काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केपी शर्मा ओली नेतृत्वको सरकारले डेलिभरी दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
काठमाडौंमा आयोजित पार्टीनिकट बौद्धिक पेसाकर्मीको कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकारले गति लिन नसकेको र नेतृत्वमा उत्साह र गति नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनले भने- ‘अहिले बनेको सरकार छ, यो सरकारको ठाउँमा अर्को बने पनि यसरी नै बन्ने हो किनभने कसैको बहुमत छैन। यहीँभित्र नै हामीले काम गर्नुपर्छ।’ थापाले भने, ‘तर डेलिभरी गर्नुपर्यो भन्ने सन्दर्भमा हामी लागिरहेका छौं। हामी आफ्नो सम्पूर्ण कुरा लगाएर परिणाम दिन लागेका छौं तर त्यसअनुसार भइरहेको छैन।’
असन्तुष्टि व्यक्त गरिरहदा महामन्त्री थापाले सरकार र गठबन्धन बदल्ने पक्षमा भने आफूहरू नरहेको धारणा राखेका थिए ।
उनले भने- 'ओली नेतृत्वको अहिलेको सरकारमा मलाई केही भूमिका लिनुपर्छ भन्दै गर्दा मैले म सरकारमा बसेर भूमिका त लिन्न तर यो सरकार सफल बनाउने र परिणाम दिने सन्दर्भमा काम गर्न तयार छु भनेको थिएँ । सरकार सफल बनाउन र परिणाममुखी बनाउनका लागि जोखिम उठाउन, घाउ खान र गाली खान पनि तयार छु भनेको हुँ किनभने काम गर्नुपर्छ, जिम्मा लिनुपर्छ भनेर । काम गर्ने हो भने पहिले इकोनोमिक फ्रन्टको काम गरौं भनेको हो, सुरूको चरणमा जोतिएर काम गरेको पनि हो, एकदम उत्साहका साथमा धेरै कुरा बदल्न लागेको हो तर विस्तारै के कुरा लाग्न थालेको छ भने देशलाई कंकर्डको गति चाहिएको छ। आज एउटा, भोलि एउटा, पर्सी एउटा काम गर्दै माहोल बनाउनुपर्ने छ। यहाँ राम्रो भएको छ, त्यहाँ राम्रो भएको छ भन्ने खालको बनाउनुपर्नेमा सरकार ट्याक्टरको स्पिडमा छ।’
महामन्त्री थापाले विभिन्न कानुन खारेज गर्दै कानुन बनाउन अध्यादेश पनि ल्याएको प्रसंग बारे बोल्दै अध्यादेश ल्याउने बेला संसदबाट विधेयकबाट पनि ल्याउन सकिन्थ्यो किन अध्यादेशको बाटो रोजियो भन्दा सयौं कानुन खारेज गरी कानुन बनाउन समयको सुविधा नभएर ल्याएको बताए ।
उनले जनतामा देखिएको निराशा चिर्न कांग्रेसका नेतृत्व लाग्नुपर्ने बताउदै नागरिकले नेतृत्वसँग शुद्धता र योग्यता दुवै खोजेको र योग्यता र शुद्धता भएको नेतृत्वले अहिलेको समस्या समाधान गर्न सक्ने दाबि गरे ।
उनले आफुहरु फोहोर सफा गर्न पोखरीमा गएको बताउदै अहिले पोखरीमा भएकाले फोहोर नै देखिएको भएपनि आफुहरु नमिसिने स्पष्ट गरे ।