• २०८२ जेठ ५ सोमबार

सरकार र शिक्षक सहमति नजिक, के के विषयमा जुट्यो समझदारी ?

kharibot

काठमाडौँ । सरकार र नेपाल शिक्षक महासंघबीचको वार्ता सहमति नजिक पुगेको छ । गएराती सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता सहमति नजिक पुगेको हो ।

सरकारले गर्नुपर्ने आवश्यक निर्णय आज गरेर यो सहमतिलाई आजै अन्तिम रुप दिएर सहमति गर्ने तयारी भएको छ ।

यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज सत्ता पक्षका दलहरुको बैठक समेत बोलाएका छन् । यो बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । शिक्षकसँगको सहमति पछि यसको कार्यान्वयन गर्न सरकारलाई थप करिब ८ अर्ब भार पर्ने शिक्षा मन्त्रालय स्रोतले खरीबोटलाई जानकारी दिएको छ ।

साथै सरकार र शिक्षकहरुबीच पुर्व शिक्षामन्त्री विद्या भट्टराईले तयार गरेको सात बुँदे प्रस्ताव वरिपरीनै सहमति हुन लागेको छ ।

जसमा प्रमुख रुपमा नेपाल सरकारको मर्यादाक्रमको सूचीमा शिक्षकलाई समावेश गर्ने, राहत दरबन्दी तथा साबिक उच्च मावि दरबन्दीमा कार्यरत र शिक्षा ऐनको आठौं संशोधनको दफा ११ (घ) (९) बमोजिम विशेष सुविधा पाउन योग्य भई छुट भएका र हाल कार्यरत शिक्षकसमेतको बिरामी बिदा सञ्चित हुने र सोबापतको रकम सेवाबाट अवकाशका बखत एकमुष्ट रूपमा प्रदान गर्ने विषयमा मोटामोटी सहमति भएको छ।

त्यस्तै शिक्षक तथा कर्मचारीको स्वास्थ्योपचार सम्बन्धमा निजामती अस्पतालमा सहुलियतसहितको व्यवस्था गर्ने, आर्थिक वर्ष २०८२/८३ देखि स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय श्रेणीका लागि क्रमशः खरिदार, नायब सुब्बा र शाखा अधिकृतले पाउनेसरह ग्रेड संख्या र रकम समायोजन गर्ने विषयमा पनि सहमति भएको छ ।

त्यस्तै राहत शिक्षकका लागि अन्य शिक्षक सरह निर्णय हुँदाका मितिमा कायम रहेको स्थायी ठेगानाका आधारमा स्थानीय भत्ताका रूपमा दुर्गम भत्ताको व्यवस्था गर्ने, प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीका लागि न्यूनतम मासिक तलबमान कायम गर्ने, सामुदायिक विद्यालयमा कार्यरत सबै गैरअस्थायी शिक्षक तथा कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने, सामाजिक सुरक्षा कोषको व्यवस्थाका लागि उचित प्याकेज तयार गरी कार्यान्वयन गर्ने सहमति भएको दाबि गरिएको छ । त्यसैगरी आन्दोलनका क्रममा घाइते शिक्षक र कर्मचारीको उपचार खर्च राज्यले दिनुपर्ने र शिक्षकको आवधिक बढुवाको व्यवस्था गरिनुपर्ने मागमा पनि सहमति भएको छ ।

सहमतिअनुसार बालकक्षाका शिक्षकको न्यूनतम मासिक तलब १७ हजार ३ सय कायम गर्ने सहमति भएको छ । 

वार्तामा सरकारका तर्फबाट शिक्षामन्त्री रघुजी पन्त, शिक्षा सचिव दीपक काफ्ले, वार्ता संयोजक कृष्णप्रसाद काप्रीले सहभागिता जनाएका थिए भने शिक्षक महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, महासचिव तुला थापा, सहअध्यक्ष नानुमैयाँ पराजुली र अर्थ उपमहासचिव मदनराज जोशी सहभागी रहेका थिए । त्यस्तै यस वार्तामा केहि समयका लागि अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी रहेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै