काठमाडौं । जिल्ला अदालत, काठमाडौंले राप्रपा नेता रविन्द्र मिश्र मिश्र र राजावादी आन्दोलनका जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
अदालतले मिश्र, प्रसाईंसहित २४ जनालाई थप ७ दिन अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।
प्रहरीको माग बमोजिम सरकारी वकिलहरूले भने २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागेका थिए । पछिल्लो पटक १० वैशाखमा उनीहरूविरुद्ध तीन दिनको म्याद थप भएको थियो । त्यसबेला पनि उनीहरुलाई २० दिन हिरासतमा राख्न सरकारी पक्षले माग गरेको थियो । तर, अदालतले मिश्रको बयान सकिएको र प्रसाईंको पनि जारी रहेको विषयलाई उल्लेख गर्दै थप प्रमाण नभए तीन दिनभित्र तारेख वा हाजिर जमानतमा छाड्न आदेश दिएको थियो ।
प्रहरीले भने अनुसन्धान गर्नुपर्ने थप विषयहरु अझै बाँकी रहेको भन्दै म्याद थप गर्नुपर्ने प्रस्ताव गरेको थियो । यसअघि अदालतले मिश्र र प्रसाईंको स्वास्थ्य संवेदनशीलताप्रति ख्याल गर्दै त्यस्तो आदेश गरेको थियो । अदालतमा मिश्र र प्रसाईंले स्वास्थ्य कारण देखाउँदै आफूहरुलाई हाजिर जमानतमा छाड्नुपर्ने मागसहित निवेदन समेत दिएका थिए ।
चैत्र १५ गते तीनकुनेको राजावादी प्रदर्शनका जनकमाण्डर भनिएका प्रसाईंविरुद्ध कर्तव्य ज्यानसहित ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठित अपराध र राजद्रोहको समेत मुद्दा लगाइएको छ । मिश्रलाई भने राजद्रोह र संगठित अपराधको मुद्दा चलगाइएको छ । मिश्र १५ वैशाखमै पक्राउ परेका थिए भने प्रसाईंलाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको थियो ।
मिश्रसँगै पक्राउ परेका सांसद् धवलशमशेर राणा प्रहरीले स्वास्थ्यलाई कारण देखाउँदै एक साताअघि छोडिसकेको छ ।









