काठमाडौँ । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले शुक्रबार संयुक्त राष्ट्र संघीय उच्च मानव अधिकार आयोग र राष्ट्रिय मानव अधिकार आयोगलाई तीनकुने घटनामा सरकार पक्षबाट भएको मानव अधिकारको गम्भीर उल्लंघनमा निष्पक्ष न्यायिक छानविन माग गर्दै निवदेन दिएको छ ।
निवेदनमा गत चैत १५ को शान्तिपूर्ण जनप्रदर्शनमा सरकारको दमन, ज्यादती, असमानुपातिक बल प्रयोगबाट भएको मानव अधिकारको उल्लंघन, अभिव्यक्ति, प्रेस तथा वाक स्वतन्त्रता, शान्तिपूर्ण सभा सम्मलेनका अधिकार उल्लंघन भएको विषयमा राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकार संघसंस्थाको निगरानी, हस्तक्षेप आह्वान गरिएको छ ।
झुटा मुद्दामा हिरासतमा रहेका आस्थाका बन्दीहरुको रिहाइ, गैरकानुनी थुनामा रहेका नागरिकहरु सम्बन्धी जानकारी, शान्तिपूर्ण राजनीतिक सभामा सरकारबाट भएका सैन्यकरणमा रोक, मानव अधिकार उल्लंघनमा संलग्न राजनीतिक नेतृत्व, सरकारी अधिकारी र सुरक्षाकर्मीहरुलाई जिम्मेवार करार गर्न संयुक्त जनआन्दोलन समितिले ध्यानाकर्षण गरेको छ ।









