काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेपाल शिक्षक महासंघको अगुवाइमा काठमाडौंमा भइरहेको शिक्षकहरूको आन्दोलनप्रति चासो व्यक्त गरेका छन् ।
विगत दुई सातादेखि लगातार काठमाडौंको माइतीघर–नयाँबानेश्वर क्षेत्रमा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शनरत शिक्षकहरूका समस्या समाधानका लागि महामन्त्रीद्वयले आन्दोलनरत शिक्षक अगुवाहरूसँग सोमबार साँझ छलफल गरेका हुन् ।
महामन्त्री थापाको सचिवालयका अनुसार शिक्षकहरूको मागका विषयमा पहलकदमी लिने गरी छलफल भएको छ । छलफलका क्रममा महामन्त्रीद्वयले शिक्षकका मागप्रति नेपाली कांग्रेस सकारात्मक रहेको भन्दै समस्या समाधानका लागि पहल गर्ने बताए ।
शिक्षकहरुले कक्षा १२ को परीक्षा सञ्चालनमा समेत सहभागी नहुने निर्णय गरेर आफ्नो आन्दोलन जारी राखेका छन् ।
वैशाख ११ देखि सुरु हुने परीक्षामा शिक्षक, कर्मचारी कोही पनि सहभागी नहुने निर्णय गरिएको महासंघले जानकारी गराएको छ ।