको' नारासहित नेपाली टायर उद्योगमा वाई आर टायरले आफ्नो पहिचान बनाउदै लागेको छ ।
चार्टर्ड इन्जिनियर पढेर रोल्स रोयल्समा इन्जिनियरको रुपमा काम गरेका युग्म मल्लले नेपाल फर्केर टायर उद्योगमा आफ्नो अनुभव र लगानी गर्दै अगाडी बढिरहेका छन् । मल्लकै नेतृत्वमा २०२१ मा वाई आर टायरको स्थापना गरेका थिए । उनी भन्छन्- 'गोरखकाली टायरको लोकप्रियता, कसैले तुरुन्त कपि गरेर शुरु गर्न पनि नसक्ने र प्राविधिक रुपमा पनि चुनौतीपूर्ण रहेको बुझेर टायर उद्योगमा आएका हौँ ।'
२०२१ को मार्चमा पहिलो उत्पादन गरेको भएपनि करिब दुई बर्षको ट्रायलपछि २०२४ देखि व्यावसायिक रुपमा उत्पादन शुरु गरेको मल्ल बताउछन् ।
आफुलाई धेरैले नेपालमा उद्योग नखोल्न सुझाव दिएको सम्झिदै आफ्नै देशमा केहि गर्नुपर्छ भन्ने सोचाईका साथ आफु नेपाल फर्किएको बताए । उनले उद्योग खोल्नेक्रममा नेपालमा बाहिर सुनेको र भनिने भन्दा सहज रहेको मल्लको अनुभव रहेको छ । मल्ल नेपालको प्रशासनिक झन्झट रहेको आफुले पनि सुनेको तर उद्योग खोल्ने क्रममा नेपालमा सरकारी कार्यालयहरु र कर्मचारी सहयोगी नै पाएको बताउछन् ।
चितवनमा उद्योग खोलेर ५० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको वाई आर टायरमा काम गर्ने सम्पूर्ण जनशक्ति नेपाली रहेको छ । वाई आर टायरमा यसअघि गोरखकाली टायरमा काम गरेका प्राविधिक जनशक्ति अहिले आफुहरुको काम गरिरहेको मल्लले जानकारी दिए । शुरुमा केहि भारतीय प्राविधिक ल्याएर करिब दुई बर्ष नेपाली कामदारलाई प्रशिक्षण दिएर अहिले पूर्ण रुपमा नेपाली कामदारले आफ्नो उद्योग संचालन गरिरहेको उनले बताए ।
चार प्रकारका टायरबाट उत्पादन शुरु गरेको वाई आर टायरले अहिले २३ प्रकारका टायर उत्पादन गरिरहेको छ । मोटरसाइकल, थ्री ह्विलर, लाइट कमर्सियल भेइकल र ट्रयाक्टरको अगाडीको टायरहरु उत्पादन गरिरहेको मल्लले बताए । मल्लले नेपालमा चल्ने ९० प्रतिशत बाइकका टायर वाई आर टायरले उत्पादन गरिरहेको बताए ।
अहिले भारतका टायरहरुसँग मुख्य रुपमा प्रतिस्पर्धा रहेको बताउदै गुणस्तरमा भारतीय टायर भन्दा राम्रो रहेको र मुल्य पनि कम रहेको मल्लको दाबि छ । प्रिमियम टायरको मुल्य तुलनात्मक रुपमा आधा सस्तो मुल्यमा बजारमा उपलब्ध गराइरहेको उनले बताए ।
अहिले वाई आर टायर नेपालको बागमती प्रदेश, मधेश र कोशी प्रदेशमा राम्रो उपस्थिति रहेको छ । तराईको बजारमा राम्रो उपस्थिति रहेको छ भने अब अर्को चरणको उत्पादनपछि देशभर उपलब्ध गराउने मल्लले जानकारी दिए ।
टायर बनाउन मुख्यरुपमा नेचुरल रबर मुख्य कच्चा पदार्थको रुपमा प्रयोग हुने गर्दछ । अहिले सम्पूर्ण कच्चा पदार्थ झापाबाट ल्याइरहेको मल्लले बताए । आफुहरुले स्थानीय उत्पादनलाई प्रयोग गर्ने नीति बनाएको बताउदै अहिले झापाबाट सम्पूर्ण रबर उत्पादन किनिरहेको उनले बताए । टायर बनाउन रबर बाहेक अन्य ४५ केमिकलको प्रयोग हुने र ति केमिकल भारत, चीन, भियतनाम जस्ता देशबाट आउने उनले जानकारी दिए ।
वाई आर टायरले आगामी दिनमा उद्योगको क्षमता बढाएर आक्रामक रुपमा बजारमा जाने रणनीति बनाएको छ । आधिकारिक तथ्यांक नभए पनि नेपालमा हाल ७ हजार करोड भन्दा बढीको टायर उद्योग रहेको बताइन्छ । हरेक बर्ष करिब ७ प्रतिशतको टायरको बजार बढिरहेको देखिन्छ । यसमा वाई टायरले आफुहरुले विस्तारै बजारमा आफ्नो उपस्थितिलाई बढाउदै लैजाने बताए ।
सरकारले उद्योगलाई फाइनान्सिङमा सहयोग गर्नुपर्ने मल्लको जोड छ । मल्लले नेपालमा उद्योग संचालनको छोट समयमा उद्योगलाई हेर्ने सरकारको समग्र नीति भने सकारात्मक नरहेको पाएको बताए । सरकारले नीति निर्माणबाट विभिन्न तरिकाले उद्योगलाई सहयोग गर्नुपर्ने उनको धारणा छ । नेपालमा उद्योगलाई भन्दा 'ट्रेडिङ फ्रेण्डली' नीति रहेकोले यसलाई 'उद्योग फ्रेण्डली' बनाउनुपर्ने उनको जोड छ ।
त्यस्तै उद्योगका लागि खासगरी गुणस्तरीय विद्युतको ग्यारेन्टी गर्नुपर्ने र सरकारले अझ सहुलियत दिएर नेपाली उद्योग र उत्पादनलाई प्रेरित गर्नुपर्नेमा जोड दिए । नेपालमा उद्योग र उत्पादनलाई प्रेरित गर्ने कुनै योजना सरकारले दिन नसकेको अनुभव आफुले गरेको उनको भनाई छ ।
(वाई आर टायर प्रालिका प्रबन्ध निर्देशक युग्म मल्लसँग खरीबोट डटकमका लागि सम्पादक हुमनाथ पौडेलले गरेको कुराकानीका आधारित)